त्रिविका क्याम्पसमा तनाव : कार्यतालिका प्रभावित, त्रिवि कीर्तिपुरमा निर्वाचन स्थगित

कुन क्याम्पसमा के भयो ? सम्पूर्ण जानकारी सहित

काठमाडौं,फागुन १५ । त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचनको कार्यतालिका प्रभावित भएको छ । ठूला संगठनबाटै क्याम्पसहरूमा आगजनी, तालाबन्दीजस्ता गतिविधि भएपछि शनिबार अधिकांश क्याम्पसमा उम्मेदवार मनोनयन रोकिएको छ ।

शनिबारै बसेको त्रिवि पदाधिकारी र विद्यार्थी संगठनका प्रतिनिधिको बैठकले निर्वाचन भने नरोक्ने निर्णय गरेको छ । त्रिविका शिक्षाध्यक्ष तथा स्ववियु निर्वाचन केन्द्रीय कमिटी संयोजक सुधा त्रिपाठीले १८ फागुनमै मतदान हुने गरी अरू तालिका मिलाएर चुनाव गर्न बैठकमा सहमति भएको जानकारी दिइन् ।

१८ फागुनमा मतदान हुने गरी अरू कार्यतालिका मिलाएर काम गर्न क्याम्पस प्रमुखहरूलाई अधिकार दिइएको उनले जानकारी दिइन् । शनिबार स्थागित मनोनयन दर्ताको काम आइतबार सात बजेसम्म तय गरिएको छ । यस्तै सोमबार अन्तिम नामावली प्रकाशन गरिने भएको छ । त्रिविले विभिन्न क्याम्पसमा लगाएको ताला पनि फुटाउने निर्णय गरेको छ ।

त्रिवि केन्द्रीय क्याम्पसमा निर्वाचन रोकियो

त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा भने निर्वाचन कार्यक्रम स्थगित गरिएको छ । निर्वाचन अधिकृत प्रा,डा, लालुप्रसाद पौडेलले शनिबार विज्ञप्ति जारी गरी निर्वाचन स्थगित गरिएको जनाएका छन् । असहज परिस्थितिकाकारण निर्वाचन रोक्नु परेको विज्ञप्तिमा जनाइएको छ । केन्द्रीय क्याम्पसमा विभिन्न विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् ।

एक–अर्कामाथि आरोप

शनिबारको मनोनयन कार्यक्रममा अधिकांश ठाउँमा नेविसंघले अवरोध सिर्जना गरेको हो । कतिपय विद्यार्थी संगठनले आफूले नजित्ने सम्भावना देखेपछि विवाद निकालेर तालाबन्दीसमेत गरेको पाइएको छ ।तर, तीन ठूला संगठनले तालाबन्दी, आगजनी र अवरोधका घटना हुनुमा एक–अर्कालाई आरोप लगाएका छन् । अनेरास्ववियु अध्यक्ष नवीना लामाले नेविसंघ, अखिल क्रान्तिकारीलगायतले चुनाव बिथोल्ने गतिविधि गरेको बताइन् । नेविसंघले पेसेबर गुन्डाहरूको प्रयोग गरी विद्यार्थीलाई आतंकित पार्ने, विपक्षी संगठनको ब्यानर च्यात्ने, तोडफोड गर्ने, ढुंगामुढा गर्ने र धम्क्याउने गरेको लामाको आरोप छ ।

नेविसंघका अध्यक्ष नैनसिंह महरले नेविसंघ १८ फागुनमै मतदान हुने गरी चुनावी प्रक्रियाका लागि तयार रहेको बताए । ‘एकाधबाहेक नेविसंघका कारण उम्मेदवारी मनोनयन रोकिएको छैन,’ उनले भने । अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले मनोनयन प्रभावित पार्न भएका गतिविधिप्रति आपत्ति जनाएका छन् । ‘मनोनयनपत्र दाखिला गर्ने दिन निर्वाचन प्रक्रिया अवरुद्ध गर्ने मनसायले अस्वाभाविक गतिविधि गर्नु आपत्तिजनक छ,’ न्यौपानेले भने, ‘अधिकांश क्याम्पसहरूमा गरिएको तालाबन्दीको घटनाप्रति हाम्रो गम्भीर आपत्ति छ ।’क्रान्तिकारीले विज्ञप्ति जारी गरी निर्वाचनमा देखिएका सबै व्यवधान तत्काल हटाई निर्धारित मितिमै मतदान सम्पन्न गर्न त्रिवि पदाधिकारीसँग माग गरेको छ ।

