अबदेखि श्रम स्वीकृतिका लागि लाइन बस्नु नपर्ने

दलालको ठगी नियन्त्रण हुने मन्त्रालयको दाबी

काठमाडौं,माघ २०। आदेखि वैदेशिक रोजगारीमा जाने व्यक्ति श्रम स्वीकृतिका लागि ताहाचलको श्रमग्राममा लामो लाइन बस्नु नपर्ने भएको छ ।

बुधबारदेखि सबै श्रम इजाजतको आवेदन अनलाइनबाटै गर्न पाउने भएपछि लाइन बस्न नपर्ने भएको हो । यस्तो सुविधा माघ ३ गतेदेखि सुरु गर्ने भनिए पनि प्राविधिकरूपमा तयारी पूरा नभएका कारण दुई सातापछि गर्न लागिएको हो ।

अन्तिम श्रम स्वीकृति अनलाइनबाट गर्नका लागि सबै तयारी भएकाले बुधबारबाट सुरु गर्न लागिएको श्रम तथा रोजगार मन्त्रालयका सहसचिव एवं प्रवक्ता गोविन्दमणि भुर्तेलले जानकारी दिए ।

विभागले यसअघि गएको पुस ३ गतेदेखि पूर्व श्रम स्वीकृति दिन सुरु गरिसकेको छ । वैदेशिक रोजगार व्यवसायी कम्पनीले पूर्व श्रम स्वीकृति लिने काम अनलाइनबाटै गर्दै आएका छन् ।

यो प्रणाली कार्यान्वयनमा आएपछि कामदारलाई अहिले विभागमा हुने सास्ती घट्ने र दलालको ठगी नियन्त्रण हुने दाबी मन्त्रालयको छ ।