सरकार निर्णय बनाउँछः भूकम्पपीडित ऋण काढेर घर बनाउँछन्

धादिङ,फागुन,२१ । भूकम्पबाट अति प्रभावित १४ जिल्लामा आवास अनुदानको दोस्रो किस्ता वितरण गर्न ११ अर्ब ७५ करोड ५० लाख रुपैयाँको अख्तियारी दिने निर्णय सरकारले गरिसकेको छ । तर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एक महिनाअघि नै दोस्रो किस्ता वितरणको अख्तियारी दिने निर्णय गरेको भए पनि पीडितले भने अझै उक्त रकम पाउन सकेका छैनन् ।

नीलकण्ठ नगरपालिका ९ का प्रवलबहादुर दुवाडीले भूकम्प प्रतिरोधी घर बनाउन सरकारबाट अनुदानस्वरूप पाउने रकमको पहिलो किस्ता मंसिरमा लिनेबित्तिकै घर निर्माण सुरु गरे । घरको जग हालेपछि दोस्रो किस्ता दिने भनेर प्रचार गरिए पनि उनले पूरै घर बनाइसक्दासमेत दोस्रो र तेस्रो किस्ताको रकम नपाएपछि अन्योलमा परेका छन् ।

प्रवलबहादुरले भने, ‘घरको जग हालेदेखि इन्जिनियरले हेर्न आउँछ, जग भूकम्प प्रतिरोधी छ÷छैन बुझेर सिफारिस गरेपछि दोस्रो किस्ता पाइन्छ भन्थे, सरकारले भनेअनुसार नै बनाइएको छ, हेर्न इन्जिनियर पनि आएका छैनन्, फोटो खिचेर नगरपालिकामा पनि बुझाइयो तर पैसा पाउने कहिले होे कहिले केही थाहा छैन ।’

नीलकण्ठ.९ कै सुमन दुवाडीले पनि सरकारी मापदण्डअनुसार दक्ष प्राविधिककै सहयोगमा भूकम्प प्रतिरोधी नयाँ घर बनाइसकेका छन् तर उनको घरको मूल्यांकन गरिपाऊँ भनेर नगरपालिकामा निवेदन दिएको २ महिना भइसके पनि न मूल्यांकन भएको छ न त उनले दोस्रो किस्ताको रकम पाउने टुंगो नै लागेको छ । सुमनले भने, ‘अनुदानकै पैसामा भर परेर घर बनाइयो, पहिलो किस्ता बल्लबल्ल पाए पनि दोस्रो किस्ता कहिले हो कहिले । घर बनाउने मिस्त्रीलाई ज्याला र काठपात खरिद गर्न पनि १५ प्रतिशत ब्याजदरमा साना किसान सहकारीबाट ऋण निकालेको छु, अब दोस्रो किस्ता लिँदा त ब्याजै तिर्न नपुग्ने पो हो कि भन्ने अवस्था भइसक्यो ।’यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।