कुन क्याम्पसमा के भयो ?      – त्रिवि केन्द्रीय क्याम्पस

त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा तालाबन्दी गरिएको छ । अखिल क्रान्तिकारी निकटले केन्द्रीय क्याम्पसमा एकलौटी हस्तक्षेप गरेर मतदाता नामावली सार्वजनिक गरेको भन्दै अन्य विद्यार्थी संघ–संगठनले तालाबन्दी गरेका हुन् । त्यस्तै, घन्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा एक साताअघि लागेको ताला अझै पनि खुल्न सकेको छैन ।

रत्नराज्यलक्ष्मी क्याम्पस

रत्नराज्यलक्ष्मी क्याम्पसमा पनि विभिन्न संगठनले शनिबार फेरि तालाबन्दी गरेका छन् । नेविसंघलगायतका संगठनहरूले विभिन्न माग राख्दै तालाबन्दी गरेका हुन् । सो क्याम्पसमा अनेरास्ववियु, अखिल क्रान्तिकारीले अध्यक्षको उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । त्यस्तै नेक्राविसंघले अध्यक्ष, सचिव र कोषाध्यक्षमा उम्मेदवारी दर्ता गरेको छ ।

शंकरदेव क्याम्पस

शंकरदेव क्याम्पसमा फर्जी विद्यार्थी भर्ना गरेको विरोधमा अखिल क्रान्तिकारी वैद्य, अखिल क्रान्तिकारी विप्लवलगायतले तालाबन्दी लगाएका छन् ।

सरस्वती बहुमुखी क्याम्पस

सोह्रखुट्टेस्थित सरस्वती बहुमुखी क्याम्पसमा बिबिए तेस्रो वर्ष, बिबिएस चौथो वर्ष र मास्टर्स दोस्रो वर्षकविद्यार्थीलेतालाबन्दी गरेका हुन् । बिबिएमका विद्यार्थीले आफ्नो नाम मतदाता सूचीमा छुटाएको विरोधमा पनि तालाबन्दी गरेका छन् ।

पशुपति बहुमुखी क्याम्पस

चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा नेविसंघ, नयाँ शक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी वैद्य, अखिल क्रान्तिकारी विप्लवलगायतका संगठनले तालाबन्दी गरेका छन् ।

पब्लिक युथ क्याम्पस

पब्लिक युथ क्याम्पस पकनाजोलमा विद्यार्थी संगठनले मतदाता नामावलीमा त्रुटि रहेको र बिबिएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीले स्ववियुमा निर्वाचित पधादिकारीको म्याद २ वर्षमा नै हुनुपर्ने माग राख्दै तालाबन्दी गरेका छन् ।

थापाथली इन्जिनियरिङ

थापाथली इन्जिनियरिङ क्याम्पसमा नेविसंघ र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले तालाबन्दी गरेका छन् । सो क्याम्पसमा अखिल क्रान्तिकारी र नेक्राविसंघ दुई संगठनले अध्यक्ष र सचिव पदको उम्मेदवार मनोनयन दर्ता गरेका छन् । थापाथली ई क्रान्तिकारी र नेक्राविसंघले अध्यक्ष र सचिव पदको उम्मेदवार मनोनयन दर्ता गरेका छन् ।

महेन्द्ररत्न क्याम्पस

ताहाचलस्थित महेन्द्ररत्न क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारी विप्लवले तालाबन्दी गरेका छन् ।

विश्वभाषा क्याम्पस

विश्वभाषा क्याम्पसमा वैद्य र विप्लवनिकटका अखिल क्रान्तिकारीले ताला लगाएका छन् ।
पुल्चोक इन्जिनियरिङ
पुल्चोक इन्जिनियरिङ क्याम्पसमा विप्लव र वैद्यनिकट अखिल क्रान्तिकारीले ताला लगाएका छन् ।
पद्मकन्या क्याम्पस
बागबजारस्थित पद्मकन्या क्याम्पसमा अखिल क्रान्तिकारी, नयाँ शक्ति विद्यार्थी युनियनलगायतले तालाबन्दी गरेका छन् ।
यी क्याम्पसमा भयो उम्मेदवारी मनोनयन
त्रिविको कार्यतालिकाअनुसार सानोठिमी शिक्षा क्याम्पस, भक्तपुर क्याम्पसमा मनोनयन दर्ता भएको छ । थापाथली इन्जिनियरिङ क्याम्पसमा पनि मनोनयन तर्दा हुँदाहुँदै तालाबन्दी भएको हो । रत्नराज्यलक्ष्मी क्याम्पसमा केही संगठनले अझकल्टो मनोनयन दर्ता गराएका छन् । अनेरास्ववियु र अखिल क्रान्तिकारीले अध्यक्षको मनोनयन दर्ता गराएका छन् । नेक्राविसंघले अध्यक्ष, सचिव र कोषाध्यक्षको मनोनयन दर्ता
गराएको छ ।

