निर्धारित समयमै कर्मचारी युनियनको महाधिवेशन सम्पन्न गर्न मागः मिति सार्न खोजे विरोध गर्ने

असन्तुष्ट पक्षको भोली छुट्टै भेला गर्ने तयारी

काठमाडौं,फागुन १५ । नेपाली कांग्रेस निकटको निजामती कर्मचारी युनियन संघको सातौ महाधिवेशन निर्धारित समयमै सम्पन्न गरिनुपर्ने भन्दै युनियनमा आवद्ध केहि नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन । उनीहरुले युनियनको वर्तमान नेतृत्व महाधिवेशन सार्ने चलखेलमा लागेको भन्दै निर्धारित समयमै गरिनुपर्नेमा पार्टी नेतृत्व समक्ष माग गरेका हुन ।

नेपाल निजामती कर्मचारी युनियन (सघं)को सातौ महाधिवेशन लामो समयदेखि हुन नसकेको र नेतृत्व पंक्तिका कारण पटक पटक मिति सार्ने काम गरिएको आरोप लगाउदै नेतृत्व प्रति असनतुष्ट समूहले निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने खालको वातावरण निर्माण गर्नका लागि पार्टी नेतृत्वसँग छलफल गरेको जनाएका छन ।

नेपाल कर्मचारी युनियन (संघ)का पुर्व वरिष्ठ उपाध्यक्ष तथा वर्तमान संघका सदस्य गोपाल पोख्रेलको नेतृत्वमा आईतबार पार्टी सभापति देउवा समक्ष गुनोसो लिएर भेट्न पुगेका नेताहरुले निर्धारित मितिमै महाधिवेशन गराउनु पर्ने माग राख्दै मिति सार्ने कुराको आफुहरु विपक्षमा रहने र त्यसको खुलेर विरोध गर्ने बताए छन ।

हरपल नेपालसँग कुरा गर्दै नेता गोपाल पोख्रेलले भने–‘अहिले सम्म करिब ६५ भन्दा बढि जिल्लाहरुको सम्मेलन सकिसकेको छ । यसअघि नै संघको सातौ महाधिवेशन फागुनमा गर्ने निर्णय भएको थियो र निर्धारित समयमा महाधिवेशन गर्नका लागि हामीले कुनै पनि प्रकारको जटिलत देखेका छैनौ । तर नेतृत्वमा रहेका केही साथीहरु भने यो वा त्यो वाहनामा महाधिवेशन सार्ने तरखरमा जुटेको हामीले महसूस गरेका छौ । हामी तोकिएको समयमै महाधिवेशन गरिनुपर्दछ भन्नेमा छौ । सार्ने चलखेल गरिएमा त्यसको विरोध गछौ ।’

उनले पार्टी सभापतिसँगको भेटमा महाधिवेशन समयमै सम्पन्न गर्नुपर्ने माग राखेको र त्यसमा सभापति समेत सकारात्म देखिएको बताए । उनले यसअघि पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल लगाएत अन्य नेताहरु समक्ष पनि यो विषयमा छलफल गरेको जनाए ।

कर्मचारी युनियनको महाधिवेशन आगामी फागुन २४ गते चितवनमा सम्पन्न गर्ने कुरा संघले यसअघिनै सार्वजनिक गरेको थियो । उक्त कर्मचारी युनियनको महाधिवेशन विविध कारणले यस अघि दुई पटक सारीएको छ ।

संघमा आवद्ध एक नेताले  भने–‘संघले यसअघि २०७२ फागुनमा महाधिवेशनको लागि मिति ठोस गरेको थियो, त्यतिबेला सम्पन्न गर्न नसकेपछि गत मंसिरमा गर्ने निर्णय गरिएको थियो । त्यसबेला पनि संघको आन्तरिक समस्याकै कारणले महाधिवेशन सम्पन्न हुन सकेन र तेश्रो पटकको लागि आउँदो फागुनमा सम्पन्न गर्ने भनिएको हो । युनियन संघको नेतृत्वपंक्ति अहिले पनि निर्धारण भएको मितिमा महाधिवेशन गर्नमा आलटाल गर्दैछ, उनीहरुलाई महाधिवेशन गरेमा आफ्नो नेतृत्व गुम्ने कुराको डरले सताएको देखिन्छ । हामी कुनैपनि हालतमा तोकिएकै समयमा महाधिवेशन गराउन पार्टी नेतृत्व समक्ष माग गर्दछौ ।’

भावि अध्यक्षमा जीतको नजिक पोख्रेल

नेता पोख्रेल आगामी महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार समेत हुन । उनको समूहका नेताहरुले बताए अनुसार उनी अहिलेको अवस्थामा महाधिवेशन गरिएमा बहुमतमा पर्ने देखिन्छन । नेताहरुमा अनुसार अहिले पोख्रेको पक्षमा ७० प्रतिशत केन्द्रिय सदस्यहरु रहेका छन ।

उक्त कर्मचारी संघका वर्तमान अध्यक्ष सुवोध देवकोटा पनि कमजोर अवस्थामा भने छैनन, अहिले संघमा ७५ जनाको केन्द्रीय समितिमा उनी पनि बलीयो रुपमा रहेका छन । तर महाधिवेशनमा भने फरक परिणाम आउने नेताहरुको दावी रहेको छ ।

एक नेताले भने–‘सुवोध जी, हाम्रो नेता हो तर उहाँले आफ्नो नेतृत्वलाई मात्र चाहना गर्नु हुन्छ, लोकतान्त्रीक संस्कारमा अरुको नेतृत्वको पनि सम्मान गरिनु पर्दछ । उहाँलाई हामीले लामो समयदेखि साथ दिएका छौ, तर उहाँ फेरी पनि महाधिवेशन सार्ने योजनामा लागेको देखियो । हामी जुकसुकै हालतमा निर्धारित समयमै निर्वाचन हुनुपर्छ भन्ने मान्यता राख्छौ । कार्यकर्ताहरुको मागलाई उहाँले बुझ्ने कि नबुझ्ने ?’

आज आकस्मीक उपत्ययका स्तरको बैठकः मिति सार्ने प्रस्ताव

नेपाल निजामति कर्मचारी युनियन संघले आफ्नो निर्धारित सातौं महाधिवेशनको मिति नजिकिदै गर्दै आज काठमाडौमा आकस्मीक उपत्ययका स्तरको बैठक बोलाएको नेता पोख्रेलले बताए ।

उनले उक्त बैठकमा संघका अध्यक्षले महाधिवेशनको मिति सानुपर्ने आसयको धारणा राखेको भन्दै त्यसप्रति आफ्नो असहमति रहेको बताए ।
उनले भने– ‘मिति सार्नुपर्ने कुनै आवश्यकता हामीले देखेका छैनौ, हामी त्यो कार्यको विपक्षमा रहेर विरोध गछौ ।’

असन्तुष्ट पक्षले भोली छुट्टै भेला गर्ने

संघका अध्यक्षले आइतबारको बैठकमा महाधिवेशनको मिति सार्ने विषय अघिसारेको भन्दै असन्तुष्ट भएका नेताहरुले भोली काठमाडौंमा आफ्नो छुट्टै भेला गर्ने बताएका छन । उनीहरुले नेता पोख्रेलको नेतृत्वमा भोली बैठक गर्न लागेको बताएका छन ।