स्ववियु निर्वाचनमा २८ बर्षे उमेर हदबन्दी विरुद्ध ल क्याम्पसका विद्यार्थीद्धारा सर्वोच्चमा रिट दायर

आम विद्यार्थीलाई नसमेटेको भन्दै सच्याउनुपर्नेमा जोड

काठमाडौं,माघ २० । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा राखिएको उमेर हदबन्दी हटाउन आदेशको माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

नेपाल ल क्याम्पसका विद्यार्थी शंकर गौतमलगायत २० जनाद्धारा बुधबार दायर गरिएको उक्त रिट निवेदनमा आसन्न स्ववियु निर्वाचनमा उमेरको हदबन्दीले अरु विद्यार्थीहरुको उम्मेदार हुन पाउने हक र अधिकारमाथि हनन भएको व्यवहोरा दर्ता गरिएको छ ।

उनीहरुले त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनमा उम्मेदार हुन गैरकानुनी रुपमा उमेर हदको प्रावधान राखेको र त्यो आम विद्यार्थीहरुको अधिकारको खिलापमा भएको उल्लेख गरिएको छ ।

उनीहरुले सर्वोच्चमा हिजो रिट दायर गर्दै क्याम्पसमा पठन पाठनको लागि जुन सुकै उमेर समुहका मानिसलाई पनि भर्ना लिने र पढन पाइने प्रावधान छ भने ति वैधानीक विद्यार्थीहरुले स्वतन्त्र विद्यार्थी युनियनमा उम्मेदारी दिन कसरी मिल्छ ? भन्दै प्रश्न गरेका छन ।

स्ववियुको मिति र प्रकृयाको बारेमा विप्लव माओवादी नकटको अखिल क्रान्तिकारी लगाएतका विद्यार्थी संगठनहरुले पुन विचार गरेर मात्र निर्वाचनमा जानुपर्ने माग राख्दै आएका छन ।

तर त्रिभुवन विश्व विद्यालयले भने यसअघि नै फागुन १ देखि निर्वाचनको प्रकृया सुरुहुने गरि निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । उसले आगामी फगुन १५ गते हुने निर्वाचनमा उम्मेद्वार हुन २८ बर्षभन्दा कम उमेर हुनुपर्ने प्रावधान राखेको छ ।

सो प्रावधानको विषयमा अधिकाश विद्यार्थीहरुले गलत र आम विद्यार्थीलाई नसमेटेरै गरिएको निर्णय भन्दै सच्याउन माग समेत गरिरहेका छन ।