भियतनामी विदेश मन्त्री बालुवाटारमाः जलविद्युतको क्षेत्रमा नेपालसँग सहकार्य गर्न ईच्छुक

प्रधानमन्त्री प्रचण्डलाई भियतनाम भ्रमणको निम्तो

काठमाडौं,फाल्गुन २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान भियतनामका सहायक विदेश मन्त्री फाम सान चाउसँग भेटवार्ता गरेका छन । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा प्रधानमन्त्रीले भियतनामको राजनीतिक क्रान्तिबाट आफू प्रेरित भएको बताउँदै भियतनामीको स्वाभिमानप्रति आफ्नो उच्च सम्मान रहेको बताएका छन । भियतनामले द्रुत आर्थिक विकास र युद्धपछिको पुनर्निर्माणमा राम्रो प्रगति गरेको भन्दै प्रधानमन्त्रीले त्यसबाट आफूले शिक्षा लिएको बताए ।

प्रधानमन्त्रीले सेना समायोजन र हतियार व्यवस्थापनको पक्ष विश्वका लागि शिक्षाप्रद भएको भन्दै नेपाल संविधान कार्यान्वयन गर्दै आर्थिक समृद्धि हासिल गर्ने दिशामा अगाडि बढेको जानकारी दिए। कृषि, प्रविधि, जलविद्युत र पर्यटनमा नेपालले भियतनामसँग सहकार्य गर्न इच्छुक रहेको प्रधानमन्त्रीले बताएका छन ।

भेटमा चाउले प्रधानमन्त्रीलाई भियतनाम भ्रमणको निम्तो दिँदै नेपालमा आर्थिक विकासका प्रशस्त सम्भावना रहेको बताए । उनले जलविद्युतको क्षेत्रमा भियतनाम पनि नेपालसँग सहकार्य गर्न ईच्छुक रहेको बताउँदै त्यसका लागि सहकार्य जारी राख्ने बताए ।