स्ववियु निर्वाचनमा नयाँ शक्ति र समाजवादी फोरमका विद्यार्थीबीच तालमेल हुने

काठमाडौं,फागुन १४ । आसन्न स्ववियु चुनावमा नयाँ शक्ति पार्टी नेपाल र उपेनद्र यादव नेतृत्वको संघिय समाजवादी पार्टीका बिद्यार्थी संगठनहरुबीच तालमेल गर्ने सहमति भएको छ ।

शुक्रबार नयाँ शक्ति बिद्यार्थी युनियन र समाजबादी बिद्यार्थी फोरम नेपालका केन्द्रीय अध्यक्षले स्ववियु निर्वाचनमा देशैभरी दुई संगठनबीच तालमेल गर्ने जनाउदै संयुक्त बिज्ञप्ती सार्वजनिक गरेका छन् ।

उनीहरुद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ– ‘स्ववियुमा मौलाएको विकृती,विसंगति, कमिसन र भ्रष्टाचारले स्ववियुको गरिमालाई स्खलित बनाएको छ।’ उनीहरुद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ,‘यस्ताखाले विकृती र भ्रष्टाचारको दलदलबाट मुक्त गरि स्ववियुलाई साझा र विद्यार्थीको हकहितको पक्षमा उभ्याउन हामी दुई संगठनहरु नयाँ शक्ति विद्यार्थी युनियन र समाजवादी विद्यार्थी फोरम नेपालबीच आसन्न स्ववियु निर्वाचनमा संयुक्तरूपमा तालमेल र सहकार्य गर्दै जाने सहमति गरियो ।’

दुई पार्टीको एकताको विषयमा आन्तरिक छलफल बाक्लीदै गएको र पार्टी नेतृत्वहरुले समेत विभिन्न समयमा संयुक्त विज्ञप्ती निकालेर एकताको संन्देश दिएको सन्र्दभमा विद्यार्थी संगठनले पनि सँग सँगै जाने जनाउदै चुनावी तालमेल गरेका हुन ।