आज प्रधानमन्त्रीद्धारा ‘नेपाल लगानी सम्मेलन’ को उद्धघान हुने

दुई दर्जन बढि मुलुकका लगानीकर्ताको सहभागिता

काठमाडौँ,फागुन १९ । नेपाललाई लगानीको आकर्षक गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्यका साथ आजदेखि काठमाडौमा ‘नेपाल लगानी सम्मेलन’ सुरु हुने भएको छ । उक्त सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले गर्ने कार्यक्र तय भएको उद्योग मन्त्रालय सचिवालयले बताएको छ ।

सम्मेलनमा प्रमुख वक्ताका रुपमा भारतका अर्थमन्त्री अरुण जेट्ली तथा एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्ष जिन लिक्विनको सहभागिता रहने छ । फागुन १९ र २० गरी दुई दिनसम्म संचालन हुने उक्त सम्मेलनले नेपालको आर्थिक विकासको मेरुदण्ड मानिएका नौ क्षेत्रमा केन्द्रित रहेर वैदेशिक लगानी भित्र्याउन विविध कार्यक्रबारे छलफल गर्ने बताइएको छ ।

उक्त सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य उत्पादन लगायतका क्षेत्रसँगसम्बन्धित विभिन्न विषयमा बन्द सत्रमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिने र सामुहिक छलफलबाट कार्यपत्र पाश गर्ने आयोजकले बताएको छ ।

उक्त कार्यक्रम उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा संचालन हुन लागेको हो । उक्त सम्मेलनमा वैदेशिक लगानी आकर्षित गर्न सरकारले अघि बढाएका नीतिगत, प्रशासनिक एवम् कानुनी सुधारका विषयमा व्यापक छलफल हुने उद्योग मन्त्रालय सचिवालयले बताएको छ । सम्मेलनमा लगानीकर्ताका लागि विशेष सूचना कक्ष, लगानीकर्ताबीच आपसी बैठक, सरकार र लगानीकर्ताबीच बैठकको समेत व्यवस्था गरिएको छ ।

दुई दर्जन बढि मुलुकका लगानीकर्ताको सहभागिता हुने

सम्मेलनमा विदेशी लगानीकर्ता, विज्ञ तथा स्वदेशी राजनीतिक दलका प्रमुख तथा नेता, मन्त्रीगण, विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थाका वरिष्ठ अधिकारी, सरकारी उच्च अधिकारी, व्यावसायिक नेतृत्व, विज्ञ वक्ता तथा समूह छलफलमा सहभागी हुने कार्यक्रम छ ।

सहभागिताका लागि भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, सिङ्गापुर, हङ्कङ, मलेसिया, अस्ट्रेलिया, फ्रान्स, इटाली, जापान, अमेरिका, रुस, क्यानाडा, बेलायत, दक्षिण कोरिया, फिनल्यान्ड, इरान, टर्की, भियतनामलगायत दुई दर्जन मुलुकका झन्डै २५० संस्थागत तथा व्यक्तिगत लगानीकर्ताले प्रतिबद्धता जनाएका छन ।

सम्मेलनमा सबैभन्दा बढी चीनबाट ८९ ख्याती प्राप्त कम्पनीका प्रतिनिधिको सहभागिता हुने सुनिश्चित भएको छ । भारतबाट २१, श्रीलङ्काबाट २०, मलेसियाबाट १४, जापानबाट १३, क्यानाडाबाट १२, हङ्कङबाट १०, बेलायत, दक्षिण कोरिया र भियतनामबाट आठ÷आठ, रुसबाट सात र संयुक्तराज्य अमेरिकाबाट छवटा कम्पनीका प्रतिनिधिको सहभागिता हुने तय भएको उद्योग मन्त्रालयले जनाएको छ ।

त्यसैगरी करिब ३०० स्वदेशी लगानीकर्ता, नीतिनिर्माता तथा विज्ञ पनि सम्मेलनमा सहभागी हुनेछन् । सम्मेलनमा करिब रु एक खर्बको लगानी विभिन्न क्षेत्रमा प्रतिबद्धता हुने मन्त्रालयको अनुमान छ ।