‘राजाआउ देश बचाउँ’को नारा लगाउँदै एमाले कांग्रेसका नेताहरुः ज्ञानेन्द्रलाई विरगंजमा भव्य स्वागत

केहि नेताले ज्ञानेन्द्रको खुट्टा ढोगेको खुलासा

काठमाडौं,फागुन १४ । पूर्वराजा ज्ञानेन्द्र शाह वीरगंज आउँदा उनका समर्थक र राजावादी संघसंगठनका कार्यकर्ताले राजनीतिक दलविरुद्ध चर्को नाराबाजी गरेका छन्।

महाशिवरात्रिमा मन्दिरमा पूजापाठ गर्न शुक्रबार अपरान्ह वीरगन्ज आएका पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा सहभागी उनका समर्थकले राजनीतिक दलका नेताविरुद्ध नाराबाजी गरेका हुन् ।

वीरगन्जको घण्टाघर चोकदेखि अलखीयामठ चोकसम्मको मुख्य सडकको दुवै तिर लाम लागेर पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा बसेकाले नेता चोर देश छोड, नेता सबै विदेशी दलाल हुन्, राजा ल्याऊ देश बचाऊ, राजा जनता एक हौँ, राजा कस्को जनताको, हाम्रा राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजा रानी जिन्दावाद, जस्ता नारा लगाए।

पूर्व ज्ञानेन्द्रको स्वागतमा सडकमा नेपाली कांग्रेस, नेकपा एमाले, मधेसी दलका जिल्ला स्तरका नेता र दलका कार्यकर्ता पनि हातमा पुष्पगुच्छा लिएर उपस्थित थिए। पूर्वराजाको स्वागतमा देखिएका केही नेताले पुर्वराजा ज्ञानेन्द्रको खुट्टामा पनि ढोगेका थिए।

स्वगातमा बसेका समर्थकलाई पुर्वराजा ज्ञानेन्द्रले चोक चोकमा रोकिएर हात हल्लाउदै अभिवादन पनि गरेका छन्। बाराको सिमराबाट बा ४ च ३८०७ नम्बरको गाडीमा सवार भइ शुक्रबार अपरान्ह साढे चार बजे वीरगन्जको अलखीया मठ मन्दिरमा आइपुगेका पूर्वराजा ज्ञानेन्द्रले करिब २० मिनेट पूजापाठ गरे ।

त्यसपछि उनी मुख्य सडकमा पैदल यात्रा गर्दै माइस्थान चोकमा रहेको गहवामाई मन्दिरमा पुगेका थिए। यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।