स्ववियु निर्वाचन अन्योलमा: क्याम्पसमा आगजनी, तोडफोड र झडप

कुन क्याम्पसमा किन रोकियो मनोनयन ?

काठमाडौँ,फागुन,१६ । त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित १८ फागुनमा नै मतदान हुने गरी कार्यतालिका संशोधन गरेर चुनावी प्रक्रिया अघि बढाए पनि स्ववियु निर्वाचन अन्योलमा परेको छ । उपत्यकाका केही क्याम्पसबाहेक निर्धारित कार्यतालिकाअनुसार आइतबार उम्मेदवारी मनोनयन दर्तासमेत हुन सकेन ।

केही क्याम्पसमा आगजनी, तोडफोड र झडप भएको छ । वाल्मीकि क्याम्पसमा आफ्नो उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्न माग गर्दै अनेरास्ववियुले आइतबार आगजनी गरेको छ । प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको चुनाव नगर्ने निर्वाचन समितिको निर्णयपछि तोडफोड भएको छ ।

चुनावको मिति नजिकिँदै गर्दा विद्यार्थी संगठनहरूले विभिन्न माग राख्दै क्याम्पसमा तालाबन्दी गरेको र सो माग पूरा गर्न नसक्ने अवस्था आएपछि चुनाव नगर्ने निर्णय गरेको समितिले जनाएको छ ।

कुन क्याम्पसमा किन रोकियो मनोनयन:  त्रिवि केन्द्रीय क्याम्पसमा

त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा मतदाता नामावलीको विषयलाई लिएर आठ विद्यार्थी संगठनले गरेको तालाबन्दीको कारण उम्मेदवारी मनोनयन दर्ता हुन सकेन । निर्वाचन समितिले सहमतिका लागि गरेको प्रयास असफल भएको त्रिवि केन्द्रीय क्याम्पसका निर्वाचन आयुक्त लालुप्रसाद पौडेलले बताए ।

विश्वभाषा क्याम्पस

प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसमा पनि मनोनयन दर्ता हुन सकेको छैन । वैद्य र विप्लवनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मतदाता नामावलीमा फर्जी विद्यार्थी भएको भन्दै तालाबन्दी गरेका कारण निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको हो । चुनावी प्रक्रिया अघि बढाउन आइतबार नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले संयुक्त विज्ञप्ति निकालेका छन् ।

नेपाल कमर्स क्याम्पस

नेपाल कमर्स क्याम्पस मीनभवनमा मधेसी विद्यार्थी फोरम नेपाल लोकतान्त्रिकले फर्जी विद्यार्थीको विरोधमा एक सातायता गरेको तालाबन्दीका कारण निर्वाचन कार्यक्रम अघि बढ्न सकेको छैन ।

रत्नराज्यलक्ष्मी क्याम्पस

शनिबार भएको नेविसंघ र अनेरास्ववियुको झडपका कारण निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन । सैद्धान्तिक परीक्षा सकिएलगत्तै स्ववियुमा निर्वाचित व्यक्ति स्वतः पदमुक्त हुने त्रिविको नियमको विरोधमा विद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेका थिए ।

पद्मकन्या क्याम्पस

बागबजारस्थित पद्मकन्या क्याम्पसमा तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले शनिबारदेखि गरेको तालाबन्दीका कारण उम्मेदवारी मनोनयन दर्ता हुन सकेन । सैद्धान्तिक परीक्षा सकिएलगत्तै स्ववियुमा निर्वाचित व्यक्ति स्वतः पदमुक्त हुने त्रिवि नियमको विरोधमा विद्यार्थीले तालाबन्दी गरेका हुन् । तर, सोमबार कुनै पनि हालतमा मनोनयन दर्ता प्रक्रिया अघि बढाउने निर्वाचन समितिले जनाएको छ ।

शंकरदेव क्याम्पस

शंकरदेव क्याम्पसमा पनि तालाबन्दीका कारण आइतबार मनोनयन दर्ता हुन सकेन । माओवादी केन्द्र, वैद्य र विप्लवनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले फर्जी विद्यार्थी भर्ना गरेको र आचारसंहिता उल्लंघन गरेको विरोधमा ताला लगाएका हुन् । ताला खुलाउनका लागि निर्वाचन कमिटीले सोमबार बिहान सर्वपक्षीय बैठक बोलाएको छ । सो बैठकबाट ताला खुलाउने सहमति भयो भने भोलि नै मनोनयन दर्ता प्रक्रिया सुचारु गरिने क्याम्पस प्रमुख कृष्ण आचार्यले बताए ।

