उपत्यककामा तेलको अभावः ट्यांकर चालकहरु निगमको संशोधित विनियमावलीको विरोधमा

फागुन १५ देखि ढुवानी रोक्ने धम्की

काठमाडौं,फागुन ११ । पेट्रोलियम पदार्थ ढुवानी गर्ने करिब सात सय चालक ट्यांकर मालिक भएका छन्। तिनै चाकलले तेल चुहावट रोक्न नेपाल आयल निगमले संशोधन गरेको ‘पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३’ प्रति असहमति जनाएका छन् ।

ट्यांकर चालकले घुमाउरो पाराले तेल चोरे पनि कारबाही हुनुहुँदैन भन्ने माग अघि सारेका हुन्। शुक्रबार ढुवानी ठप्प पारेका चालकले माग सुनुवाइ नभए फागुन १५ देखि ढुवानी रोक्ने धम्की दिएका छन्। ट्यांकर चालकले अव्यावहारिक माघ तेस्र्याएर निगमलाई घुँडा टेकाउने दाउमा छन्। शुक्रबार ढुवानी नहुँदा उपत्यकाका उपभोक्ताले तेलका लागि लाम बस्नुपरेको छ।

संशोधित विनियमावलीमा पेट्रोलियम पदार्थको परिमाणमा ट्यांकरले लोड भएको भन्दा परिमाणको ०.२५ प्रतिशतभन्दा बढी फरक भए प्रचलित खुद्रा मूल्यको दुई गुणा मूल्य ढुवानीकर्ताबाट असुल गरी चालकलाई ढुवानी कार्यमा बन्देज लगाउन सकिने व्यवस्था छ । यो व्यवस्था कार्यान्वयन गर्न नदिने उनीहरूको योजना छ ।

पेट्रोलियम पदार्थ चुहावट नियन्त्रण गर्न निगमले कडाइ गरेपछि ट्यांकर चालकले तेल चोरे पनि कारबाही गर्न हुँदैन भन्ने माग अघि सारेको आयल निगमका एक अधिकारीले बताए। ‘चालकले बीच बाटोमा तेल बिक्री गरेर कमाउँदै आएका छन्,’ ती अधिकारीले भने, ‘चोरी नियन्त्रण गर्न निगमले गरेको विनियमावली संशोधनप्रति असहमति जनाउनु भनेको सधैं तेल चोर्न पाउँ भन्ने नै हो।’

निगमले अहिले ल्याएको विनियमावलीमा एक लिटर तेल कम भए दुई लिटरको मूल्य तिर्नुपर्छ भन्ने व्यवस्था छ। भारतको नाकाबन्दीका बेला पेट्रोलियम पदार्थ बीच बाटोबाटै कालोबजारीमा बिक्री भएपछि आगामी दिनमा यस्तो समस्या आए कारबाही गर्न निगमले यस्तो व्यवस्था गरेको हो। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।