काभ्रेमा चारहजारभन्दा बढी जनाको फोटो सहितको मतदाता नामावली सङ्कलन

नामावली सङ्कलन कार्य जारी

बनेपा, माघ २०। जिल्ला निर्वाचन कार्यलय, काभ्रेपलाञ्चोकले डेढ महिनाको अवधिमा थप कुल चारहजार एकसय १८ जनाको फोटो सहितको मतदाता नामावली सङ्कलन गरेको छ । तीमध्ये महिला दुई हजार ९९ र पुरुष दुई हजार १९ रहेका छन् ।

“मतदाताको मताधिकार सुरक्षित गर्न फोटो सहितको मतदाता नामावली सङ्कलन गरेका हौँ”, जिल्ला निर्वाचन कार्यालय, धुलिखेलका प्रमुख मधुकरप्रसाद पोखरेलले भने । उनले गत पुस ११ गतदेखि जिल्लाको प्रत्येक गाविस र नगरपालिकामा फोटो सहितको मतदाता नामावली सङ्कलनका लागि घुम्ती शिविर नै सञ्चालन भएको उल्लेख गर्दै यही माघ २७ गतेसम्म घुम्ती शिविर जारी रहने बताए । जिल्लामा ७५ गाविस र पाँच नगरपालिका छन् ।

विसं २०७० सालको मतदाता सङ्कलनबाट जिल्लामा कुल दुईलाख आठहजार सातसय २६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय, धुलिखेलले दिएको तथ्याङ्कमा उल्लेख छ । शिविरपछि पनि जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट फोटो सहितको मतदाता नामावली सङ्कलन कार्य जारी रहनेछ ।

पोखरेलले बसाइँसराइ, मृत्यु लगायतले देखिएको समस्या हटाउने वा थप्ने विषयमा पनि दाबी तथा विरोधका लागि अभियान सञ्चालन भएको बताए ।

यसैबीच, निर्वाचनमा सहभागी हुन काभ्रेपलाञ्चोकमा २५ राजनीतिक दलले आफ्नो विवरण पेस गरेका छन् । जिल्ला निर्वाचन कार्यालय, धुलिखेलले यही १७ गतेसम्मका लागि समयसीमा निर्धारण गरेको थियो । विवरण पेस गर्ने नयाँ दलमा गान्धीवादी पार्टी नेपाल र युनाइटेड ग्रिन अर्गनाइजेसनसमेत रहेका छन् ।

त्यसबाहेक नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा ९माओवादी केन्द्र, राप्रपा, नेपाल मजदुर किसान पार्टी, चुरेभावर लोकतान्त्रिक पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टीलगायत छन् । “दल दर्ता नभए दलहरुले निर्वाचनमा भाग लिन पाउँदैनन्”, जिल्ला निर्वाचन कार्यालय, धुलिखेलका नायब सुब्बा नारायणबहादुर खड्काले भने । रासस