बाँकेमा एक वर्षमा ४ सय कृषि उद्योग दर्ता

नेपालगञ्ज,फागुन २१। बाँकेमा कृषि तथा वन सम्बन्धि उद्योग दर्ता गराउनेको संख्या दोब्बरले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७२–०७३ मा मात्र बाँकेमा ४ सय ८ वटा कृषि तथा वन सम्बन्धि उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय बाँकेले जनाएको छ ।

साना किसानले समेत उद्योग दर्ता गरेर ब्यवसाय सञ्चालन गर्न थालेपछि उद्योग दर्ता गर्नेको संख्यामा बृद्धि भएको सो कार्यालयको भनाई छ । जिल्लाका साना एवम् मझौला कृषकले कृषि उद्योग दर्ता गर्ने क्रम बढेकाले उद्योग दर्ताको संख्या दोब्बरले बृद्धि भएको घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख उद्योग अधिकृत कमल प्रसाद घिमिरेले बताए ।
गत आव २०७२–०७३ मा दर्ता भएको कृषि तथा वन सम्बन्धि उद्योग अघिल्ला आवको तुलनामा दोब्बर भएको प्रमुख घिमिरेले बताए । आर्थिक बर्ष २०७३–०७४ मा सो संख्या झन बढ्ने अनुमान गरिएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय बाँकेका अनुसार विभिन्न कारणले आव २०७२–०७३ मा ३० वटा उद्योग बन्द भएका थिए । विभिन्न कारणले सञ्चालन हुन नसकेको भन्दै ३० वटा उद्योगले लगत कट्टा गरि उद्योग बन्द गराएका थिए ।
उता, दर्ता भएका उद्योगलाई सरकारले विभिन्न किसिमका सेवा सुविधा दिन थालेपछि संस्था दर्ता गर्ने संख्या बृद्धि भएको घरेलु कार्यालयले जनाएको छ । बाँकेमा आव २०७२–०७३ मा ३ हजार ९ सय ४४ वटा उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालयको तथ्यांकमा उल्लेख छ ।

आव २०७३–०७४ को ३ महिनामा १ सय ७९ उद्योग दर्ता भएका छन् भने आव २०७२–०७३ मा मात्र ६ सय ३० वटा नयाँ उद्योग दर्ता भएका थिए । आव २०७१–०७२ मा ५ सय ५४ वटा दर्ता भएका थिए । बाँकेमा दर्ता भएका मध्ये उत्पादनमुलक १ हजार ७ सय ९४, उर्जा ४, होटल, रेष्टुरेन्ट, पर्यटन सम्बन्धि ४ सय ३९ र सेवातर्फ १ हजार २ सय ९८ वटा उद्योग बाँकेमा संचालनमा रहेका छन् ।

जनघनत्व र ओहोरदोहोर गर्ने नेपालीको संख्या बढेकोले बाँकेमा होटल र रेष्टुरेन्ट खुल्ने संख्या पनि बढ्दो क्रममा रहेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । आव २०७२–०७३ मा स्थापना भएका ६ सय ३० वटा उद्योगमा १ हजार २ सय ५२ जना महिला र २ हजार ५ सय १७ जना पुरुषले रोजगारी पाएका छन् । उद्योग खुल्ने क्रम बढेसंगै रोजगारीका लागि विदेश जानेहरुको संख्या पनि घटेको छ ।