प्रहरी महानिरीक्षक अर्याल सहित अन्य प्रहरी अधिकृतहरुलाई बिदाई

भन्छन-राष्ट्रसेवकका रुपमा जीवन बिताउछौ

काठमाडौँ, फागुन ३ । नेपाल प्रहरीमा तीस बर्ष सेवा अवधि पुरा गरी सेवानिबृत्त हुन लागेका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, प्रहरी अतिरिक्त महानिरीक्षकहरु तथा प्रहरी नायव महानिरीक्षकहरुलाई हिजो प्रहरी प्रधान कार्यालयमा आयोजित बिशेष समारोहबीच बिदाई गरिएको छ ।

उक्त विदाई समारोहमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती रोशी अर्याललाई समेत बिदाई गरिएको छ । उनीहरुलाई प्रहरी अतिरिक्त महानिरक्षक डा.दिनेशचन्द्र पोखरेलले फूलमाला लगाई बिदाई गरेका थिए ।

बिदाई समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक अर्यालले लामो व्यावसायिक यात्राबाट बिश्राम लिई सेवानिवृत्त भई सेवाबाट बिदा हुन लागेको यस क्षणमा सेवा अवधिभर सहयोग र साथ दिनुको साथै बिदाई कार्यक्रमको आयोजना गरी आफुलाई हार्दिकतापुर्वक सम्मान गरेकोमा नेपाल प्रहरी संगठनप्रति हार्दिक आभार प्रकट गरे ।

गौरवमय इतिहास बोकेको नेपाल प्रहरीमा तीन दशक लामो व्यावसायिक प्रहरी जीवन र करीब ४० महिना लामो संगठन प्रमुखको भूमिकामा रही सदैव एक कर्तव्यनिष्ठ राष्ट्रसेवकका रुपमा राज्य, नागरिक र संगठनप्रति समार्पित भएर सेवा गर्न सकेँ भन्ने विश्वास ब्यक्त गर्दै उनले जीवनको सार्थक एवम् अविष्मरणीय पलहरुको सँगालोको रुपमा जागिरे जीवन मानसपटलमा जीवन्त रहिरहने र सेवानिवृत भए पनि परिचय तथा भावना सङगठनबाट कहिल्यै टाढा नरहने बताए ।

नेपाल प्रहरीको स्थापनाकालदेखि हालसम्म संगठनले तय गरेको अनन्त यात्रामा पुर्वज र अग्रजहरुको सत्कर्मको स्मरण गर्दै उहाँहरुप्रति उच्च सम्मान प्रकट गरे। उनले आप्mनो कार्यकालमा भए गरेका विभिन्न कामहरुका बारेमा प्रकाश पार्दै आफ्नो कार्यकालमा गरिएको सकारात्मक परिर्वतनको अपेक्षा र अटल विश्वासलाई मूर्त रुप दिन विभिन्न बाधा अवरोधहरुका बाबजुद पनि सक्षम, निष्पक्ष र विवादरहित तवरबाट संगठनका सबै सदस्यलाई समान नजरले अभिभावकको भूमिका प्रदान गर्न भरमग्दुर प्रयत्न गरेको उल्लेख गरेका थिए ।

समारोहमा कृतज्ञता एवम् धन्यबाद ज्ञापन गर्ने क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेलले राष्ट्र, संगठन र आमनागरिकको सेवामा उनीहरुले पुर्याउएको अद्धितीय योगदान, त्याग र समर्पणले प्रहरी संगठनको बिस्तार र बिकासमा थप टेवा पुग्ने बिश्वास व्यक्त गरे ।

सेवानिबृत्त हुन लाग्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षकहरुमा राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, वीरेन्द्रबाबु श्रेष्ठ, रमेशशेखर बज्राचार्य, केदारप्रकाश साउद, यादव अधिकारी, परशुराम खत्री, विश्वराज सिंह शाही र शुशिलवर सिंह थापा तथा प्रहरी नायव महानिरीक्षकहरु श्यामबहादुर खड्का, रामकुमार खनाल र मनोहरप्रसाद रिमाल रहनुभएको छ ।

बिदाई समारोहमा प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरुले उहाँहरुलाई हार्दिक बिदाई गर्नुभएको थियो भने नेपाल प्रहरी सङ्गीत टोलीले सम्मान सलामी अर्पण गरेको थियो ।