श्रीस लेख्छन– ‘प्रचण्डले सत्ता टिकाउनकै लागि आत्मसर्मपणमा गएर एअर मार्सल सम्झौता गरे’

‘राष्ट्रिय सुरक्षा र स्वाधीनताको प्रश्न जटिबन्दै गएको छ’

हरपल नेपाल । नेपाली शासकहरु भारतीय विस्तारवादी शासकहरुको अगाडि आत्मसपर्पण गर्दै आइरहेका छन । आफ्नो सत्ता टिकाउन शासकहरुले भारतीय विस्तारवादको दलाल, चाकडी गर्ने, उसको अगाडि आत्मसमर्पण गर्ने र राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्नलाई तिलाञ्जली दिने काम हुँदै आएको छ । २००७ सालभन्दा अगाडि राणाहरुले आफ्नो जहाँनियाँ शासन जोगाउन पहिले ब्रिटिश साम्राज्यवादी सरकारसँग र पछि भारतीय विस्तारवादी सरकारसँग आत्मसमर्पण गरे । पञ्चायत कालमा राजाहरुले त्यसप्रकारको कार्य गरे । २०४६ सालपछि सरकारको नेतृत्व गर्ने सबै राजनैतिक दलहरुले नेपालको राष्ट्रहित विपरीत भारतीय विस्तारवादी प्रतिक्रियावादी सरकारसँग त्यसप्रकारको राष्ट्रहित विपरीत सन्धि सम्झौता गर्दै आइरहेका छन । पछिल्लो कडिको रुपमा नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा बनेको सरकारले नेपालको अन्तर्राष्ट्रिय हवाई अड्डा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय हवाई सुरक्षा बल (एयर मार्शल) बस्न पाउने सम्झौता गरेर अर्को राष्ट्रघात गरेको छ ।

भारतले २०६५ मा हिसिला यमि पर्यटन मन्त्री हुँदा नै नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय हवाई सुरक्षा बल (एयर मार्शल) राख्न पाउने प्रस्ताव गरेको थियो । जनस्तरबाट व्यापक विरोध आएपछि त्यतिबेला त्यो काम हुन सकेको थिएन । भारतीय विस्तारवादी सरकारको त्यो प्रस्तावलाई प्रचण्ड सरकारले अहिले स्वीकृति दिएको छ । यसप्रकारको सम्झौताको तयारी केपी ओली प्रधानमन्त्री हुँदा नै भएको थियो । त्यसलाई पारित गर्न मात्र बाँकी थियो भन्ने कुरा सञ्चार माध्यमहरुले बाहिर ल्याएका छन । यसबाट अहिले राष्ट्रवादको स्वरमा कुरा गर्ने एमालेको राष्ट्रियता कति खोक्रो र बनावटी छ भन्ने कुरा प्रष्ट हुन्छ ।

नेपाल र भारतका पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्चस्तरीय अधिकारीहरुबीच वार्ता भएर नेपालको अन्तर्राष्ट्रिय हवाई अड्डा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय हवाई सुरक्षा बल (एयर मार्शल) बस्ने सम्झौता भएको छ । यो सम्झौता नेपालको सावैभौमिकता, राष्ट्रिय स्वाधीनता तथा आत्मसम्मानमाथि गम्भीर आघात हो । यसप्रकारको सम्झौता माओवादी केन्द्र एक्लैले ग¥यो भन्न सकिने अवस्था छैन । नेका त सरकारमै सहभागी भएको पार्टी हो । त्यसकारण यो सम्झौतामा उसको सहमति नै छ । राष्ट्रियताको ठूलो स्वरमा कुरा उठाइरहेको र आन्दोलन गरिरहेको एमाले पनि यो राष्ट्रहित विपरीत सम्झौताको विरुद्धमा कुनै संघर्ष गरेको छैन । यसबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय हवाई सुरक्षा बल बस्ने जुन सम्झौता भयो, त्यसमा एमालेको पनि सहमती छ भन्ने कुरा प्रष्ट हुन्छ ।

