स्ववियु चुनावका लागि राजधानीका दर्जनबढि क्याम्पसमा सुरक्षा व्यवस्था

कतै तालाबन्दी कतै विरोध

काठमाडौं,फागुन १४ । त्रिभुवन विश्वविद्यालय अन्तरगत उपत्यकामा सञ्चालित विभिन्न क्याम्पसको प्राङ्गण, परिसर तथा भित्ता रंगीचङ्गी तुल, ब्यानर र पर्चा पम्पलेटले छपक्क ढाकिएका छन्। विद्यार्थी चुनावी प्रचारप्रसार गर्न ब्यस्त देखिन्छन्।

आफू पढ्ने कक्षा कोठा समेत नचिन्ने कतिपय विद्यार्थी समेत क्याम्पस परिसरमा भेटिन थालेका छन्। यही फागुन १८ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का लागि विभिन्न विद्यार्थी संगठनमा आवद्ध विद्यार्थी चुनाव प्रसारप्रसारमा लागेका हुन्।

फागुन १४ गते सम्पन्न गर्ने भनिएको स्ववियु निर्वाचन फागुन १८ गतेलाई सरेपछि निर्वाचन झन् भड्किलो र खर्चिलो भएको छ। विद्यार्थी संगठनहरुले नै बनाएको स्ववियु निर्वाचन आचरसंहिता उल्ङ्घनका घटना पनि त्यतिकै बढेका छन्।
एक विद्यार्थी संगठनले आचरसंहिता उल्ङ्घन गरेको अर्को संगठनले देखिनसहने गरेका कारण क्याम्पस परिसरमा बारम्वार विद्यार्थीबीच वादविवाद र झगडाका घटना सामान्य जस्तै भएका छन्।

त्रिवि स्ववियु निर्वाचन समितिद्धारा जारी निर्वाचन तालिका अनुसार शनिबार प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन दर्ता विहान १० बजेदेखि ३ बजेसम्मको लागि तोकिएको थियो। शनिबार क्याम्पसहरु बन्द भए पनि मनोनयन दर्ता जारी राखिएको समितिले जनाएको छ।

मनोनयन दर्तासँगै काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस, त्रिचन्द्र र अमृत साइन्स कलेज ९अस्कल०मा विद्यार्थीहरु बीच दोहोरो झडपका घटना भएका छन्। महानगरीय प्रहरीले स्ववियु निर्वाचनका लागि सुरक्षा ब्यवस्था कडा पारे पनि विवादका घटनाहरु भने नियन्त्रणमा आउन सकेको छैन्न।

परिसरका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले सबै क्याम्पसमा सुरक्षा ब्यवस्था कडा पार्नुका साथै सुरक्षाकर्मी थपिएको जानकारी दिनुभयो। विद्यार्थीबीच सामान्य बाद विवाद भए पनि निर्वाचनलाई असर पुग्ने किसिमका झडपको अवस्था कतै नभएको स्पष्ट पारे।

काठमाडौं उपत्यकामा रहेका करीव ६० वटा क्याम्पसमा १८ गते एकैसाथ स्ववियु निर्वाचन हुदै छ। स्ववियु निर्वाचनका क्रममा हुन सक्ने सम्भावित घटना नियन्त्रण गर्न क्याम्पसक्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

स्ववियु निर्वाचन केन्द्रिय अनुमगन तथा समन्वय समितिका अनुसार, आइतवार विहान आठवजेदेखि १० वजेसम्म उम्मेदवारको नामावलीमाथि दावी विरोध गर्ने र दिउँसो १२ वजे देखि तीनवजेसम्म उम्मेदवारी फिर्ता लिने र पाँच वजे अन्तिम नामावली प्रकाशित गरिने छ।

त्यस्तैं, १६ र १७ गते लाई चूनाव प्रचारप्रसार अवधिको रुपमा छुट्याइएको छ । १७ गते साँझबाट आचर संहिता जारी गरी निर्वाचनक्षेत्रमा चुनाव प्रसारप्रसार लगायतका कुनै किसिमका गतिविधि गर्न नपाउने ब्यवस्था गरिएको छ ।
स्ववियु पदाधिकारी चयनका लागि १८ गते विहानबाट मतदान शुरु हुने छ । यसअघि समितिले ११ गते मतदाता सूची, मतदातासूचीमाथि दावी विरोध, १२ गते अन्तिम नामावली प्रकाशित, १२ गते दिउँसोबाट उम्मेदवारका लागि मनोनयन पत्र वितरण,गरेको थियो ।

प्रहरीले निर्वाचन अवधिका लागि केन्द्रिय क्याम्पस कीर्तिपुर, ठमेलस्थित सरस्वती क्याम्स, लैनचौरस्थित अमृत साइन्स क्याम्पस, त्रिचन्द्र क्याम्पस, पद्म कन्या क्याम्पस, आर आर क्याम्पस, महेन्द्ररत्न क्याम्पस ताहचल, शंकरदेव, मिनभवन र पशुपति बहुमुखी क्याम्सलाई विशेष सुरक्षा निगरानीमा राखेको छ ।

करीव आठवर्षपछि हुन लागेको स्ववियु निर्वाचन शान्त र सुरक्षित वातावरणमा सम्पन्न गर्न काठमाडौं परिसरका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीको कमाण्डमा सुरक्षाकर्मीहरु परिचालन गरिने परिसरले जनाएको छ । देवबहादुर कुँवर÷गोरखापत्र