२२ औं जनयुद्ध दिवसको सन्दर्भमा-जनयुद्ध र सहादतको मूल्य

नेपालमा नयाँ जनवादी राज्यसत्ता स्थापना गर्ने उद्देश्यमा आधारित रही नेकपा (माओवादी) को नेतृत्वमा दश वर्षसम्म महान् जनयुद्धको सञ्चालन गरियो । रणनीतिक रक्षा, सन्तुलन र प्रत्याक्रमणको प्रक्रियाका बीचबाट जनयुद्ध विकसित हुँदै गयो । यस ऐतिहासिक प्रक्रियामा पन्ध्र हजार भन्दा बढी नेपाली जनताका छोराछोरीहरुले सहादत प्राप्त गरे । अनेकौं योद्धाहरु राज्यद्वारा बेपत्ता पारिए । अनेकौं योद्धाहरु घाइते, अपाङ्ग बन्न पुगे । त्याग, वीरता र बलिदानको ऊर्जाद्वारा नेपाली क्रान्तिको दीपशिखा बडवानलका रुपमा प्रज्वलित बन्दै गयो । सिङ्गो देश कम्पायमान भयो र विश्व पनि तरङ्गित हुन पुग्यो ।

बिडम्बनाको कुरा, यसैबीचमा पार्टी नेतृत्वको एउटा हिस्सामा गम्भीर प्रकारको दक्षिणपन्थी नवसंशोधनवादी विचलन पैदा भयो । पार्टी शान्ति प्रक्रियामा आयो र क्रान्ति पुरा नहुँदै महान् जनयुद्ध अन्त्य भएको घोषणा गरियो । महान् जनयुद्धले निकै ठूलो धक्का खायो । यद्यपि हामी नवसंशोधनवादका विरुद्ध विद्रोह गर्दै क्रान्तिको झण्डा बोकेर अगाडि बढिरहेका छौं । परन्तु, देश तथा विश्वमा पनि जनयुद्धले खाएको धक्का र सहादतको मूल्यबारे गम्भीर प्रकारका प्रश्नहरु उठिरहेका छन् ।

आज हामीसित सहिद परिवार र बेपत्ता योद्धा परिवारजनहरुद्वारा त्याग, वीरता र वलिदानको मूल्यबोधबारे अनेकौं जिज्ञासा, आक्रोश र खबरदारी मिश्रित प्रश्नहरु राख्दै आउने काम भइरहेको छ । महान् जनयुद्धमा अभिव्यक्त त्याग, वीरता र बलिदानका मूल्यहरुप्रति किन विश्वासघात गरियो । कतै क्रान्तिमा फेरि पनि धोका र गद्दारी हुने त हैन ? यसै ढङ्गका गम्भीर प्रश्नहरु उठाउँदै वहाँहरु निकै चिन्तित र भावुक देखिनु भएको छ । हामीहरुले क्रान्ति, देश, जनता र सहादतको मूल्यप्रतिको प्रतिबद्धता पुनः दोहो¥याउने गर्दै आएका छौं । हामीले प्रत्येक वर्ष जनयुद्ध दिवस, सहिद सप्ताह, सांस्कृतिक प्रतिरोध दिवसका साथै विभिन्न सहिदहरुको सम्मान र सम्झनामा विभिन्न कार्यक्रमहरु पनि सम्पन्न गर्ने गरेका छौं । परन्तु, त्यसप्रकारका प्रश्नहरुको जबाफ यतिले मात्र पुग्दैन ।

महान् जनयुद्धमा अभिव्यक्त त्याग, वीरता र वलिदानको वास्तविक मूल्य के हो भन्ने बारे सैद्धान्तिक, राजनीतिक र सांस्कृतिक दृष्टिले स्पष्ट हुन आवश्यक छ । हामीले राम्रोसित के कुरा बुझ्न जरुरी छ भने महान् जनयुद्धमा अभिव्यक्त सहादतको मूल्य वर्गीय पक्षधरता, नयाँ यथार्थको उद्घाटन, वर्ग तथा जनहित, मुक्तिका आदर्श तथा सपना, दुःखान्तका महान् ऐतिहासिक घटनाको समीक्षा र पार्टीको क्रान्तिप्रतिको दायित्ववोध लगायतका विषयमा आधारित रहेको छ । हामीले सहादतको मूल्यलाई राम्रोसित आत्मसात गर्न जरुरी छ ।

