आज ग्याल्पो ल्होसारः शेर्पा समुदायमा विशेप रुपमा मनाइदैँ

साँझमा खाइने गुथुकः भविष्यबारे अनुमान गर्ने परम्परा

काठमाडौं,फागुन १६ । आज बौद्धमार्गी शेर्पा समुदायको ग्याल्पो ल्होसार पर्व,विशेष रुपमा मनाइदै छ । हिमाली क्षेत्रमा बसोबास गर्ने र चौरी पालन कार्यमा रहेका शेर्पा जातिहरुले यो पर्वलाई विशेष रुपमा मनाउने गर्दछन ।

तिनप्रकारका ल्होसारहरु मध्य जान हिमाली समुदायले मनाउने ल्होसार पर्वको दिन हो । ग्याल्पो ल्होसारमा अन्य समुदायहरुको पनि उत्कृष्ट समभाव अनि सक्रियता पाईन्छ । शेर्पा, तामाङ, गुरुङ, हुम्ली, मुस्ताङी अनि मनाङी लगायत अन्य धेरै समूदायको यो एउटा साझा ल्होसार हो । नयाँ वर्ष अर्थात् ल्होसारको मितीका सम्बन्धमा विभिन्न समूदायहरुका मिती अनि ल्होसार मनाउने दिनबारे फरक फरक मत पाईन्छ ।

आजको विशेष परिकार खाप्से

आजको ल्होसारको सबैभन्दा महत्वपूर्ण कुरा भने खाप्से हो । मैदाको पिठोबाट बनाईएको एकप्रकारको यो मिठाई आजको दिनको विशेष परिकार मानिन्छ । हिमाली हावापानीको कुशल आंकलन गरेर आजका दिन उम्रिने गरि गहुँको बिउँ छरिएको हुन्छ, जसलाई लोपूलु भनिन्छ, यसरी उम्रिएको गहुँको टुसालाई आज नयाँ वर्षको नयाँ वालीकारुपमा लिईन्छ ।

साँझमा खाइने गुथुकः भविष्यबारे अनुमान गर्ने परम्परा

ल्होसारको साँझमा खाइने एउटा विशेष परिकार जो विभिन्न नौ प्रकारका अन्न मिसाएर तयार पारीएको हुन्छ । त्यसलार्इ गुथुक भनिन्छ । यो परिकारलार्इ आफन्त, नातागोता तथा इष्टमित्र र घर गाउँले मिलेर एक आपसमा खुसी साटासाट गर्दै बाँडेर खाने गर्दछन् । गुथुक पिठोको छुट्टाछुट्टै डल्ला बनाई त्यसभित्र बेग्ला बेग्लै सेतो कपडा, गहुँ, कागज, खुर्सानी, कोइला, घ्यू र नुन राखेर पकाइएको हुन्छ ।

उक्त गुथुकको डल्लालाई खाने बेलामा कसको गुथुकभित्र के पर्यो भनेर सबैले खोलेर हेर्दछन् । जसमा सेतो कपडाको टुक्रा पर्यो भने उसको मनोकामना पूरा हुने, गहुँ परेमा धन सम्पत्ति बढ्ने, कागजको टुक्रा परेमा विद्वता बढ्ने, खुर्सानी परेमा खरो स्वभावको हुने, कोइला परेमा कपट स्वभावको हुने, घ्यू परेमा चिप्लो बोल्ले स्वभाव हुने र नुन परेको खण्डमा बनेका योजनाहरु सफल हुने मान्यता शेर्पा समूदायमा रहेको छ ।

ग्याल्पो ल्होसारको अर्थ के हो ?

ग्याल्पो ल्होसारलाई ह्याल्मो ल्होसार पनि भन्ने गरिन्छ, तर दुवैको अर्थ भने एकै हो । आज नयाँ लुगा लगाउने र पानीका मुहानहरुमा गएर नाग देवताको पूजा गर्ने गरिन्छ । पूजा गरेपछि त्यहाँबाट ल्याइएको पानीले घरका कुलदेवतालाई चढाउने गरिन्छ । साथै यस अवसरमा मिठो मसिना खानेकुराहरु खाई नाचगान गर्दै रमाइलो गरिन्छ । यो चाड नेपाल सहित चीन, मङ्गोलिया, बर्मा सिक्किम, भुटान लगायतका देशमा पनि मनाइन्छ । ग्याल्पो ल्होसार राष्ट्रिय पर्व भएकाले आज सरकारले सार्वजनिक विदा दिएको छ ।

बुद्धत्व प्राप्त गरेपछि पर्व मनाउन सुरु

आङ्गन अनि घरको छत लगायत गुम्बा अनि चैत्यहरुमा भएका पुराना ध्वजाहरुलाई आज परिवर्तन गरिन्छ । हिमालका हावाहरुले मन्त्र लेखिएका यी कपडाका ध्वजाहरुलाई हल्लाउदा एउटा अदभूत सङ्गीत भर्दछ । यी झण्डाहरुले संसारभरी शान्तिको एउटा अद्वितीय कामना अभिव्यक्त गर्दछन ।

यस्ता झण्डाहरुका बारेमा केही थप जानकारी प्रस्तुत गर्यौं । लामो लठ्ठी या आडमा राखिएका एकनाशको तलदेखि माथीसम्मको एउटै झण्डालाई दार्चोर भनिन्छ । अनि लामो डोरीहरुमा ससाना चारकुने झुण्डाइएका झण्डाहरुलाई भने लगंता भनिन्छ, तिब्बतियन भाषामा यसको अर्थ हवाई घोडा हो ।

एक किंवदन्ती अनुसार भगवान बुद्धले बुद्धत्व प्राप्त गरेपश्चात् धर्म प्रचार गर्दै देवलोक पुग्छन् । देवलोक पुग्दा देवता र असुरहरुबीच लडाइँ भईरहेको थियो । तर लडाँईमा देवताहरू असुरसंग पराजित हुन्छन् । त्यहिबेला भगवान बुद्धले ल्हयी ओङ्बु ग्याचेन भगवान इन्द्रु का माध्यमबाट विजय शक्ति मन्त्र अर्थात ग्याल्जेन चेमु दिन्छन् । त्यहि मन्त्रको प्रभावले देवताहरूले असुरहरुलाई पराजित गर्छन् । यसै विश्वासका आधारमा शेर्पा समूदायमा ग्याल्जेन चेमु मन्त्र लेखिएको लगंता घरघरमा टाङ्गने प्रचलन सुरु भएको मानिन्छ ।