बाँकेमा सुशील कोइराला क्यान्सर अस्पताल स्थापना गर्ने सरकारको निर्णय

विश्व बैंकबाट १५ अर्ब ९३ करोड ऋण लिने

काठमाडौँ,फागुन १८ । सिंहदरबारमा हिजो बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य क्षेत्रको व्यवस्थापन सुधार कार्यक्रम अन्तर्गत विभिन्न कार्यहरु संचालन गर्ने निर्णय गरेको बताइएको छ । मन्त्रीपरिषदको हिजोको बैठकले बाँकेमा ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल’ स्थापना गर्ने निर्णय गरेको छ ।

सरकारले विद्यमान बजेटको सीमाभित्र रहेर विभिन्न कार्यक्रममा आवश्यक पर्ने रकम पठाउने निर्णय गरेको जनाउदैं क्यान्सर अस्पताल निमार्ण कार्यलाई अघि बढाउने तयारी गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य क्षेत्रको व्यवस्थापन सुधार कार्यक्रम कार्यान्वयनका लागि विश्व बैंकको रु १५ अर्ब ९३ करोड ऋण सहयोग स्वीकार गर्र्ने निर्णय गरेको सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले बताएका छन ।

सरकारले वन क्षेत्रको सुरक्षा गर्न नेपाली सेनाका सात सय जनशक्ति कामकाजमा खटाउने र सरकार तथा निजी क्षेत्रको सहभागितामा पूर्वाधार विकास बैंक स्थापना गर्ने निर्णय समेत गरेको छ ।

सरकारले स्थानीय निकायको पुनः संरचनासम्बन्धी आयोगको प्रतिवदेन अध्ययन गरी सुझाव दिन गठित समितिको म्याद तीन दिन समेत थपेको छ ।  समितिले थपिएको अवधिमा पुनः संरचना आयोगको प्रतिवेदनलाई राजनीतिक सहमतिका साथ अध्ययन गरी पुनः संरचनाको समस्या हल गर्ने र प्राप्त गुनासालाई मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय समेत गरेको छ ।

यसअघि सरकारले प्रतिवदेन अध्ययन गरी सुझाव दिन स्थानीय विकासमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरी एक साताको समय दिएको थियो ।