प्रहरी जवानका लागि २ हजार भन्दा बढीलाई रोजगारीको अवसर

फागुन ३० गतेसम्म दरखास्त दिन सकिने

काठमाडौ,माघ २० । नेपाल प्रहरीले प्रहरी जवानका लागि आवेदन आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले २ हजार भन्दा बढीको संख्यामा जागिर खुलेको जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले विहिबार सार्वजनिक गरेको सूचना अनुसार प्राविधिकतर्फ एक हजार ३३ र जनपदतर्फ १ हजार ६ सय ४५ जना गरी २ हजार ६ सय ७८ प्रहरी जवानका लागि आवेदन आह्वान गरेको हो ।

प्रहरीको मानवश्रोत विकास विभाग तथा भर्ना छनौट शाखाका अनुसार फागुन १ गतेदेखि ३० गतेसम्म दरखास्त दिन सकिनेछ ।

नेपाल प्रहरीले प्रविधिक समूहअन्तर्गत मेकानिकल इन्जिनियर तथा सवारी, मेकानिकल विपद व्यवस्थापन, स्वास्थ्य, सञ्चार र संगीतका लागि योग्यता पुगेका उम्मेदवारले दरखास्त दिन आहृवान गरेको छ ।

प्रहरीले जारी गरेको सूचना अनुसार आवास तथा भौतिक इन्जिनियरिङ, सूचना प्रविधि, कुकुर स्कुल, विधि विज्ञान र हातहतियारसम्बन्धी प्राविधिकका लागि पनि दरखास्त आहृवान गरिएको छ ।

सबैभन्दा धेरै सञ्चार प्राविधिकका लागि ७ सय १८ जनाका लागि र सबैभन्दा कम हातहतियार प्राविधिक ५ पदका लागि दरखास्त माग गरिएको छ ।