अस्कल क्याम्पस

अस्कल क्याम्पसमा भर्नाको विषयलाई लिएर विद्यार्थीहरू आन्दोलित भएपछि निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन । विद्यार्थी संगठनलाई सहमतिमा ल्याउनका लागि अथक प्रयास गर्दा पनि सहमतिमा ल्याउन नसकेपछि निर्वाचन प्रक्रिया अघि बढाउन नसकिएको निर्वाचन आयुक्त गंगा श्रेष्ठले बताइन् ।

त्रिचन्द्रमा ताला खुल्यो

एक सातादेखि त्रिचन्द्र क्याम्पसमा लगाएको ताला खुलेको छ । ताला खुलेसँगै चुनावी प्रक्रिया अगाडि बढेको छ ।सैद्धान्तिक परीक्षा सकिएसँगै निर्वाचित व्यक्ति स्वतः पदमुक्त हुने त्रिविको नियमको विरोधमा विद्यार्थी आन्दोलित थिए । सो विषयमा त्रिविले सिनेटमा छलफल गरी विवाद टुंग्याउने सहमतिपश्चात् ताला खुलेको हो । आइतबार त्रिचन्द्रमा संगठन दर्ता गरिएको छ ।

ल क्याम्पसमा तोडफोड

प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको चुनाव नगर्ने निर्वाचन समितिको निर्णयपछि तोडफोड भएको छ । चुनावको मिति नजिकिँदै गर्दा विद्यार्थी संगठनहरूले विभिन्न माग राख्दै क्याम्पसमा तालाबन्दी गरेको र सो माग पूरा गर्न नसक्ने अवस्था आएपछि चुनाव नगर्ने निर्णय गरेको समितिले जनाएको छ । विद्यार्थीेले अवरोध सिर्जना गरेपछि कार्यतालिकाअनुसार निर्वाचन कार्यक्रम अघि बढाउन नसकिने समितिले क्याम्पस प्रशासनलाई लिखित रूपमा जानकारी गराएको छ । क्याम्पसले सूचना निकालेर घोषित सबै चुनावी कार्यक्रम स्थगित गरिएको जनाएको छ । क्याम्पसले सूचना जारी गरेलगत्तै अनेरास्ववियुले निर्वाचन कार्यालय तोडफोड गरेको छ ।

वाल्मीकि क्याम्पसमा आगजनी

स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको चुनावी कार्यक्रम अघि बढेसँगै क्याम्पसहरूमा आगजनी हुने क्रम पनि बढेको छ । वाल्मीकि क्याम्पसमा आफ्नो उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्न माग गर्दै अनेरास्ववियुले आइतबार आगजनी गरेको छ ।तालाबन्दी हुनुभन्दा पहिला आफ्नोतर्फबाट उम्मेदवारी मनोनयन दर्ता भएको र अरू संगठनको उम्मेदवारी नपरेकाले निर्विरोध घोषणा गर्न माग गरेको अनेरास्ववियुले जनाएको छ । नेविसंघले भने विगतमा जस्तै यस वर्ष पनि चुनाव जित्ने निश्चित भएपछि अनेरास्ववियु आगजनीमा उत्रिएको आरोप लगाएको छ । निवर्तमान स्ववियु सभापति रमेश रिजालले कसैले माग गर्दैमा निर्विरोध घोषणा हुन नसक्ने बताए । त्रिविको कार्यतालिकाअनुुसार १४ फागुनमा उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम थियो ।

