विप्लव माओवादीको नाम नेपाल कम्युनिष्ट पार्टी बन्यो

बन्दसत्र अझै दुइ दिनसम्म चल्ने

रोल्पा,फाल्गुन ९ । विप्लव नेतृत्वको माओवादीले थवाङमा जारी ८ औं महाधिवेशनबाट पार्टीको नाम परिवर्तन गरेको छ । यसअघि नेकपा (माओवादी) नाम रहेकोमा महाधिवेशनबाट त्यसलाई परिवर्तन गर्दै नेपाल कम्युनिष्ट पार्टी राख्ने निर्णय गरेको हो ।

रोल्पाको थवाङस्थित शहिदस्मृति भवनमा ४ दिनदेखि चलेको बन्दसत्रमा व्यापक छलफलपछि आजको बैठकले पार्टीको नाम परिवर्तन गरेको त्यहाँबाट विप्लव संवद्ध पार्टीका नेताहरुले हरपल नेपालसँग बताएका छन । नेताहरुका अनुसार पार्टी महासचिव विप्लवले प्रस्तुत गरेको आफ्नो राजनैतिक प्रतिवेदन सहित पार्टीको नाम परिवर्तन गर्ने प्रस्तावलाई बैठके सर्वसम्मत रुपमा पारित गरिएको थियो ।

बन्दसत्रमा पार्टी महासचिव विप्लवद्धारा प्रस्तुत राजनीतिक प्रतिवेदन,दस्तावेज र विधानमाथि देखिएका प्रश्नहरुबारे नेताहरुले जवाफ समेत मागेका थिए । नेता कार्यकर्ताहरुको जिज्ञासा मेटाउदै महासचिव विप्लवले नेपालको वर्तमान परिस्थितीमा पुँजिवादभन्दा समाजवाद लोकप्रिय हुने धारणा राखेका थिए ।

बन्दसत्रबाट पार्टीको राजनैतिक प्रतिवेदन र संगठनको विधानका साथै एकिकृत जनक्रान्तिको कार्यदिशा र वैज्ञानिक समाजवादको राजनैतिक कार्यक्रम समेत आज पारित भएको छ ।

पार्टीको आन्तरिक संगठन निर्माणसम्बन्धी विषयमा छलफल हुनेक्रम अझै नसकिएको हुनाले रोल्पाको थवाङस्थित शहिदस्मृति भवनमा जारी बन्दसत्र अझै दुईदिनसम्म चल्ने बताइएको छ ।