पत्रकार महासंघ काठमाडौंद्धारा पत्रकारलाई सम्मान गर्ने निर्णय

उपचाररत पत्रकारलाई आर्थिक सहयोग गर्ने

काठमाडौं,फागुन १८ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले विभिन्न विधाका पुरस्कारहरुबाट पत्रकारहरुलाई सम्मानीत गर्न लागेको छ । महासंघको हिजो बसेको पदाधिकारी वैठकले जिल्ला शाखाको १० औं अधिवेशनका क्रममा विभिन्न विधाका पुरस्कारहरु वितरण गर्ने निर्णय गरेको हो ।

महासंघले विभिन्न विधाका पुरस्कार प्रदान गर्न पत्रकारीताको क्षेत्रमा निरन्तर कलम चलाउदै आएका पत्रकारहरु मध्येबाट क कस्लाई कुन पुरस्कारले सम्मानीत गर्ने भन्ने निर्णय समेत गरेको छ । महासंघले पुरस्कारका लागि विभिन्न विधामा सात जना पत्रकारहरुको नाम पाश गरेको छ ।

पत्रकार महासंघ काठमाडौं शाखाका सचिव रामकृष्ण अधिकारीका अनुसार महासंघले आउदो चैत १ गते विभिन्न विधामा सातजना पत्रकारहरुलाई पुरस्कृत गर्नेछ ।

महासघंका सचिव अधिकारीका अनुसार उक्त दिन अशोक स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार करुण अर्याल, अग्नि–तारा पत्रकारिता पुरस्कारबाट गगन विष्ट, जसुदा प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट पवन थापा कुन्तल, वाशुदेव दाहाल स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार प्रल्लाद रिजाललाई सम्मानीत गरिने भएको छ ।

त्यसैगरि पत्रकार महासंघ काठमाडौं शाखाले शक्ति लम्साल स्मृति पत्रकारिता पुरस्कारबाट धनवहादुर मगर, डम्वर गिरि स्मृति पत्रकारिता पुरस्कारबाट तेजेन्द्र प्रसाई, शोभा साह स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार उषा लोहनीलाई सम्मानीत गर्ने निर्णय गरेको छ ।

महासंघको पदाधीकारी बैठकले विरामी भई उपचाररत पत्रकारलाई काठमाडौं जिल्ला शाखाको नाममा रहेको  ‘पत्रकार उपचार कोष’ बाट आर्थिक सहयोग उपलब्ध गराउने निर्णय समेत गरेको सचिव अधिकारीले जनाएका छन।