प्रधानमन्त्री प्रचण्डले नेपालकै पहिलो २२० केभी क्षमताको प्रसारण लाइन उद्घाटन गरे

राम्रो काम गर्नेलाई पुरस्कारको व्यवस्था गर्ने घोषणा

दोलखा,माघ २०। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोलखा जिल्लाको खिम्तीस्थित (खिम्ती—ढल्केबर २२०) प्रसारण लाइनको उद्घाटन गर्नुभएको छ । बिहीबार उर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ सहित खिम्ती पुगेर प्रधानमन्त्रीले प्रसारण लाइनको उद्घाटन गरेका हुन ।

प्रसारण लाइनको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने– ‘नेपालकै पहिलो २२० केभी प्रसारण लाइनको उद्घाटन गर्न पाउँदा हर्ष र गर्वको महशुस भएको छ । ४०० केभी प्रसारण लाइनको काम पनि अघि बढिरहेको छ । तर, २२० केभी हामीले सञ्चालनमा ल्याइसकेका छौं, यो हाम्रा लागि महत्वपूर्ण विषय हो ।’

सरकारले आर्थिक समृद्धिलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै प्रधानमन्त्रीले भने–‘म हिमाल, पहाड र तराईलाई जोड्ने, राष्ट्रिय एकता कायम गर्ने र विकास आयोजनाहरु समयमै सम्पन्न गर्न अनुगमन र निरीक्षणमा गएको छु । समयभन्दा अघि काम सम्पन्न गर्नेलाई पुरस्कारको व्यवस्था गरेको छु, समयमा काम नगर्नेहरुलाई दण्डित गर्ने घोषणा गरेको छु । हामी छिटोका लागि, राम्रोका लागि, गुणस्तरीयताका लागि प्रतिस्पर्धा गरौं । यसले मात्र देशको मुहार बदल्न सक्छौं ।’

कार्यक्रममा उर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले उज्यालो नेपाल अभियानले जनतामा उत्साह भरेको बताए । शर्माले उज्यालो नेपाल अभियानले विकास र समृद्धिमा दुरगामी महत्व राखेको बताए । उज्यालो अभियानले गरे सकिन्छ भन्ने सन्देश दिएको र कामबाट सकारात्मक परिणाम आएको बताए ।

अहिलेसम्म १३२ केभी प्रसारण लाइन मात्रै सञ्चालन हुँदै आएकोमा नेपालमा पहिलोपटक २२० केभीको प्रसारण लाइन सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । उद्घाटन कार्यक्रममा बोल्दै घिसिङले भने–‘२०६२ मा प्रारम्भ भएको आयोजना ११ वर्षपछि सम्पन्न भयो,आयोजना सम्पन्न गर्न १ अरब ९५ करोड लगानी भएको छ । विश्व बैंक र नेपाल सरकारको संयुक्त लगानी रहेको खिम्ती—ढल्केबर प्रसारण लाइनको सञ्चालनपछि काठमाडौं र पोखराको विद्युतमा महत्वपूर्ण सहयोग पुग्ने छ।’

कार्यक्रममा उर्जा राज्यमन्त्री सत्यनारायण भगत, सांसदहरु श्यामकुमार श्रेष्ठ, शिबकुमार खड्का, कमला सुवेदी घिमिरे, पूर्व राज्यमन्त्री देवी खड्का, उर्जा मन्त्रालयका सचिव अनुपराज शर्मा लगायतले बोलेका थिए ।