पूर्वमा इन्धन भर्न उपभोक्ता सास्तीमाः कृत्रिम अभाव अझै कायमै

पम्पहरू तस्करीमा संलग्न भएको आशंका

विराटनगर,फागुन १६ । ट्यांकरचालक र नेपाल आयल निगमबीच सम्झौता भएसँगै नेपाल आयल निगमले पम्पहरूलाई पर्याप्त इन्धन उपलब्ध गराएको बताए पनि पूर्वी नेपालमा अझै पेट्रोलियम पदार्थको अभाव हटेको छैन । अझै कृत्रिम अभाव कायमै रहेकाले बजारमा पेट्रोलियम पदार्थको अभाव हुँदा आइतबार पनि उपभोक्ताले इन्धन भर्न सास्ती पाउने गरेका छन् ।

ट्यांकर व्यवसायीहरूसँग सम्झौता भए पनि बिहीबार साँझ र शुक्रबार दिनभर २० लाख लिटर डिजेल र १० लाख लिटर पेट्रोल निगमको विराटनगरस्थित डिपोबाट कोसी र सगरमाथा अञ्चलका डिलरहरूलाई उपलब्ध गराएको निगमको क्षेत्रीय डिपो विराटनगरले जनाएको थियो । तर, आफूले तेल नपाएको भन्दै कोसी र सगरमाथाका पम्पहरू शनिबार र आइतबार प्रायः बन्द थिए ।

डिपो प्रमुख दिनेश यादवले इन्धन लगेर पनि वितरण नगरेको गुनासो आएपछि आइतबार निगम कार्यालयवरिपरिका पम्पहरूलाई टेलिफोन गरी इन्धन वितरण गर्न निर्देशन दिएका थिए । तर, न्यूनतम २० हजार लिटर इन्धन शुक्रबार अनलोड गरेका ती पम्पहरूले करिब दुई घन्टा मात्र बिक्री गरेर इन्धन सकिएको भन्दै पम्प बन्द गरेका थिए । आइतबार निगमको कञ्चनबारीस्थित डिपोबाट २ लाख लिटर डिजेल तथा १ लाख ५० हजार लिटर पेट्रोल वितरण भएको छ ।

पम्पहरू तस्करीमा संलग्न भएको आशंका

अहिले नेपालमा भन्दा भारतमा डिजेल १६ रुपैयाँ प्रतिलिटर महँगो भएकाले पम्पहरूले इन्धन भारततर्फ तस्करी गराइरहेको गुनासो बढेको छ । विगतमा मासिक ३ हजार लिटर इन्धन बेच्न नसक्ने पेट्रोल पम्पहरूले अहिले निगमबाट मासिक ५० हजार लिटरसम्म इन्धन खरिद गरिरहेको आरोप उपभोक्ताको छ ।

निगमले पर्याप्त इन्धन वितरण गरे पनि नेपाली उपभोक्ताले अभाव झेलिरहनुले पनि इन्धनको तस्करी व्यापक रहेको उपभोक्ताको गुनासो छ । सो विषयको छानबिनका लागि अनुगमन टोली खटिइसकेको मोरङका सिडिओ यज्ञराज कोइरालाले बताए । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।