आइजीपिको दौडमा रहेका ४ डिआइजीको नम्बर विवादः को सीनियर,को जूनियर ?

पहिलो नियुक्तिदेखि अहिलेसम्म विशेष जानकारी

काठमाडौं,फागुन १ । नेपाल प्रहरी वा अन्य सरकारी जागिरमा नम्बरका आधारमा बढुवा हुन्छ । यसको मतलव २ वा ३ नम्बरमा भएका व्यक्ति कमजोर भन्ने होईन । अहिले नेपाल प्रहरीको डिआइजीमा पहिलो नम्बरमा छन्, नवराज सिलवाल । त्यस्तै दोस्रो नम्बरमा प्रकाश अर्याल छन्, तेस्रो नम्बरमा जयबहादुर चन्द र चौथो नम्बरमा बमहादुर भण्डारी छन् ।

यी चारै जना प्रहरी महानिरीक्षकका लागि बलिया दावेदार हुन् । यी चारै जना डिआइजीको नम्बरको विवाद बुझ्न यस अघि उनीहरु एसपी र एसएसपीमा बढुवा हुँदा र सुरुमा जागिर प्रवेश गर्दाको मर्यादामा फर्कनुपर्ने हुन्छ । अहिले प्रहरी महानिरीक्षक आइजीपीको दाबी गरिरहेका चारै जना डिआइजीहरु २०४४ चैत २९ गते प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा नियुक्त भएका हुन् ।

पहिलो नियुक्तिमा को कति नम्बरमा थिए ?

प्रहरी निरीक्षकको रुपमा सेवा प्रवेश गर्दा १ नम्वरमा थिए प्रकाश अर्याल । त्यसपछि ९ नम्वरमा जयबहादुर चन्द, १४ नम्बरमा बम बहादुर भण्डारी र ६७ औ नम्वरमा थिए नवराज सिलवाल । यो मर्यादाक्रम भने उनीहरुको शारीरिक व्यायामको परीक्षा, लिखित परीक्षा र अन्तर्वार्ताको नम्बरको आधारमा तय भएको हुन्छ । त्यसपछिको अर्को महत्वपूर्ण पक्ष भनेको प्रहरी निरीक्षकको तालिमको मर्यादाक्रम वा नम्बर हो ।

तालिमको आधारमा १ नम्वरमा को ?

प्रहरी निरीक्षकको आधारभुत तालिमको जेष्ठताको १ नम्बरमा थिए केशव बस्नेत । उनी अहिले रिटायर्ड भैसकेका छन् । त्यस्तै दोस्रो नम्वरमा पुशपति उपाध्याय, तेस्रो नम्वरमा जयबहादुर चन्द र चौथोमा विजयलाल कायस्थ थिए । तालिमको वरिष्ठता क्रममा नवराज शिलवाल ३५ नम्वरमा परेका थिए । बस्नेत, उपाध्याय, चन्द र कायस्थ चार जनाले ‘क’ र यी चार जना बाहेक अरु सबैले ‘ख’ ग्रेडमा तालिम सम्पन्न गरेका थिए । त्यसो भए कसरी अहिले सिलवाल १ नम्वरमा भए त ?

एसएसपी बढुवामा सिलवाल १ नम्बरमा कसरी पुगेका थिए ?

प्रहरी निरीक्षकमा सेवा प्रवेश गर्दा देखिकै क्रम अनुसार उनीहरुको बढुवा हुँदै आयो । जव एसपीबाट एसएसपीमा बढुवा हुने बेला आयो अनि भयो गडवढ । त्यतिवेला माधवकुमार नेपाल प्रधानमन्त्री, भीम रावल गृह मन्त्री र रमेश चन्द ठकुरी प्रहरी महानिरीक्षक थिए ।