भारतीय विस्तारवादी सत्ताले नेपालको सरकार जतिबेला कमजोर हुन्छ, त्यतिबेला नै आफ्नो विस्तारवादी नीति लाद्ने प्रयत्न गर्दछ । प्रचण्ड सरकार अहिले निकै कमजोर अवस्थामा छ । संसदमा उसको बहुमत छैन, कांग्रसको समर्थनबिना उसको सरकार रहनै सक्दैन । जनआधार पनि अहिले उसको निकै कमजोर भएको छ । माओवादी केन्द्रका नेताहरु विभिन्न ठाउँमा जनताबाट लखेटिएका छन् । भारतको समर्थनबिना उसको सरकार एकदिन पनि टिक्ने अवस्था छैन । यसरी कमजोर अवस्थामा रहेको प्रचण्ड सरकारको अगाडि भारतले थाती रहेको त्रिभुवन विमानस्थलमा एयर मार्शल राख्ने प्रस्ताव पुनः अगाडि बढायो । अब प्रचण्डको अगाडि दुइओटा विकल्प रहे । एउटा सबै चुनौतिहरुको सामना गर्दै राष्ट्रहितको पक्षमा उभिने अर्को आफ्नो सरकार जोगाउन भारतीय विस्तावादको अगाडि आत्मसमर्पण गर्ने । प्रचण्डले दोस्रो विकल्प रोजे । भएको यही हो । प्रचण्डजी भारतीय विस्तारवादको अगाडि यति गल्नुभएको छ कि सबै असमान सन्धि सम्झौताहरु खारेज गरिनुपर्दछ भनेर आफैले आवाज उठाउँदै आएकोमा जब प्रधानमन्त्री भएर भारत भ्रमण जानुभयो तब उहाँले पहिले गरेका सबै सन्धी सम्झौताहरु कार्यान्वयन गर्ने भनेर सम्झौता भयो । कहाँको खारेजी कहाँको कार्यान्वयन ?

यति भएर पनि प्रचण्डको सरकार रहिरहन्छ भन्ने कुरा होइन । भारतीय विस्तारवादी सत्ताले कुनै एउटा शक्तिलाई मात्र समर्थन गर्दैन । उसले नेपालका विभिन्न राजनीतिक दलहरु र शक्ति केन्द्रहरु बिचको अन्तर्विरोधलाई आफ्नो पक्षमा प्रयोग गर्दछ । एउटालाई प्रयोग गरेर आफ्नोे विस्तारवादी स्वार्थ पूरा गर्दछ अनि अर्कोलाई अगाडि बढाउँछ र त्यसबाट बाँकी रहेका अन्य स्वार्थहरु पूरा गराउन कोशिस गर्दछ । २०१७ सालमा राजालाई समर्थन गरेर काँग्रेसलाई हटायो । नेपालमा राजाहरुबाट पनि उसले थुप्रै असमान सन्धी सम्झौताहरु गरायो । राजाहरुबाट भन्दा अरुहरुबाट आफ्नो विस्तारवादी स्वार्थ पूरा गराउने सम्भावनाहरु देखेपछि उसले राजालाई पनि छोड्यो । उसको यो नीति विगतदेखि चल्दै आएको छ र भविष्यमा पनि चल्नेछ । त्यसकारण प्रचण्डबाट आफ्ना स्वार्थहरु पूरा गराएपछि अर्को शक्तिलाई अगाडि बढाउने छ । यसकारण प्रचण्ड सरकारको आयु रहिरहन्छ भन्न सकिन्न ।

