इराकमा नेपाली युवतीको तस्करीः एक युवती पठाए पाँच लाख

सिरियामा माया तामाङ बिदेशीयका धेरै महिला बेपत्ता

काठमाडौं,फागुन, २१ । मानव तस्कर समूहबाट इराक पुर्‍याइएका १० नेपाली युवती एक महिनादेखि अलपत्र परेका छन् । एक महिनाअघि उनीहरूले उद्धारका लागि आग्रह गरे पनि अहिलेसम्म उद्धार हुन सकेको छैन । पछिल्लो समय वैदेशिक रोजगारीको प्रलोभनमा नेपाली युवती इराकमा पुर्‍याएर बिक्री हुने क्रम बढेको छ ।

अलपत्र युवतीहरूको उद्धार हुन नसके पनि यसबीच प्रहरीले उनीहरूलाई इराक पठाउने एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । रसुवा स्याफ्रुबेसीका साम्देन लामालाई महानगरीय अपराध महाशाखाले गत साता पक्राउ गरेको हो । अलपत्र परेका सबैलाई उनले नै इराक पठाएका हुन् । अलपत्र परेकाहरूले खाना खानसमेत नपाएको तथा केहीलाई घरमा बन्धक बनाएर शोषण गरिएको बताएका छन् ।

उनीहरूको उद्धारका लागि शक्ति समूहले पहल गरिरहेको छ । तर, इराक द्वन्द्वग्रस्त मुलुक भएको र त्यहाँ नेपाली दूतावाससमेत नभएकाले उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ । पीडितहरूमा धेरै रसुवा र सिन्धुपाल्चोकका युवतीहरू छन् ।

गिरोहका अन्य सदस्य फरार

गिरोहका अन्य व्यक्ति भने पक्राउ परेका छैनन् । सम्दनेको रसुवास्थित घरबाट विभिन्न व्यक्तिको २० वटा पासपोर्ट र आठवटा नागरिकता बरामद गरेको छ । समूहका अन्य गिरोहको खोजी भइरहेको अपराध महाशाखाका प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीले बताए ।

इराक पुगेका युवतीहरूलाई गत भदौमा दुबई लगिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उनीहरूलाई दुबई पुर्‍याइएको थियो । श्रम भिसामा नै उनीहरूलाई दुबई लगिएको अनुसन्धानमा खुलेको छ । धेरै कमाइ हुने भन्दै दुबईबाट एक महिनापछि इराक पुर्‍याइएको थियो । घरेलु कामदारका रूपमा भनेर इराक पुुर्यएर आफूहरूलाई बिक्री गरिएको उनीहरूले बताएका छन् ।

एक युवती पठाए पाँच लाख

एक युवतीलाई इराक पठाएबापत मानव तस्कर समूहले पाँच लाख रुपैयाँसम्म लिने गरेका थिए । गिरोहमा धेरै व्यक्ति संलग्न रहेको प्रहरीको आशंका छ । तर, पीडितहरूको उद्धार भइनसकेकाले तस्करीमा संलग्नहरू पक्राउ परेका छैनन् ।

आफूहरूले उद्धारको पहल गरिरहेको शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारले बताइन् । वैदेशिक रोजगारको प्रलोभनमा नेपाली युवतीहरूलाई भारत, श्रीलंका हुँदै मध्यपूर्वका विभिन्न देशमा लगेर बिक्री हुँदै आएको छ । केही भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै सेटिङमा खाडी र मध्यपूर्वी देशमा तस्करी हुने गरेको छ । गाउँका सोझा युवतीहरूलाई फकाएर वैदेशिक रोजगारीमा पठाउने भन्दै विभिन्न देशमा पुर्‍याएर बिक्री हुने गरेको अपराध महाशाखाका प्रहरी उपरीक्षक कार्कीले बताए ।

सिरियामा माया तामाङ बेपत्ता

दुबईबाट सिरिया पुगेकी सिन्धुपाल्चोककी माया तामाङ बेपत्ता भएकी छिन् । गत महिनासम्म उनले आफ्नो उद्धारका लागि आग्रह गर्दै आएकी थिइन् । एक महिनादेखि उनीसँग सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ । उनले फेसबुकमार्फत उद्धारका लागि आग्रह गरेकी थिइन् । आफ्नै मामाले दुबई हुँदै सिरिया पठाएर बिक्री गरेको उनले बताएकी थिइन् ।

द्वन्द्वग्रस्त देशहरूबाट उद्धारमा समस्या हुने गरेको प्रहरीले जनाएको छ । इजिप्टस्थित नेपाली दूतावासले मध्यपूर्वी देशमा बेचिएका नेपाली युवतीहरूको उद्धारको पहल गर्दै आएको छ । तर, सम्बन्धित देशका सुरक्षा अधिकारीहरूले सहयोग गरेका छैनन् । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।