बढुवाको फाइल गृह मन्त्रालयमा पुग्यो । प्रकाश अर्याल, जयबहादुर चन्द, नवराज सिलवाल र बमबहादुर भण्डारी लगायत बढुवाको सिफारिसमा परे । सिफारिस गर्दा प्रधानमन्त्री नेपाल, गृह मन्त्री रावल र महानिरीक्षक ठकूरीले जयबहादुरको नाम १ नम्बरमा राखे । त्यसपछि प्रकाश अर्याल र तेस्रो नम्बरमा नवराज शिलवाल परे । केही समय गृहमा अड्किएको उक्त फाईलमा त्यसपछि सुरु भयो राजनीतिक पृष्ठभूमि खोज्ने काम ।

पहिलो नम्बरमा चन्द र तेस्रोमा सिलवाल भएको खवर एमाले महासचिव ईश्वर पोखरेल समक्ष पुग्यो । अनि पोखरेलले प्रधानमन्त्री नेपाल र गृह मन्त्री रावललाई भेटे र पार्टीको संगठनभित्र रहेर लेबी तिर्दै आएको फाईल देखाए नवराज सिलवालको । अनि त्यसपछि सिलवाल परे १ नम्वरमा, चन्द पुगे ३ नम्वरमा । त्यतिवेला जिल्लामा खटेर उत्कृष्ठ काम गरेको भन्दै प्रधानमन्त्री नेपालले पनि चन्दलाई नै अघि बढाउन खोजेका थिए ।

मर्यादाक्रमले अगाडी हुनुको कानुनी अर्थ के ?

मर्यादाक्रमका आधारमा १, २, ३ र ४ नम्वरमा बढुवा भएपनि त्यसले आइजीपी बढुवामा कानुनी अर्थ हुँदैन र छैन पनि । त्यसको वलियो प्रमाण छ, एसएसपीबाट हालैमात्र अवकाश पाएका लव विष्टको मुद्दामा लोक सेवा आयोग गरेको निर्णय बाधक बन्यो । एसएसपीबाट डिआइजीमा बढुवा हुँदा लव विष्ट परेनन् । उनीभन्दा मर्यादाक्रममा पछाडी नम्बरमा रहेका र जुनियर ब्याजका एसएसपीहरु डिआइजीमा बढुवा भए । त्यसपछि आफु वरिष्ठ हुँदा हुँदै बढुवामा नपरेको भनेर लव विष्टले लोकसेवा आयोगमा उजुरी हाले । विष्टको उजुरीमा लोक सेवा आयोगले नम्वर पछाडी हुँदैमा सिनियर र जुनियर नहुने निर्णय गर्यो । र एकै मितिमा बढुवा भएका सबैको हैसियत एउटै हुने र सबै समान बढुवाका लागि योग्य हुने निर्णय गर्यो ।

यसले नेपाल प्रहरीमा १ नम्बरमा हुनेकै बढुवा गर्नुपर्छ भन्ने खेलको कानुनी हैसियत समाप्त भयो ।  सबै उत्तिकै क्षमतावान् हुने भन्दै संगठनले चाहेको व्यक्तिको बढुवा गर्न सक्ने नजिर बस्यो । त्यसैले नयाँ आइजीपी बनाउदा १ नम्वरमा भएकालाईनै बनाउनु पर्छ भन्ने तर्कको कानुनी, नैतिक र राजनीतिक हैसियत छैन । १ देखि ४ नम्वरमा भएका जो कोहीबाट पनि नयाँ आइजीपी बनाउन सकिने कानुनी आधार छ । यहाँसम्म कि २ बर्ष पछाडि बढुवा भएका डिआइजीबाट आइजीपी बनाईए पनि कानुनले छेक्दैन ।

अर्को कुरा, एक वर्ष सिनियर एसएसपीहरु एसएसपीहरु पूर्णसिंह खड्का, मनोहर रिमाल, रामकुमार खनाल, रवीन्द्रप्रताव राणा र ज्ञानेन्द्रराज बैद्यले आफुहरु डिआइजी बढुवामा नपरेको भनेर सर्वोच्चमा रिट हाले । सर्वोच्चले बढुवाको आधार सिनियर र जुनियर मात्रै नभई कार्य सम्पादन बढुवाको मुख्य आधार हो भन्दै उनीहरुको रिट खारेज गर्यो । यसले पनि मर्यादाक्रममा अगाडि हुने सक्षम र पछाडी हुने असक्षम भन्ने तर्कको अन्त्य भयो । त्यसैले अवको भावी आइजीपी पनि कार्य सम्पादन, विवादरहित, क्षमता र योग्यताको आधारमा नियुक्ति गर्ने बाटो कानुनी रुपमै खुला भएको छ ।

विगतको अभ्यास कस्तो छ ?