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय हवाई सुरक्षा बल राख्ने जुन सम्झौता भयो त्यसलाई कसैले पनि सही सम्झौता भयो भनेर भन्न सकेका छैनन् । विभिन्न क्षेत्रबाट सरकारलाई यो विषयमा सत्य तथ्य के हो ? सार्वजनिक गर भनेर माग गरिरहेका छन् तर स्वयम् सरकारले प्रष्ट कुरा बाहिर ल्याउन सकेको छैन् । संसदमा त स्वयम सरकारमा रहेका पार्टीका संसदहरु पनि यो सम्झौताको विरोधमा बोलेको पाइयो । तर प्रश्न के हो भने संसदमा यो सम्झौताको विरोधमा बाल्ने संसदहरु साच्चै विरोधमा बोलेको हुन वा नाटक गरेका छन् ? त्यो हेर्न बाँकी नै छ भविष्यले बताउँछ ।

यहाँ नेपालमा राष्ट्रियताको विपरित गरिने सन्धी सम्झौताको विरोधमा बोल्ने नाटक पनि गरेको पाइन्छ । पाकेटमारको ग्याङको एउटा सदस्य जब एउटा इमान्दार व्यक्तिबाट रंगेहात समातिन्छ त्यसबेला इमान्दार मानिसहरु त्यो पाकेटमारका विरुद्ध खनिन्छन् । त्यस बेला त्यो रंगेहात पक्रिने पाकेटमारको साथीहरुले तुरुन्तै ठाउँ ठाउँमा नाटक गरिहाल्छन । उनीहरुले (पाकेटमार साथीहरुले) आफ्नै साथी पाकेटमारलाई कुट्न पहल गर्दछन । उनीहरुको पहल यति छिटो हुन्छ कि इमान्दार मान्छेहरुले भन्दा पाकेटमारको साथीहरुले पिटेको, गाली गरेको नाटक गर्दछन र उनीहरुले आफ्नो साथीलाई बेसरी कुटेको नाटक गर्दै इमान्दार मानिसहरुको समूहबाट बाहिर ल्याउछन र कुटेको नाटक गर्दै अलि पर लगेर भगाउँछन । त्यो पाकेटमार इमान्दार मानिसहरुको पिटाइबाट जोगिन्छ, जोगाईन्छ । नेपालको राजनीतिमा पनि यस्तै प्रकारको नाटक हुने गर्दछन ।

उदाहरणको रुपमा लिउ सरकारले इन्धनको भाउ बढाउँछ । बहुदलीय व्यवस्थामा दलीय सरकार नै हुन्छ । अनि सरकारले इन्धनको भाउ बढाउनु भनेको पार्टीले नै इन्धनको भाउ बढाउनु हो । इन्धनको भाउ बढाएकोमा जनताबाट आउने आक्रोशलाई मन्थर गर्न त्यहि पार्टीले नाटक गर्दछ । त्यो नाटक उनको आफ्नै भातृ संगठन विद्यार्थी, मजदुर वा युवा संगठनहरुलाई लगाएर आन्दोलन गर्न लगाउँछ । इन्धनको भाउ बढेकोमा विद्यार्थी संगठनले आन्दोलनको घोषणा गर्दछ, टायर बाल्छ, जुलुस निकाल्छ, बन्दको आव्हान गर्छ आदि आदि । जब इन्धनको भाउ बढाएकोमा जनताको आक्रोश मत्थर हुँदै जान्छ तव ती जनसंगठनहरुका नेताहरुले आन्दोलन स्थगन गर्दछन र मञ्चबाट फेरि कुर्लन थाल्छन् हाम्रो महान गौरवशाली पार्टी फलानो भनेर । जनताको हित विपरित काम गर्ने पार्टी पनि गौरवशाली र महान पार्टी हुन्छ ? यस प्रकारको नाटक मञ्चन नेपालमा धेरै पटक भइसकेको छ र हुँदै पनि छ । यसको अर्थ सबै त्यस्तै हुन्छन भनेको पनि होइन केहि इमान्दार पूर्वक विरोधमा पनि आएका हुन्छन । त्यस्ता इमान्दार व्यक्तिहरुले विस्तारवाद र साम्राज्यवादको दलाली गर्ने पाटोलाई परित्याग गर्दछन । अहिले संसदमा त्रिभुवन विमान स्थलमा एयरमार्शल राख्ने सम्झौताको विरोध गर्ने संसदहरुले बोलेको कुरा नाटक हो कि साँच्चिकै हो भन्ने कुरा भविष्यमा प्रस्ट हुने छ ।

