राप्रपाले राजतन्त्रको पक्षमा प्रस्ताव लैजाने,पशुपति राणाको असन्तुष्टि

हिन्दू धर्मलाई आदर्शका रूपमा अङ्गीकार गर्ने

काठमाडौं,फागुन ३ । राष्ट्रिय प्रजातन्त्र पार्टीले यही फागुन ६ देखि काठमाडौंमा शुरू हुने एकता महाधिवेशनमा ‘संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र’ हुनुपर्ने राजनीतिक प्रस्ताव लैजाने भएको छ । गणतन्त्र मान्दै आएको पशुपति शमशेर नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको एकीकरण भएपछि हुन लागेको एकता महाधिवेशनमा यस्तो प्रस्ताव लैजान लागिएको हो ।

पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले राप्रपाको वैचारिक आधार संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र हुने बताए । सोमबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत प्रस्तावलाई अनुमोदन गरेको छ ।

पार्टी एकीकरणको समयमा दुई धु्रवमा विभक्त यी दुई दलले पार्टीको एकता महाधिवेशनले पारित गर्ने राजनीतिक प्रस्तावलाई मानेर जाने सहमति गरेका थिए । पार्टीले हिन्दू धर्मलाई पनि पार्टीको आदर्शका रूपमा अङ्गीकार गर्ने प्रस्ताव गरेको छ । राप्रपाले गणतन्त्र घोषणा हुँदा पनि त्यसको पक्षमा मत हालेको थियो भने तत्कालीन राप्रपा नेपालले भने त्यसको विपक्षमा मत दिएको थियो ।

पार्टीका पूर्व अध्यक्ष पशुपति शमशेर राणाले ठाउँ–ठाउँमा ‘राजतन्त्र’ भन्ने शब्द रहेकोमा असन्तुष्टि जनाउनुभएको जानकारी पनि प्राप्त भएको छ ।

‘शान्ति, प्रजातन्त्र र खुला बजारमुखी अर्थतन्त्र’ शीर्षकको प्रस्तावमा भनिएको छ, ‘‘आर्थिक समद्धिको मूल आधार नै खुलाबजारमुखी आर्थिक व्यवस्था हुन पुगेको छ, राप्रपा मुलुकको समग्र आर्थिक विकासको सन्दर्भमा खुला बजारमुखी आर्थिक व्यवस्थाप्रति प्रतिबद्ध रहने छ ।