यातायात व्यवसायी र विभागबीच पुराना गाडी हटाउने विषयमा फरक मत

बुधबारबाट २० वर्ष पुराना गाडी चल्न नदिने विभागको दाबी

काठमाडौं,फागुन १४ । यातायात व्यवस्था विभागले आउदो बुधबारदेखि २० नाघेका सार्वजनिक सवारी साधनलाई सडकमा चल्न निषेध गर्ने तयारी गरेसँगै यातायात व्यावसायीहरुले भने त्यसको कार्यान्वय हुन नसक्ने बताइरहेका छन ।

यातायात व्यवसायीले विभागको त्यस्तो निर्णय मान्य नहुने भन्दै पुराना सवारी साधनहरु सडकबाट हटाउन अटेर गरिरहेका छन । विभागको निर्णय कार्यान्वयनमा यातायात व्यवसायी र सरकारबीच सहमति जुट्न सकेको छैन । यसले विभागको निर्णय कार्यान्वयनमा समस्या खडा गर्ने देखिन्छ ।

अहिले २० वर्ष नाघेका कालो नम्बर प्लेटका सार्वजनिक सवारी हटाउन लागेको विभागले जनाएको छ । विभागले अटेर गर्ने सवारी साधन सडकमा गुडे ट्राफिक प्रहरी र विभागले कानुनअनुसार नियन्त्रणमा लिने र स्क्रयाप गरिनेछ बताएको छ । विभागले कवाडी गर्दा लागेको शुल्क पनि गाडी धनिबाटै उठाउने बताएको छ ।

तर यातायात व्यवसायीहरु भने विभागको उक्त निर्णय प्रति सहमत हुन सकेका देखिन्नन । उनीहरुले ती साधनहरुको विषयमा सरकारले सोच्नुपर्ने भन्दै निर्णय नमान्ने बताएका छन ।

विभागले तत्काल निजी र सरकारी सवारी साधन भने २० वर्ष पुगकै आधारमा नहटाइने जनाएको छ । २० वर्ष नै पुगेपनि प्रदुषण जाँच पास भएका निजी सवारीलाई तत्काल कवाडीमा लैजान बाध्य नपारिने विभागले बताएको छ ।

मंगलबारदेखि २० बर्ष नाघेका गाडीको विभागले कर नबुझ्ने

आउदो मंगलबारदेखि २० वर्ष नाघेका सवारी साधनहरुको यातायात व्यवस्था विभागले कर समेत नबुझ्ने बताएको छ ।यातायात विभागले ती सवारी साधनहरुलाई फागुन १७ गतेसम्मका लागि मात्रै रुट इजाजत दिइएको छ ।

विभागले गाडीहरुको प्राविधिक परीक्षण गरेर कारवाही गर्ने बताएको छ । उसले ती सवारीको नामसारी पनि रोक्ने र विक्री वितरणमा पनि प्रतिवन्ध लगाउने जनाएको छ ।

कति छन त्यस्ता सवारी साधन ?

सरकारले यातायात व्यवसायीहरुलाई दिएको २ वर्षे समयसीमा नाघ्न लाग्दा विभागले ती सवारी साधनलाई कार्वाही गर्ने तयारी गरेको हो । तर व्यावसायीहरुले पुराना सवारी सडकबाट हटाउन अटेर गरिरहेका छन् ।

विभागका अनुसार उपत्ययमा करिब ३१ सय सार्वजनिक सवारी साधनहरु तथा २४ सय बस, ट्रक तथा माइक्रो र ८ सय ट्याक्सी २० वर्ष नाघेक हुनसक्ने अनुमान गरेको छ । व्यवसायीले पुरानो नम्बर प्लेटमा भने नयाँ ट्याक्सी किनेर दर्ता गर्न सक्नेछन् ।

अहिलेसम्म उपत्यकाबाट १३ सय वटा पुराना ट्याक्सीहरु हटाइएको छ । विभागले अहिले नयाँ गाडी दर्ता गर्दा नै २० वर्षको आयु तोक्ने गरेको छ, पहिले यो व्यवस्था थिएन ।