आज सुगौली सन्धिमा नेपालले हस्ताक्षर गरेको २०१ बर्षः ग्रेटर नेपालको विरोध कार्यक्रम

संयोजक नेपाल भन्छन–‘सुगौली सन्धी जलाउछौं’

काठमाडौं,फागुन २१ । सुगौली सन्धिमा नेपालले हस्ताक्षर गरेको आज २०१ बर्ष पुरा भएको र सन्धिका कारण नेपालीहरु लुटिनुपरेको भन्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले विरोधको कार्यक्रम गर्न लागेको जनाएको छ ।

हरपल नेपालसँगको कुराकानीमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक फणिन्द्र नेपालले २०१ बर्ष अगाडि गरिएको सुगौली सन्धिको कारण नेपाल र नेपालीको भविष्य खोसिएको र नेपालको अपमान भएकाले त्यसको विरोधमा आज राजधानीमा देशभक्त नेपालीहरुले विरोध गर्न लागेको बताए ।

फाईल तस्बिर

संयोजक नेपालले भने–‘आज सुगौली सन्धिमा नेपालले हस्ताक्षर गरेको २०१ बर्ष पुगेको छ, हामी नेपालीले पीडा र अपमान सहेको पनि दुई शताब्दी भएको छ । हाम्रा बीर पुर्खाले रगत बगाएर आर्जेको भूभाग इन्डिायाको कसरी हुन्छ ? हामीले त्यही सुगौली सन्धिबाट गुमेको नेपालको भूभाग फिर्ता मागेका हौ, कुनै देशको विरोध होइन ।’

उनले नेपाली भूमिको माया गर्ने हरेक नेपालीको मनमा ग्रेटर नेपाल बसेको दाबी गर्दै भने–‘विरोध गर्न सडकमा कती देखिन्छन त्यो मुख्य कुरा होइन, आफ्नो देशलाई माया गर्ने हरेक नेपालीहरुले ग्रेटर नेपालको यो अभियानलाई समर्थन गरेका छन । किनकी हामीले नेपालको भूमिको खोजी गरेका छौ, कसैलाई सत्तामा पुर्याउनका लागि राजनीति गरेका होइनौ । हरेक नेपालीहरुको मनमा भएको राष्ट्रियता एकदिन सडक र चोक चोकबाट प्रष्फुटन हुने छ, त्यो समय आउने निश्चत छ ।’

संयोजक नेपालका अनुसार आज ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले रत्नपार्क आगाडिबाट दिउसँ एक बजे जम्मा भएर विरोध र्याली सहित लैनचौर स्थित इन्डियन राजदूतावास अगाडि पुगेर सुगौली सन्धि जलाउने कार्यक्रम रहेको बताएका छन ।

लामो समयदेखि ग्रेटर नेपालको अभियान चलाउदै आएका संयोजक नेपालले आफु सक्रिय राजनीतिमा आउन लागेको यसअघि नै खुलासा गरेका थिए । उनले ग्रेटर नेपालको खोजी गर्ने मुख्य उद्देश्य सहित पार्टी गठन गर्ने तयारी भै रहेको समेत बताएका छन ।