प्रधानमन्त्रीद्धारा जिल्लाहरुमा निर्वाचनको लागि आवश्यक प्रबन्ध गर्न निर्देशन

जनताले अनुभूति गर्ने गरी सेवा प्रवाह गर्नमा जोड

रौतहट,फागुन १ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रौतहट जिल्लाका कार्यालय प्रमूखहरुलाई जनताले परिवर्तनको अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन ।

प्रधानमन्त्रीले केही दिनभित्रै सरकारले निर्वाचनको मिति घोषणा गर्ने जानकारी दिँदै जिल्लामा निर्वाचनको वातावरणका लागि आवश्यक प्रबन्ध गर्न समेत निर्देशन दिए ।

प्रधानमन्त्रीले भने, ‘संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएको छ । सरकार स्थानीय तहको निर्वाचनमा जुटिसकेको छ । तपाईहरु पनि जिल्लामा निर्वाचनको वातावरण बनाउन आवश्यक प्रबन्ध गर्नुहोस् । निर्वाचनको वातावरण बनाउने र जनतालाई छिटो, छरितो र प्रभावकारी सेवा प्रदान गर्नु तपाईहरुको दायित्व हो ।’

निर्देशनमा प्रधानमन्त्रीले पूँजीगत खर्च बढ्ने गरी विकास निर्माणका कामलाई प्राथमिकतामा राख्न भन्दै आ–आफ्नो क्षेत्रभित्र पर्ने आयोजनाहरुको निरीक्षण र निर्देशन गर्न पनि कार्यालय प्रमूखहरुलाई आग्रह गरे ।