दाहाल नेतृत्वको सरकारको ६ महिनाको अवधिः राष्ट्रिय मुद्दामा सहमति जुटाउन असफल

सरकारमा सहभागी दललाई नै सहमतिमा ल्याउन सकेन

काठमाडौं,माघ १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार ६ महिनाको अवधिमा प्रमुख राष्ट्रिय मुद्दामा सहमति जुटाउन असफल बनेको छ ।

संविधान कार्यान्वयनलाई तीव्रता दिनेदेखि संविधान संशोधन, स्थानीय निर्वाचन मिति घोषणा, अख्तियार प्रमुखविरुद्धको महाअभियोग प्रस्तावलगायत विषयमा सरकार सत्तारूढ र विपक्षी दलहरूसँग सहमति एवं सहकार्यका साथ अघि बढ्न पूर्णतः असफल बनेको हो ।

कुन–कुन बुँदामा संविधान संशोधन गर्ने भन्नेमा सरकारले प्रमुख प्रतिपक्षसँग मात्रै नभएर सरकारमै सहभागी भएको दलदेखि समर्थन गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई समेत बुझाउन सकिरहेको छैन । मोर्चाले संसद्मा दर्ता भएको विधेयक परिमार्जनसहित पारित हुनुपर्ने अडान राखिरहेको छ ।

संसदमा दर्ता भएको अहिलेकै विधेयकमा मोर्चा र प्रमुख प्रतिपक्षी एमालेसँग सहमति जुटाउने प्रयासमा छ । मोर्चासँगको सहमति जुट्न नसकेकै कारण सरकारले निर्वाचन मिति घोषणासमेत गर्न सकेको छैन । अख्तियार प्रमुख (अयोग्य घोषित भएका) लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगमा समेत सरकारले सहमति जुटाउन सकेको थिएन ।

सत्ता साझेदार प्रमुख दल कांग्रेसलाई नै प्रधानमन्त्रीले महाअभियोगको पक्षमा ल्याउन नसक्दा अदालतको निर्णयबाट अयोग्य घोषित भई कार्की हटेका हुन । सर्वोच्च अदालतले अयोग्य ठहर गरेपछि कार्की पदमुक्त भएका थिए । पछिल्लोपटक दलहरूबीच सहमति र सहकार्यको राजनीति टाढिँदै जाँदा स्थानीय निर्वाचन तथा संविधान कार्यान्वयनसमेत अनिश्चिततातर्फ धकेलिँदै गएको छ ।