‘महाकाली सन्धिमा ओलीको मौषमी राष्ट्रवाद उदाङ्गिएको छ’– नेता न्यौपाने

काठमाडौं,फागुन १२ । माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपानेले महाकाली सन्धिमा एमाले अध्यक्ष केपि ओलीको मौषमी राष्ट्रवाद उदाङ्गिएको बताएका छन ।

आज राजधानीको नेपाल कमर्स क्याम्पसमा अखिल क्रान्तिकारीले आयोजना गरेको स्ववियु उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता न्यौपानेले त्यस्तो बताएका हुन ।

युवा नेता न्यौपानेले ओलीको राष्ट्रवाद सत्ता गुमाउंदाको छट्पटी मात्र भएको भन्दै प्रश्न गरे–‘हिजो महाकाली सन्धिमा राष्ट्रघात हुंदा ओलीको राष्ट्रवाद कहाँ थियो ? के त्यही हो ओलीको राष्ट्रवाद ?’

उनले ओलीको राष्ट्रवाद सक्कली र टिकाउ नभएको भन्दै एमालेसँग राष्ट्रियताको विषयमा वास्तविक योजना नभएको दावी गरे। उक्त कार्यक्रममा युवा नेता जागृत रायमाझीले ओलीले हास्यब्यङग्य कलाकारहरुको सिको गर्न थालेको बताए ।

त्यसैगरी अखिल क्रान्तिकारीका उपाध्यक्ष रञ्जित तामाङले आगामी फागुन १८ गते हुने स्ववियु निर्वाचनका लागि राजेस मैनाली अध्यक्ष र भुपेन्द्र कट्टेल सचिव रहेको टिम घोषणा गरेका थिए।