आज पशुपतिका चारै ढोका खुुल्लाः निशुल्क दर्शको व्यवस्था

दर्शनार्थीहरुको भिडभाड

काठमाडौं,फगुन १३ । महाशिवरात्रिका दिनआज बिहान साढे ३ बजेदेखि पशुपतिनाथ मन्दिर दर्शनका लागि मन्दिरका चारै ढोका खुला गरिएको छ । बिहान साढे २ बजेदेखि भक्तजनहरू दर्शनका लागि लाइनमा बसेका छन् । दर्शनार्थीहरुको लाइन गौशासा चोकसम्म रहेको छ ।

तस्बिरः भानुभक्त ढकाल/संवादाता हरपल नेपाल

दर्शनका लागि आज बिहान साढे  ३ बजेदेखि पशुपतिका उत्तर, पश्चिम र दक्षिण ढोका खुला गरिएको थियो भने पशुपतिको पूर्व ढोका भने साढे ७ बजेपछि मात्र खुलेको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव तथा सूचना अधिकारी डा गोविन्द टन्डनले हरपल नेपालसँग भने –‘बिहानी समयमा २० देखि २५ मिनेटमा दर्शन गरी फर्कन सकिनेछ । दर्शनार्थीहरुलाई सहयोग गर्न स्वयम सेवक समेत परिचालन गरेका छौ । यस बर्ष दर्शन गर्नको लागि हामीले कुनै शुल्क नलिने निर्णय गरेका छौ ।’

उमाकुण्ड, मित्रपार्क क्षेत्रबाट प्रवेश गरेका भक्तजन उत्तर ढोका, जयवागेश्वरीबाट प्रवेश गरेका भक्तजन पश्चिम ढोका र विमानस्थल एवम् गौशाला क्षेत्रबाट प्रवेश गरेका भक्तजन दक्षिण ढोकाबाट मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था मिलाइएको उनले जानकारी गराएका छन । यस वर्ष कोषले सशुल्क दर्शन पासको व्यवस्था खारेज गरेको छ । गत वर्ष सशुल्क दर्शनका माध्यमबाट कोषले ३५ लाख सङ्कलन गरेको थियो ।

महाशिवरात्रिका अवसरमा शुक्रबार पशुपति क्षेत्रमा चार हजार नेपाल प्रहरी, २ हजार ५ सय सशस्त्र प्रहरी र ४ सय राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको छ ।

महाशिवरात्रिका अवसरमा पशुपति आउने नागाबाबा, साधुसन्त एवम् महात्माका लागि कोष र गुठी संस्थानले फागुन ११ गतेदेखि नै पशुपति क्षेत्र र थापाथलीस्थित कालमोचनघाटमा बस्ने–खाने व्यवस्था गरेका छन् । महाशिवरात्रिका अवसरमा शुक्रबार बिहानैदेखि देशभरका शिवालयमा पूजा एवम् दर्शनका लागि भक्तजनको भीड लागेको छ ।