शंकरदेव क्याम्पसमा क्रान्तिकारीबाट सभापतिको उम्मेदवारमा कपिल सिजापती

संगठनले निर्वाचन जीत्ने दाबी

काठमाडौं,फागुन २ । नेकपा माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले काठमाडौंको शंकरदेव क्याम्पसमा स्ववियु निर्वाचनको लागि आफ्नो उम्मेदवार घोषणा गरेको छ । क्रान्तिकारीको क्याम्पस समितिको हालै सम्पन्न बैठकले नियमित र जुझारु विद्यार्थी नेता कपिल बहादुर सिजापतीको नेतृत्वमा स्ववियु निर्वाचनको लागि उम्मेदवार तयार गर्ने निर्णय गरेको हो ।

क्याम्पस समितिको त्यस्तो निर्णयसँगै कपिलले निर्वाचनको लागि प्रचार प्रसारको कामलाई तिब्र पारेको जनाएका छन । उनले विभिन्न आधार सहित आफ्नो संगठनको जीत हुने दाबी समेत गरेका छन ।

कपिलले क्याम्पस भित्र आफ्नो संगठनात्मक संरचना बलियो भएको र आम विद्यार्थीहरुको आफुलाई साथ,समर्थन प्राप्त भएको भन्दै जीत सुनिच्चित हुने दाबी गरेका हुन ।

हरपल नेपालसँग कुरा गर्दै अखिल क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्य तथा क्षेत्र नम्बर ३ का सह संयोजक समेत रहेका डिबि साउदले कपिललाई विद्याथीहरुले राम्रो साथ,सहयोग गरेको र प्रचार प्रसारलाई त्यहाँ तिब्र पारेको बताए ।

नेता साउदले भने–‘हाम्रो संगठनले कपिलको नेतृत्वमा त्यहाँ स्ववियु लड्ने भनेको छ । कपिलको व्यक्तिगत र हाम्रो संगठनात्मक अवस्था समेत शंकरदेवमा पछिल्लो अवस्थामा राम्रो बन्दै गएको छ । हामीले संगठनको जीत्ने आधारहरु देखेका छौ । साथीहरु निर्वाचनको व्यापक प्रचारमा लाग्नु भएको छ ।’

सुदुरपश्चिमको दुर्गम जिल्ला अछामबाट अध्ययनका लागि काठमाडौं पुगेका कपिल अहिले एमविएस पहिलो बर्षका नियमित विद्यार्थी हुन । लामो समयसम्म विद्यार्थी हक,हित र अधिकारको लागि अखिल क्रान्तिकारीबाट नेतृत्व गर्दै विभिन्न आन्दोलनहरुमा सक्रियता पुर्वक लागेका उनी विद्यार्थीहरु माझ अत्यन्त लोकप्रिय र जुझारु नेता मानिन्छन । भर्खर २२ बर्ष पुगेका युवा नेता कपिलको स्थायी ठेगाना अछामको कालिकास्थान गाविस, वडा न १ रहेको छ ।