घटनाक्रमले यति प्रष्ट पारिसकेको छ कि नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपा पार्टीका नेताहरुले आफ्नो पद जोगाउन वा पद प्राप्त गर्न विस्तारवादी र साम्राज्यवादी शक्तिहरुको अगाडी आत्मसर्मपण गर्दछन र गरिरहेका छन । इतिहासमा घटेका अहिलेसम्मको घटनाले यो कुरा स्पष्ट पारिसेको छ । राष्ट्रघाती महाकाली सन्धी, अपर कर्णाली, अरुण तेस्रो, बिप्पा सम्झौता यसका केहि उदाहरणहरु हुन । त्यसकारण नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रबाट नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता र क्षेत्रीय अखण्डताको रक्षा कुनै हालतमा हुन सक्दैन । ती पार्टी भित्रबाट साँच्चिकै राष्ट्रवादी त्यागी नयाँ नेतृत्व पैदा हुने र पार्टीको समग्र चरित्रमा परिवर्तन आएपछि मात्र ती पार्टीहरुबाट आशा गर्न सकिन्छ तर अहिले ती पार्टीहरुमा त्यस्तो परिवर्तन हुने कुनै सम्भावना छैन । त्यसकारण ती पार्टीहरुमा जनविरोधी राष्ट्रविरोधी नीति र कार्यहरुको विरुद्धमा आन्दोलन केन्द्रीत गर्नु पर्दछ ।

हाल सरकार संचालन गरिरहेका र प्रतिपक्षेमा रहेका पार्टीहरुबाट त अब नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता र क्षेत्रीय अखण्डताको रक्षा हुन्छ भन्ने कुरामा कुनै विश्वास छैन । तर दलाल नोकरशाही पुँजीपति र सामन्तवर्ग बाहेक नेपाली जनताको ठूलो हिस्साले नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता र क्षेत्रीय अखण्डताको लागि आवाज उठाइरहेको छन् लडाई लडिरहेका छन । नेपाली जनताको यो आवाज र लडाई नभएको भए यहाँका राजनीतिक नेता भनाउँदा दलालहरुले नेपाललाई सिक्किम र भुटान जस्तो बनाई सक्ने थिए भन्ने कुरा उनीहरुको व्यवहारले देखाइरहेको छ । राष्ट्रिय स्वाधिनताको पक्षमा जर्बजस्त जनमत भएको कारणले यहाँका सत्ताधारीहरुले पनि आफूले चाहेजस्तो गर्न सकेका छैनन् । विस्तारवादको र साम्राज्यवादी शक्तिहरुले पनि आफूले चाहे जस्तो सजिलरी नेपालमा आफ्नो नीति लागु गर्न सकिरहेको छैनन । त्यो अवस्थामा हामीले नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता र क्षेत्रीय अखण्डताको पक्षमा उभिने जनता र राजनीतिक शक्तिहरुसँग मिलेर एकातिर विस्तारवाद र साम्राज्यवादको दलाली गर्ने शक्तिहरु विरुद्ध अर्कोतिर विस्तारवाद र साम्राज्यवादको विरुद्धमा संघर्षलाई तेज बनाउनु पर्दछ । राष्ट्रिय स्वाधिनताको पक्षमा उभिने शक्तिहरुको एकीकृत आन्दोलनले मात्र नेपालको राष्ट्रिय स्वाधिनताको रक्षा गर्न सक्छ ।

(श्रीस नेकपा क्रान्तिकारी माओवादीको प्रकाशन विभाग इन्चार्ज हुन् ।)