त्यस्तै, महाराजगन्जस्थित नर्सिङ क्याम्पसमा पनि उम्मेदवारी मनोनयन दर्ता भएको छ । जसमा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी प्रचण्डलगायतका संगठनले मनोनयन दर्ता गरेका छन् । राजधानीका जनप्रशासन, महाराजगन्ज मेडिकल, कोटेश्वर बहुमुखीलगायतका क्याम्पसहरूमा मनोनयन दर्ता सम्पन्न भएको छ ।

बानेश्वर क्याम्पसमा थुनिए क्याम्पस प्रमुख

बानेश्वर क्याम्पसमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले आफ्नो मताधिकार सुनिश्चित हुनुपर्ने माग राख्दै क्याम्पस प्रमुख, निर्वाचन कमिटीलगायतको बैठक बसिरहेको समयमा तालाबन्दी गरे । ०६५ सालको निर्वाचन कक्षा ११ र १२ का विद्यार्थीलाई मतदान गर्न दिइएको, तर अहिलेको चुनावमा मताधिकारबाट वञ्चित गराएको भन्दै आक्रोशित विद्यार्थीले बैठककोठामै उनीहरूलाई थुनेका हुन् । विद्यार्थीले उनीहरूलाई चार घन्टापछि मुक्त गरेका थिए ।

क्याम्पस प्रशासनले नेविसंघको मिलेमतोमा ११ र १२ का विद्यार्थीलाई मतदान गर्नबाट वञ्चित गराएको अखिल क्रान्तिकारी र अनेरास्ववियुले आरोप लगाएको छ । हाल अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष रहेकी नवीना लामा विगतमा सो क्याम्पसको स्ववियु अध्यक्षमा निर्वाचित भएकी थिइन् र अहिले अनेरास्ववियुले हार्ने देखेपछि उसले यो बखेडा निकालेको नेविसंघको आरोप छ ।

त्रिविका शिक्षाध्यक्ष प्रा, डा,सुधा त्रिपाठीले कक्षा ११ र १२ का विद्यार्थी त्रिविका मतदाता हुन नसक्ने बताइन् । त्रिविको कार्यक्रममा नपर्ने विद्यार्थी मतदाता नहुने त्रिपाठीको भनाइ छ ।

आरआर क्याम्पसमा आगजनी

राजधानीको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा शनिबार साँझ आगजनी गरिएको छ । आरआर क्याम्पसको शौचालयनजिकै रहेको स्टोर रुममा आगजनी भएको हो । आगजनीका कारण क्याम्पसका पुराना कागजपत्र र पुराना फर्निचर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । अनेरास्ववियु र नेविसंघबीच झडप भएको केहीबेरमा आगजनी भएको थियो । आगजनी कसले र किन गरेको भन्ने खुलेको छैन ।

आगलागीबाट मानवीय तथा ठूलो भौतिक क्षति नभएको प्रहरीको भनाइ छ । प्रहरीको सहयोगमा करिब १५ मिनेटमा आगलागी नियन्त्रणमा लिइएको थियो । क्याम्पस हाताभित्र विद्यार्थी परिचयपत्र भएकालाई मात्र प्रवेश गराउने सहमति भएको थियो । तर, क्याम्पस प्रशासनले त्यसलाई बेवास्ता गरेको आरआर नेविसंघका विद्यार्थी नेता उत्तम साउदले आरोप लगाएका छन् ।

क्याम्पसहरूमा स्ववियुको चुनाव हुन नदिने षड्यन्त्र भएपछि त्यस्ता विद्यार्थीलाई लखेट्दा झडपको अवस्था सिर्जना भएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले बताए ।झडपमा परी नेविसंघका विद्यार्थी नेता ऋषि पोखरेल, सुरेश सुवेदी, महेश गौतम, उत्तम साउद घाइते भएको नेविसंघका नेता दिनेश थपलियाले जानकारी दिए ।

गम्भीर घाइते भएका सूर्य सुवेदीको न्युरो अस्पताल तथा अन्य घाइतेहरूको बागबजारस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ । झडपमा विद्यार्थी दिनेश शर्माको मोटरसाइकल तोडफोड भएको छ । यो समाचार आजको नयाँ पत्रिकामा दैनिकमा प्रकाशित छ ।