दश वर्षको महान् जनयुद्ध सामन्त, दलाल तथा नोकरशाह पुँजीपति वर्ग र आम जनसमुदायका बीच लामो समयदेखि चल्दै आएको भीषण वर्ग सङ्घर्ष र राजनीतिक सङ्घर्षको फौजी अभिव्यक्ति हो । जब समाजमा भीषण वर्ग सङ्घर्ष र वर्गयुद्ध चल्ने गर्दछन्, त्यो बेला वर्गीय पक्षधरताको आवश्यकता पर्दछ । यो वर्गीय पक्षधरता जनयुद्धको पक्ष र विपक्षमा देखिएको छ । दुश्मन वर्गले जनयुद्धको विरोध तथा दमनको पक्षमा र जनताले दमनको विरोध तथा जनयुद्धको पक्षमा आफूलाई उभ्याउने काम गरेका छन् । वीर अमर सहिदहरुले आफूलाई वैचारिक तथा भावनात्मक रुपमा मात्र होइन, भौतिक रुपमा समेत प्राणको आहुति दिएर आफूलाई महान् जनयुद्धको पक्षमा उभ्याएका छन् । यो महान् जनयुद्धप्रति अभिव्यक्त वर्गीय पक्षधरताको एक उत्कर्ष हो ।

नेपाली समाजमा महान् जनयुद्धका बीचबाट एउटा नयाँ यथार्थको उद्घाटन हुन पुगेको छ । त्यो नयाँ यथार्थ प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध राजनीतिक तथा फौजी विद्रोह र दुई सत्ता, दुई सेना तथा दुई संस्कृतिका रुपमा अभिव्यक्त भएको छ । पुरानो यथार्थका विरुद्ध यो नयाँ यथार्थ भौतिक र आत्मिक दुवै दृष्टिले प्रकट भएको छ । महान् युद्धद्वारा उद्घाटित यस नयाँ यथार्थको निर्माण सहिदहरुको रगत र जीवनको अभिसिञ्चिनका बीचबाट हुन गएको छ ।

वर्ग समाजमा वर्गसङ्घर्षका परस्पर विपरीत हित, आदर्श र सपना हुने गर्दछन् । शोषक वर्गले आफ्नो गुटको स्वर्ग बचाइराख्न चाहन्छ भने जनता त्यसको विरुद्धमा खडा हुने गर्दछन् । महान् जनयुद्धको प्रक्रियामा नेपाली जनताले आफ्ना हकहित, आदर्श र मुक्तिका खातिर सामन्तवाद, साम्राज्यवाद तथा विस्तारवादद्वारा हुँदै आएका शोषण, दमन तथा उत्पीडनका विरुद्ध नयाँ जनवादी राज्यसत्ताको प्राप्ति र अन्ततः समाजवाद तथा साम्यवादका लागि भीषण जनयुद्धमा हाम फालेका हुन् । यस अर्थमा हामीले सहादतको मूल्यलाई वर्गीय हित, मुक्ति र आदर्शसित जोडेर हेर्नुपर्दछ ।

महान् जनयुद्ध एक यस्तो ऐतिहासिक महागाथा हो, जहाँ दुःखान्तको पनि समिश्रण छ । दुःखान्त सौन्दर्य शास्त्रीय अवधारणा हो र त्यो वर्गसङ्घर्षको भीषण ऐतिहासिक द्वन्द्वमा आधारित हुन्छ । दुःखान्त जीवनको उत्सर्ग र बलिदानसित जोडिएको छ । दुःखान्त करुणा र वीरताको द्वन्द्वात्मक एकत्व हो । महान् जनयुद्धको अवधिमा हाम्रा अनेकौं कमरेड, वीर योद्धा, परिवारजन र आफन्तहरुले मृत्युवरण गरे । हामी शोकाकूल भयौं, दुःखित, द्रवित बन्यौं । यो दुःखान्तको कारुणिक पक्ष हो । परन्तु, अर्कोतिर दुःखान्तको साहसिक पक्ष पनि छ र त्यो साहस वीरतामा आधारित छ । आखिर मुक्तिको लागि बलिदान अपरिहार्य रहिआएको छ । तसर्थ, हामीले दुःखान्त वा बलिदानलाई सहादतको एक विशिष्ट मूल्यका रुपमा ग्रहण गर्नुपर्दछ ।

जन्मेपछि मर्नु अनिवार्य छ, परन्तु सहादतको मूल्य मृत्युमात्र होइन । मान्छे रोग व्याधि लागेर, कुनै दुर्घटनामा परेर वा कुनै न कुनै सामान्य हिसाबबाट मर्ने गर्दछन् । यसप्रकारका मृत्यु दुःखद भएपनि साधारण वा स्वाभाविकै बन्ने गर्दछन् । परन्तु, देश र जनताको मुक्तिका खातिर वरण गरिएको वा हुन गएको मृत्यु असाधारण र महान् हुने गर्दछ । हाम्रा सहिदहरुले असाधारण र महान् मृत्युको वरण गरेका छन् । र, वास्तविक अर्थमा सहिदको मृत्युलाई मरण होइन, अमरताको अर्थमा ग्रहण गरिन्छ । उनीहरु मरेर पनि देश र जनताका लागि सदा अमर बन्न गएका हुन्छन् । यसमा हामीले दुःख मात्र होइन गौरव पनि गर्नुपर्दछ ।

