सार्कको ५३औँ कार्यक्रम समितिको बैठक काठमाडौंमा सुरु

नेपाल आयोजक

काठमाडौँ,माघ १९ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको कार्यक्रम समितिको बैठक आजबाट काठमाडौंमा सुरु भएको छ ।
कार्यक्रम समितिको ५३औँ बैठकमा परराष्ट्र मन्त्रालय, क्षेत्रीय सङ्गठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले नेतृत्व गरेका छन् ।

सार्क सचिवालयको सक्रियतामा भएको उक्त बैठकमा आठवटै सदस्य मुलुकका परराष्ट्र, विदेश तथा बाह्य मामिला मन्त्रालयमा क्षेत्रीय सङ्गठनको जिम्मेवारी पाएका सहसचिवले भाग लिएका छन् ।

गत चैतदेखि हालसम्म भएका सार्कका गतिविधि, सार्क सचिवालय सञ्चालनका साथै आगामी वर्षको बजेटलगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

सार्क अध्यक्षका नाताले नेपालले उक्त समितिको बैठकको आयोजना गरेको बताइएको छ ।