स्ववियु निर्वाचन गर्न पार्टीको हस्तक्षेप

काभ्रेमा रहेका दुईवटा क्याम्पसमा स्ववियु निर्वाचन गर्न आइतबार कार्यदल गठन गरिएको छ । प्रजिअ शिवप्रसाद सिम्खडाको संयोजकत्वमा राजनीतिक दल र विद्यार्थी नेताबीच भएको छलफलपछि कार्यदल गठन गरिएको हो । पनौतीस्थित इन्द्रेश्वर क्याम्पस र धुलिखेलस्थित धुलिखेल क्याम्पसमा मतदाता नामावलीको संख्यामा कुरा नमिलेपछि १२ फागुनबाट दुईवटै क्याम्पसको स्ववियु निर्वाचन कमिटीले निर्वाचन स्थगित गरेको थियो । विवाद मिलाउन आइतबार प्रजिअ सिम्खडाको नेतृत्वमा कांग्रेस जिल्ला उपसभापति अच्युत पौडेल, एमाले जिल्ला अध्यक्ष टोकबहादुर वाइवा र माओवादी केन्द्रका नेता दैवलाल घिसिङको उपस्थितिमा सबै दलका विद्यार्थी नेताबीच बसेको बैठकले विद्यार्थी संगठनका तर्फबाट एक–एकजना प्रतिनिधि रहने गरी कार्यदल गठन गरिएको हो ।

उपत्यकामा अध्यक्षका प्रत्याशी: भक्तपुर बहुमुखी क्याम्पसमा

अनेरास्ववियुः अध्यक्ष– दीपकबहादुर विष्ट                           अखिल क्रान्तिकारीः अध्यक्ष– सञ्जय ठिमी
नेविसंघ र नेक्राविसंघ संयुक्त प्यानलः अध्यक्ष– दिनेश खड्गी
नर्सिङ क्याम्पस, महाराजगन्ज

अनेरास्ववियुः अध्यक्ष– विमला धमला                      नेविसंघ र अखिल क्रान्तिकारी संयुक्त प्यानलः अध्यक्ष– समीक्षा सुवेदी

थापाथली इन्जिनियरिङ क्याम्पस

नेविसंघः अध्यक्ष– विकास लामा र विजय अर्याल      अनेरास्ववियुःअध्यक्ष– वसन्त शिवाकोटी         अखिल क्रान्तिकारी अध्यक्ष– प्रज्वल खत्री

सानोठिमी बहुमुखी

अखिल क्रान्तिकारीर नेविसंघको संयुक्त प्यानलः अध्यक्ष– रमेश खड्का          अनेरास्ववियुःअध्यक्ष– लालबहादुर रोकाय

नेक्राविसंघः अध्यक्ष– जानकीकुमारी सिजापति

पुल्चोक इन्जिनियरिङ क्याम्पस
अखिल क्रान्तिकारी प्रचण्ड, अध्यक्ष– रोशन थापामगर         अनेरास्ववियुः अध्यक्ष– सुदीप चालिसे             नेविसंघःअध्यक्ष– केशव थापा

आयुर्वेद क्याम्पस

अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त प्यानलःअध्यक्ष– शान्ति तिमल्सिना                       नेविसंघः अध्यक्ष– सुदीप श्रेष्ठ

महाराजगन्ज चिकित्सा क्याम्पस

नेविसंघःअध्यक्ष– सन्तोष उपाध्याय             संयुक्त प्यानल अनेरास्ववियु, अखिल क्रन्तिकारी,अध्यक्ष– मिलन गैरे

त्रिविका यी क्याम्पसमा भयो उम्मेदवार मनोनयन

मेची बहुमुख क्याम्पस, झापा                तेह्रथुम बहुमुखी क्याम्पस                         भोजपुर क्याम्पस                विज्ञान क्याम्पस, धरान

महेन्द्र बहुमुखी क्याम्पस, धरान            पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, धरान     बुटवल क्याम्पस                 भरतपुर क्याम्पस, चितवन
सुर्खेत क्याम्पस                                   डोटी क्याम्पस                                           लमजुङ कृषि क्याम्पस       धौलागिरि बहुमुखी क्याम्पस, बाग्लुङ                                               गोरखा क्याम्पस                                       भक्तपुर क्याम्पस               सानोठिमी शिक्षा क्याम्पस
जनप्रशासन क्याम्पस                          आयुर्वेद क्याम्पस                                     ललितकला क्याम्पस           महाराजगन्ज चिकित्सा क्याम्पस
महाराजगन्ज नर्सिङ क्याम्पस              पुल्चोक इन्जिनियरिङ क्याम्पस                 थापाथली इन्जिनियरिङ

यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।