नेकपा ९माओवादी० द्वारा सञ्चालित महान् जनयुद्धको प्रक्रियामा देश र जनताको मुक्तिको लागि अनेकौं वीर–वीरङ्गनाहरुको सहादत त भयो तर देश र जनताको मुक्ति हुन सकेन । पार्टीले संविधानसभाको कार्यनीति अगाडि सारेकोमा पहिलो संविधानसभाबाट जनताको संविधान बन्नै सकेन र दोस्रो संविधानसभा यथास्थितिवादी तथा पश्चगामी शक्तिहरुको हातमा पुग्न गयो । महान् जनयुद्धले गम्भीर धक्का खाएको, पार्टीभित्रै दक्षिणपन्थी अवसरवाद पैदा हुन गएको र पुरातनपन्थीहरुको हालीमुहाली कायमै रहेको अहिलेको स्थितिमा निराशा, असन्तुष्टि र आक्रोशका स्वरहरु पनि प्रशस्तै सुनिन थालेका छन् । यद्यपि यो निकै चिन्ता र दुःखको विषय हो ।अपितु, अन्ततः हामीले बुझ्नुपर्दछ, सहादतको मूल्य कदापि खेर जाँदैन । यो बेला निरासावादी होइन, क्रान्तिकारी आशावादले समृद्ध भएर अगाडि बढ्नु पर्दछ । क्रान्ति सरल होइन, वक्ररेखाका बीचबाट विकसित हुने गर्दछ । क्रान्तिको द्वन्द्ववादलाई हामीले राम्रोसित बुझ्नुपर्दछ ।

सच्चा माक्र्सवादीहरु इतिहासका आरोह र अवरोहका जतिसुकै जटिल अवस्थामा पनि विचलित हुँदैनन् । उनीहरु विषयको गम्भीरता र जटिलतालाई बुझ्दै अगाडि बढ्ने सामथ्र्य राख्दछन् । तसर्थ, यो बेला हामीले निम्न विषयमा विशेष ध्यान दिनु आवश्यक छः

पहिलोे, सहिद तथा वेपत्ता योद्धाहरुका परिवारजन र घाइते अपाङ्ग योद्धाहरुको अभिभावकत्व ग्रहण गर्ने, उनीहरुलाई सङ्गठित तुल्याउने र ती सबैका मागहरुलाई सूत्रबद्ध गरी प्रभावकारी रुपमा आन्दोलनलाई विकसित गर्ने काम गर्नुपर्दछ । त्याग, वीरता र बलिदानको मूल्यवोधलाई सिङ्गो देश र अन्तर्राष्ट्रिय जगतमा पनि स्थापित तुल्याउनु पर्दछ ।

दोस्रो, क्रान्तिको इतिहासका विशिष्ट क्षणहरुमा मुख्यतः जनयुद्धको प्रक्रियामा हुन गएको धोका, षड्यन्त्र तथा गद्दारी र आफैबाट पनि हुन गएका कमी कमजोरीहरुको निर्ममतापूर्वक समीक्षा गर्नुपर्दछ । र, ती सबैबाट आवश्यक शिक्षा लिनु पर्दछ । असफलतालाई सफलताको जननी मान्ने गरिन्छ । असफलता वा हारबाट धेरै कुरा सिक्न र त्यो शिक्षाबाट अझै समृद्ध बनेर अगाडि बढ्न सकिन्छ ।

तेस्रो, क्रान्तिलाई सही ढङ्गले अगाडि बढाउनका लागि हामी माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा दृढ इच्छाशक्तिका साथ अगाडि बढ्नु पर्दछ । सहिदहरुप्रतिको वास्तविक सम्मान क्रान्तिलाई निरन्तरता दिएर नै हुन सक्दछ ।

चौथो, क्रान्तिकारी कम्युनिस्ट एकता आजको ऐतिहासिक आवश्यकता हो । तसर्थ, हामीले सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध गरी माओवादी कम्युनिस्ट केन्द्रको निर्माण गर्ने काममा विशेष जोड दिनुपर्दछ ।

महान् जनयुद्धमा अभिव्यक्त सहादतको मूल्य नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवाद र साम्यवादको उदात्त आदर्श प्राप्तिको लक्ष्य तथा ऐतिहासिक कार्यभारसित अभिन्न रुपमा गाँसिएको छ । यसप्रकारको उद्देश्य प्राप्तिका लागि सामन्तवादका साथै साम्राज्यवाद, विस्तारवाद र दक्षिणपन्थी संशोधनवादका विरुद्ध निर्मम सङ्घर्ष चलाउन आवश्यक छ ।