तिवारी हत्याको झन्डै डेढ महिनापछि आठ अभियुक्त सार्वजनिक

मुख्य योजनाकार र सुटर फरार

काठमाडौं,फागुन १६ । युवा संघ रूपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न आठजनालाई प्रहरीले आइतबार भैरहवामा सार्वजनिक गरेको छ । प्रहरीले मुख्य योजनाकार ठहराएका मनोज पुन र सुटर भनिएका राजु फरार छन् ।

हत्यामा १२ जनाको संलग्नता रहेको आइतबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा रूपन्देहीका प्रहरी उपरीक्षक रवीन्द्र धानुकले जानकारी दिए । मुख्य सुटर राजुबारे भने प्रहरीले केही बताएको छैन । मुख्य योजनाकार पुन फरार रहेको धानुकले बताए ।

पक्राउ पर्नेमा देवदह–६ का वसन्तबहादुर चापागाईं, तिलोत्तमा–१५ का बुद्धिसागर यादव र राजेश यादव, तिलोत्तमा–८ का प्रयास भन्ने खेमानन्द भट्टराई, देवदह–८ का सागर थापा, धकधई–८ परासीका अंगद थारु र देवदह–९ का ऋषिश्वर कुमाल छन् । पक्राउ परेकाले हतियार ल्याउने, तिवारीबारे सूचना दिने, हत्याका लागि मोटरसाइकलमा लैजाने र भगाउने काम गरेको प्रहरीले जनाएको छ ।

हत्याको झन्डै डेढ महिनापछि प्रहरीले घटनाबारे जानकारी गराएको हो । हत्यको केही समयपछि नै देवदह–६ रूपन्देहीका २९ वर्षीय पुनले प्रहरी र स्थानीयलाई फोन गरी जिम्मेवारी लिएका थिए । तिवारीको रूपन्देहीको देवदह नगरपालिकाको खैरेनीमा गत ४ पुसमा हत्या भएको थियो ।

पुनसहित अन्य पाँचजना फरार भएको प्रहरीको भनाइ छ । प्रहरी उपरीक्षक धानुकले मनोजको निर्देशनमा राजु भनिने व्यक्तिले गोली हानेको बताए । हत्यामा सघाउने सिद्धार्थनगर नगरपालिका–१३ का विकास भनिने सोमबहादुर आले, गढिमाई नगरपालिका–१ का श्याम गुरुङ र हतियार तथा गोली दिने देवदह–३ सेमरानाका बाबु भनिने तुलबहादुर सिंजाली फरार छन् ।

तिवारीले पार्टी तथा संगठनको कामसँगै इँटा व्यवसाय गर्दै आएका थिए । व्याक्तिगत रिसइबीले उनको हत्या भएको प्रहरीको भनाइ छ ।

यसरी भयो हत्या

प्रहरीका अनुसार बुद्धिसागर यादवले मनोज बुढा मगरको निर्देशनमा सागर थापाले ल्याएको बा. ५१प ८०७३ नम्बरको मोटरसाइकल आफ्नो घरमा लुकाएका थिए । घटना हुँदाको दिन आफ्नो भाइ राजेश यादवमार्फत सो मोटरसाइकल पठाइदिएका थिए ।

मोटरसाइकल रोहणी पुलमा लगी सागर थापाको जिम्मा लगाएको प्रहरीले बताएको छ । पक्राउ परेका खेमानन्द भट्टराईले सुटर राजुलाई आफ्नो लु.२८प २११९ नम्बरको मोटरसाइकलमा राखी रोहणी पुलसम्म पुर्‍याएका थिए । घटनापश्चात् राजु र सागर थापालाई सोही मोटरसाइकलमा रोहणी पुलबाट मणिग्रामसम्म पुर्‍याएको प्रहरीले जनाएको छ ।

सागरले राजुलाई मोटरसाइकलको पछाडि राखी दुर्गा तिवारीको पिछा गरेका थिए । मोटरसाइकल चलाउँदै गरेका तिवारीलाई राजुले गोली प्रहार गरेका थिए । त्यसपछि सागरले चलाएकै मोटरसाइकलमा सेमराना हुँदै रोहणी पुल पुगेका थिए । मोटरसाइकल त्यहीँ छाडी खेमानन्द भट्टराईको लु २८प २११९ नम्बरको अर्को मोटरसाइकलमा मणिग्राम पुगी त्यही दिन पाल्पा गएका थिए । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित गरिएको छ ।