सरकारको निर्वाचन घोषणाबारे बैद्य माओवादीको तीन बुँदे धारणा सार्वजनिक

‘निर्वाचनबारे परिस्थितीको मूल्याङकन गर्दै ठोस निर्णय लिइने’

काठमाडौं,फाल्गुन १३ । सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेपछि त्यसको पक्ष र विपक्षमा दलहरु विभाजित भैरहेको सन्दर्भमा विगतमा दोस्रो संविधानसभाको चुनाव बहिष्कार गर्दै संसदीय राजनीतिबाट फरक कित्तामा रहेको नेकपा (क्रान्तिकारी माओवादी)ले आज घोषित निर्वाचनबारे आफ्नो तीन बुँदे धारणा सार्वजनिक गरेको छ ।

नेकपा (क्रान्तिकारी माओवादी) पार्टीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै सरकारले घोषणा गरेको सथानीय निकायको निर्वाचनबारे आफ्नो तीन बुँदे धारणा सार्वजनिक गरेको हो ।

उक्त प्रेस वक्तव्य भनिएको छ– “संंविधान संशोधन र हुने निर्वाचनद्वारा जनताका राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुको समाधान हुन सक्तैन । त्यसकानिम्ति नयाँ जनवादी राज्यसत्ताको स्थापना अनिवार्य रुपमा आवश्यक छ । अर्को क्रान्तिको आवश्यकता देखिएको छ ।”

अध्यक्ष किरणद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ–‘वर्तमान पश्चगामी राज्यसत्ता र संसदीय व्यवस्था अन्र्तगत गरिने संंविधान संशोधन र हुने निर्वाचनद्वारा जनताका राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुको समाधान हुन सक्तैन । नयाँ जनवादी राज्यसत्ताको स्थापना अनिवार्य रुपमा देखिएको छ । हाम्रो पार्टी त्यसकै लागि संघर्षमा रहेको छ । निर्वाचनबारे हाम्रो पार्टीको दृष्टिकोण तथा धारणा स्पष्ट रुपमा यहि रहेको छ ।’

विज्ञप्तीमा निर्वाचन हुने वा नहुने विषयमा संसदवादी दलहरुनै अन्यौलतामा रहेको उल्लेख गर्दै भनिएको छ–‘सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेपनि वर्तमान राज्यसत्ता र व्यवस्थाका पक्षधर राजनीतिक दलहरुका बिच पैदा हुँदै आएका अन्तर्विरोध तथा विवाद र अन्य विविध जतिलताका कारण सो निर्वाचन हुने नहुने अझै स्पष्ट भइनसकेको हाम्रो ठहर छ ।’

उक्त विज्ञप्तीमा बैद्यले संसदीय निर्वाचन बहिष्कार र उपयोग संबन्धी प्रश्न राजनीतिक कार्यनीतिको विषय भएको र निर्वाचनको विषयमा परिस्थितिको ठोस अध्ययन गरी उपयुक्त समयमा पार्टीको आधिकारिक निकायद्वारा ठोस निर्णय लिइने बताएका छन ।