सप्तरीमा डिजेल तथा पेट्रोलसको कालोबजारी गर्नेलाई कारबाही

४५ लिटर पेट्रोल र चार लिटर डिजेल बरामद

सप्तरी,फागुन १८ । सप्तरीको देउरीभरुवा–४ स्थित किराना पसलमा बढी मूल्यमा पेट्रोल बिक्री गर्ने व्यवसायी लक्ष्मी यादवलाई प्रहरीले पक्राउ गरी कारबाही गरेको छ ।

केही दिनदेखि सप्तरी जिल्लाको सहरी तथा ग्रामीण बजारमा पेट्रोलियम पदार्थको अभाव भएको परिस्थितिमा व्यवसायी यादवले डिजेल तथा पेट्रोलसमेत राखी बढी मूल्यमा प्रतिलिटर रु एक सय ५० को दरले बिक्री–वितरण गरी कालोबजारी गर्दै आएको फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीनायब उपरीक्षक दानबहादुर कार्कीले बताएका छन।

साथै, उनको किराना पसलबाट ४५ लिटर पेट्रोल र चार लिटर डिजेलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि कालोबजारी मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य थालिएको प्रहरीनायब उपरीक्षक कार्कीले जानकारी दिए । रासस