संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी राष्ट्रपतिका लागि निर्वाचनमा जानुपर्छः डा भट्टराई

मधेसीका मागलाई सम्बोधन गरेर मात्र चुनाव सम्भव

रुकुम,फागुन १६ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले अहिलेको शासकीय स्वरुप ठीक नभएको र संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी राष्ट्रपतिका लागि निर्वाचन प्रक्रियामा जानुपर्ने धारणा व्यक्त गरेका छन । उनले संविधान संशोधन गर्दै मधेसी दलले उठाएका मागलाई सम्बोधन गरे मात्र तीनवटै तहको चुनाव गर्न सकिने तर्क गरेका छन ।

आज पार्टी प्रशिक्षण कार्यक्रस सकेर रुकुमबाट काठमाडौँ फर्किने क्रमा उनले एअरपोर्टमा पत्रकारहरुसँग सङ्क्षिप्त कुरा गर्दै अहिलेको सरकारले संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी राष्ट्रपतिका लागि निर्वाचन प्रक्रियामा जानुपर्ने बताएका हुन ।

उनले शासकीय स्वरुप ठीक नभएकै कारण देशको आर्थिक र राजनीतिक विकास पनि तीव्र गतिमा हुन नसक्ने बताए । अहिलेको संविधानमा सबैको हित हुने व्यवस्था नभएकाले तत्काल संविधान संशोधन गरेरमात्र देशलाई निकास दिनुपर्ने कुरामा उनको जोड थियो ।

उनले नयाँ शक्ति नेपालले अघि सारेको आर्थिक क्रान्तिको एजेन्डा मार्फत अब देशको आर्थिक समृद्धिलाई पूरा गर्न राज्यका सबै शक्ति मिलेर देशमा औद्योगिक क्रान्ति सञ्चालन गर्नुपर्ने खाँचो रहेको बताए । सरकारले आफ्नो आयु लम्ब्याउनलाई निर्वाचनको मिति घोषणा गरेको आरोप लगाउदै उनले संविधान संशोधन नगरेसम्म कुनै पनि निर्वाचन हुन नसक्ने दाबी गरे ।

नयाँ शक्ति पार्टी नेपाल र सङ्घीय समाजवादी फोरमबीचको एकताको सन्दर्भमा भने गम्भीर छलफल भइरहेको र अब छिट्टै टुङ्गोमा पुग्ने उनले बताए ।