एमाले सचिवमाथि मधेसी मोर्चाद्वारा आक्रमणः १४ हजार लुटियो

अफवाह फैलाउने कार्यः मधेसी मोर्चा

सप्तरी,फागुन २१ । नेकपा एमाले सप्तरीका सचिव शम्भू यादवलाई शुक्रबार मधेसी मोर्चाका कार्यकर्ताले आक्रमण गरि उनी सित रहेको १४ हजार रुपैयाँ लुटेको एमाले सप्तरीले आरोप लगाएको छ । सप्तरी एमालेका अध्यक्ष गोविन्द न्यौपानेले बिज्ञप्ती जारी गरी पार्टी कार्यालय तर्फ जाँदै गर्दा सचिव यादवलाई मोर्चा कार्यकर्ताले पछाडिबाट आक्रमण गरी यादवले बोकेको झोला त्यसमा रहेको पार्टी दस्तावेज र चौध हजार तीन सय नगद लुटेर लगेको आरोप लगाएका हुन् ।

सचिव शम्भू यादवको नर्घो ८ स्थित घरमा गई पत्नी इन्दू यादव लाई धम्कि दिँदै घरमा आगो लगाइदिने चेतावनी समेत दिएको समेत एमाले अध्यक्ष न्योपानेद्वारा जारी बिज्ञप्तीमा आरोप लगाइएको छ । यता संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीका संयोजक दिनेशकुमार यादबले रकम लुटमा आफना कार्यकर्ताको संलग्नता अस्वीकार गरेका छन् । एमालेले झुठो अफवाह फैलाएको र रकम लुटने, घरमा गएर धम्क्याउने आफुहरुको कुनै योजना नभएको मोर्चा संयोजक यादवले बताए ।

एमाले सप्तरीले कसैको आस्था माथि धावा बोल्ने, शान्तिपूर्ण गतिबिधिमाथी रोकलगाउन खोज्ने र भौतिक आक्रमण गर्ने धम्कि समेत दिने मोर्चा कार्यकर्ताको कायरतापूर्ण ब्यबहारले मुठभेड निम्त्याउने प्रयत्न गरिरहेको उल्लेख गरेको छ । बिज्ञप्तीमा बाटो छेकेर कालोमोसो दल्ने , ज्यानमार्ने धम्कि दिने र दुब्यबहार गर्ने र नगद समेत लुटेर लाने कार्य आपराधिक कार्य भएको ठहर गर्दे यस्तो कार्य रोक्न र दोषिलाई कारवाही गर्न स्थानीय प्रशासनसाग माग गरिएको छ ।

यस अघि मोर्चाका कार्यकर्ताहरुले शुक्रवार सप्तरी सदरमुकाम राजविराजमा ब्यबस्थापीका संसदको महिला वालवालिका,जेष्ठय नागरिक तथा समाजकल्याण समितीका सभापति रन्जु झाको गाडीमा ढुंगामुढा गरेका थिए । राजधानीवाट राजविराज आई एमाले जिल्ला कार्यालय तर्फ गईरहेका बेला राजविराजको पानी टयाङ्की छेउमा उनको गाडीमा ढुंगामुढा भएको थियो , ढुंगामुढाबाट गाडीको पछाडीका लाईट फुटेको छ । शुक्रबारै बिहान मोर्चाका कार्यकर्ताहरूले एमाले सप्तरीका उपसचिव प्रतापनारायण चौधरीलाई कालोमोसो दलेका थिए ।

यसैबीच मोर्चाका कार्यकर्ताहरूले सदरमुकाम राजविराजमा एमालेको झण्डा जलाएको छ । एमालेले मेची महाकाली अभियान अन्तरगत फागुन २३ गते राजविराजमा सभा गर्ने तयारी गरेपछि मोर्चाका कार्यकर्ता त्यसलाई बिथोल्न सक्रिय भएको हो । यो समाचार आजको कान्तिपुरमा प्रकाशित छ ।