नेपाल प्रहरीको प्रमुख बनाउन १ नम्वरमै भएको हुनुपर्छ भन्ने बाध्यात्मक आधार छैन । विगतमा आइजीपी बन्नका लागि दुई जनाको प्रतिस्पर्धा हुने गरेको थियो । हेमबहादुर सिंह र रत्न शम्शेर राणाबीच आइजीपीका लागि प्रतिस्पर्धा भएको थियो । त्यस बखत एआइजी पदको कुनै व्यवस्था नभएको र उनीहरु एसएसपीबाट डिआईजी पदमा आफ्ना समकक्षीहरु भन्दा २ वर्ष अघि नै मर्यादाक्रम अनुसार रत्नशम्शेर १ नम्वरमा र हेमबहादुर २ नम्बरमा बढुवा भएका थिए । तर आइजीपी भए २ नम्वरका हेमबहादुर सिंह । त्यस्तै रविन्द्र प्रताप शाह र रमेश चन्द ठकूरीका बीच पनि मर्यादाक्रमको विवाद थियो । १ नम्बरमा शाह र २ नम्बरमा ठकूरी थिए । तर मन्त्रिपरिषदले दुई नम्वरका ठकूरीलाई आइजीपी बनायो ।

तत्कालिन प्रहरी नियमावली २०४९ ले ज्येष्ठतालाई प्राथमिकता दिई सिनियर प्रहरी कर्मचारीलाई ज्येष्ठता बाफत १५ अंक प्रदान गरिन्थ्यो । तर प्रहरी नियमावली २०७१ मा ज्येष्ठता भनेर उल्लेख गरिए पनि प्रहरी महानिरीक्षक बढुवामा सो अनुसारको कुनै अंकभार नछुट्याइएको र एकै दिन बढुवा भएकाहरुलाई बढुवामा समान व्यवहार गरिने भनी लोक सेवा आयोगद्वारा नजिर स्थापना भैसकेको छ । विगतको अभ्यास र प्रहरी नियमावली २०७१ ९संशोधन सहित० द्वारा प्रथम पटक चुनिन लागिएको नेपाल प्रहरीको २५ औं आइजीपीका लागि पनि मर्यादाक्रमको नम्बरको आधारमा बढुवा हुनुपर्छ भन्ने बाध्यात्मक अवस्था नभएको देखाउँछ ।

तसर्थ कानुनी आधार, लोक सेवा आयोगका नजिरहरु, विगतका अभ्यासहरु एवं अन्तर्राष्ट्रिय अभ्यासहरुको सफलतापूर्ण कार्यान्वयनको आधारले पनि नेपाल प्रहरीको प्रमुख (प्रहरी महानिरीक्षक)को नियुक्तिको लागि कोहि १ नम्बरको भनेर म प्रहरी महानिरीक्षक हुनुपर्छ भन्दै छाति फुलाई लबिङ गर्दै हिड्ने र कोहि २, ३ वा ४ नम्बरका भनेर आफुहरु सक्षम, क्षमतावान र योग्य हुँदा हुँदै पनि निराश हुनुपर्ने अवस्था नरहेको स्पष्ट हुन्छ ।

नेपाल प्रहरीमा मात्रै हैन, निजामति सेवा तर्फ पनि यसका बलिया नजिर छन् । यसअघिको नेपाल सरकारको मुख्यसचिव छनोटमा ९ नम्बरका सचिव लिलामणी पौड्याल मुख्य सचिवमा बढुवा भएका थिए । २०४४ र १२र२१ मा नियुक्त भएका प्रहरी निरीक्षक (इन्सपेक्टर)को सूचि । जसमा प्रकाश अर्याल १, जयबहादुर चन्द ९, बम बहादुर भण्डारी १४ र नवराज सिलवाल ६७ नम्बरमा छन्