बर्दियाको भुरिगाउँमा १५ दिनमा दश घटनाः सवारी चालकको बढ्दो लापर्वाही

नागरिकको गुनासो–‘नियन्त्रणमा प्रहरी सक्रियता फितलो’

बर्दिया,फागुन १८ । बर्दियाको बबई नगरपालिका अन्तर्गत भुरिगाउँ आसपासका क्षेत्रमा फागुनको दोश्रो हप्तासम्म विभिन्न प्रकृतिका दशवटा घटनाहरु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भुरिगाउँले गएको पन्द्र दिनमा घरायसि बिवाद,झैझगडा,सवारी दुर्घटना लगाएतगरि प्रहरी चौकिमा दशवटा घटनाहरु दर्ता भएको हरपल नेपालसँग बताएको हो ।

महेन्द्र राजमार्गसँग जोडिएको भुरिगाउँ आसपासका क्षेत्रमा पटक पटक सवारी चालकको लापरवार्हीका कारण दुर्घटनाहरु हुने गरेका छन । सो क्षेत्रमा ट्राफिक चेकजाँच पनि कम हुने र मापसे सेवन गरेर समेत छोटो रुटमा सवारी चलाउने गरिएका कारण दुर्घटना न्यूनिकरण हुन नसकेको स्थानीयवासीको भनाइ रहेको छ ।

‘भुरिगाउँबाट भित्रपर्ने नेउलापुर,रानीपुर,आम्बासा,बलाती,बकुवा,मढेला, ठाकुरद्धारा,सुर्यपटुवा,ढोडरी,बगनाह,बेलुवा लगाएतका स्थानीय बजारहरु क्षेत्रमा प्रशरी चौकि भएपनि सडकमा ट्राफिक प्रहरी भए नभएको कसैलाई थाहा हुदैन । चालक परिचय पत्र नै नभएका मानिसहरुले समेत गाडि चलाउने र दुर्घटना गराएको पाइन्छ, तर त्यसको नियन्त्रणमा प्रहरीको संक्रियता खासै देखिदैन’–भुरिगाउँका एक स्थानीय व्यपारीले बताए ।

इलाका प्रहरी कार्यालय भुरिगाउँले दिएको जानकारी अनुसार पन्द्र दिनमा घरायसि तथा सार्वजनिक झै झगडाका ६ वटा र सवारी दुर्घटना सम्बन्धीका चार वटा घटना यहाँ भएका छन । केहिदिन अगाडि भएको सवारी घटनाबाट एकको मृत्यु समेत भएको थियो ।

प्रहरीका अनुसार फागुन १३ गते ठाकुरद्धारामा भएको मोटरसाइकल दुर्घटनाबाट दैलेख जम्मुकाधँको नविन भण्डारीको ज्यान गएको थियो, भने फागुन ७ गते बबई नगरपालिका वाड नम्बर ४ मा मोटरसाइकलले सडकमा गुडिरहेको साइकललाई ठक्कर दिदा साइकल चालक घाइते भएका थिए ।

त्यसैगरि बबई वाड नम्बर २ मा मोटर साइकलले पैदल यात्रीलाई ठक्कर दिदा घाइते हुनपुगेकी बालिकालाई प्रहरीको सहयोगमा नेपालगंज स्थित भेरी अस्पतालमा पुर्याइएको थियो । भने बबई वाड नम्बर ६ मा बा २ ख ४१५५ नम्बरको विगरले बा १३ च ८४५ नम्बरको स्कर्पिलाई ठक्कर दशजना घाइते हुन पुगेको प्रहरी रेकडमा उल्लेख छ ।