स्ववियु निर्वाचनको कार्यतालिका परिवर्तन गर्न विप्लव निकट अखिल क्रान्तिकारीको माग

चैत्र मसान्तसम्म निर्वाचन गर्न सुझाव

काठमाडौं,माघ १९ । विप्लव माओवादी निकटको अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचनको कार्यतालिका आफ्नो पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनसँग जुझ्न गएको भन्दै त्यसमा पुनः विचार गर्न माग गरेको छ ।

अखिल क्रान्तिकारीका अध्यक्ष पूर्ण बहादुर सिंहले आज एक विज्ञप्ती जारी गर्दै नेकपा माओवादीको ८ औं राष्ट्रिय महाधिवेशनसँग अन्तविरोध हुने गरी त्रिविले ल्याएको निर्वाचनको कार्यतालिका आफुहरुलाई मान्य नहुने भन्दै त्यो विषयमा पुनः विचार गर्न माग गरेका हुन ।

अध्यक्ष सिंहले विज्ञप्ती मार्फत भनेका छन–‘त्रिभुवन विश्वविद्यालयले विगतका दलाल संसदवादीहरुले जस्तो तरिकाले भ्रष्टहरुको संरक्षण गर्दै स्ववियुको खिलाफमा चुनावको नौटंकी गरिरहेको छ । हामी एकिकृत जनक्रान्किो कार्यदिशाबाट वैज्ञानिक समाजवाद स्थापनाको लक्ष्य सहित पार्टीको महाधिबेशनमा जुटिरहेका बेला हाम्रो अभियानमा अन्तरविरोध आउने गरी ल्याइएको कार्यतालिका मान्य हुन सक्दैन । त्यो विषयमा पुन विचार गरियोस ।’

उनले स्ववियुको निर्वाचन आउदो चैत्र भित्रै सम्पन्न हुने गरी नयाँ ढंगले सोच्न आग्रह समेत गरेका छन ।
उनले आफ्नो आग्रहलाई कुल्चेर यथास्थितीकै कार्यतालिका अनुसार निर्वाचनमा अघिबढे चुनाव होइन, आन्दोलन हुने भन्दै चेतावनी समेत दिएका छन ।

नेकपा (माओवादी)को राष्ट्रिय महाधिवेशन आउदो फागुन १ देखी १५ गते सम्म हुने बताइएको छ, जुन त्रिविले सार्वजनिक गरेको निर्वाचनको कार्यतालिकासँग बाझिन जाने देखिन्छ ।

त्रिभुवन विवविद्यालयले आउदो फागुन १ गते मतदाता सूचि प्रकाशन गर्ने,३ गते सूचि उपर दावि विरोध गर्ने,४ र ५ गते उम्मेदारको मनोनयन वितरण गर्ने,उम्मेदारको नाम प्रकाशन गर्ने, ६ गते उम्मेदारको दाबी विरोध उपर छानबिन गर्ने,८ गते उम्मेदारको अन्तिम नामावली प्रकाशन गर्ने र १४ गते स्ववियुको निर्वाचन सम्पन्न गर्ने आफ्नो कार्यतालिका यसअघिनै सार्वजनिक गरिसकेको छ ।