निर्वाचन आयोग चुनावको ब्यापक तयारीमाः चारैतिर चुनौती नै चुनौती

काठमाडौं,फागुन १४ । सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले निर्वाचनको तयारी व्यापक बनाउँदै लगेको छ । आगामी ३१ वैशाख २०७४ का लागि स्थानीय तहको निर्वाचन घोषणा भएसँगै आयोगले तयारीलाई तीव्र बनाएको हो ।

आयोगलाई यतिबेला तयारी सँगै चुनौतीहरू पनि प्रशस्तै देखा पर्न थालेका छन् । सरकारले ८२ दिनमा चुनाव गर्ने गरी मिति घोषणा गरेपछि निर्वाचन अयोगले १६ वैशाखदेखि ३१ वैशाख २०७४ सम्मको कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

योसँगै निर्वाचनका लागि मतपत्र छपाइ, कागज ढुवानी, कर्मचारी व्यवस्थापन र ब्यालेट बक्सको व्यवस्थापनबारे आयोगलाई समय व्यवस्थापन गर्दै अगाडि बढ्न चुनौती थपिएको छ । एकातिर नयाँ संरचनाअनुसार निर्वाचन गर्दा कति संख्यामा स्थानीय तह हुने भन्नेमा सरकार र निर्वाचन आयोग दुवै अन्योलमा छन् । यो नै निर्वाचनका लागि आयोगलाई पहिलो चुनौतीका रूपमा देखा परेको छ ।

सरकारले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन बुझे पनि त्यसलाई अध्ययन गर्न स्थानीय विकासमन्त्रीको संयोजकत्वमा छुट्टै कार्यदल बनाएर जिम्मा लाएको छ, तर सो कार्यदलले दिएको सुझावमा के कति स्थानीय तह थप गर्ने भन्नेमा दलहरू बीचमा नै कुरा मिल्न सकेको छैन । जबकि, कार्यदलको एक साताको समय पनि सकिनै लागेको छ ।

स्थानीय तहको संख्या र आयोगको प्रतिवेदन नै मान्न तयार नहुने मधेसकेन्द्रित दलका कारण तराई–मधेसमा स्थानीय तह थप्नुपर्ने निष्कर्षसहितको सुझाव तीन मन्त्री सम्मिलित कार्यदलले सरकारलाई दिएको थियो । सो विषयको टुंगो नलागेसम्म निर्वाचन बुथ कति राख्ने भन्नेमा आयोगले निर्णय लिन सक्ने अवस्था छैन । यो अर्को चुनौती आयोगसामु छ ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्मा भन्छन्, ‘स्थानीय तहको टुंगो जतिसक्दो छिटो लाग्नु नै हाम्रो लागि सबैभन्दा ठूलो चुनौती पार गर्नु हो, किनकि त्यसैका आधारमा निर्वाचन केन्द्र र बुथ निर्धारण गर्नु पर्ने बाध्यता छ ।’

उनका अनुसार निर्वाचन आयोगलाई मतपत्र छपाइ गर्नु अर्को चुनौती हो । कागज बाहिरबाट ल्याउनुपर्छ, छोटो समयमा बाहिरबाट कागज खरिद गरेर जनक शिक्षाबाट मतपत्र छपाइ गर्नु निकै चुनौतीपूर्ण काम छ । आयोगले शुक्रबार जनक शिक्षा पुगेर छपाइ मेसिन र कागजको निरीक्षण समेत गरेको छ ।

राजनीतिक दलहरूबीचको समन्वय, सहयोग र आपसी विश्वासको स्थिति यतिबेला आयोगलाई महत्वपूर्ण रहेको आयोगका आयुक्तहरूले बताएका छन् । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।