हिमाल,पहाड र तराईलाई जोडेर निर्वाचनमा जाने प्रधानमन्त्रीको उद्घोष

संविधान संशोधन प्रस्ताव भोटिङ गरेर पारित गर्ने योजना

रौतहट,माघ २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल,पहाड र तराईलाई जोडेर निर्वाचनमा जाने आफ्नो संकल्प रहेको बताएका छन । उनले सरकार निर्वाचनको लागि तयार भएको र देखिएका केही समस्याहरुको उचित ढंगले समाधान गर्दै निर्वाचनको मिति घोषणा गर्ने बताए ।

आज रौतहटमा माओवादी केन्द्रबाट सांसदमा पुगेका नेता प्रभू शाहको नेतृत्वमा सञ्चालित सडक बचाउ अभियानद्धारा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले त्यस्तो कुरा बताएका हुन । उनले व्यवस्थापिका—संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव भोटिङमा लगेर पारित गर्ने र निर्वाचनको लागि सहज वातावरण निर्माण गर्ने आफ्नो योजना रहेको खुलासा गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने–‘हिमाल, पहाड र मधेशलाई जोडेर निर्वाचनमा जाने मेरो संकल्प छ । पहिचान र अधिकारका निम्ति, विगतमा गरिएको उत्पीडनको अन्त्यका लागि मेरो नेतृत्वमा १० वर्षे जनयुद्ध भयो । जनयुद्धकै बलमा संघीय लोकतान्त्रिक संविधान बनेको छ । जनताको माग अझै पुरा भइसकेको छैन । संविधानको स्वीकार्यता बढाउन संविधान संशोधन प्रस्ताव दर्ता गरिएको छ । संशोधन प्रस्तावलाई मतदानमा लगेर पारित गराउन सरकार गम्भीर रुपले लागेको छ ।’

विकास र समृद्धि राष्ट्रको प्राथमिक एजेण्डा भएको बताउँदै प्रधानमन्त्रीले अहिलेको युग विकासको युग भएकाले दुनियाँले विकासको अपेक्षा गरेको बताए । उनले नेपाली जनताले पनि विकासको अपेक्षा गरेका छन,मेरो नेतृत्वको सरकारले विकास र समृद्धिमा लगातार जोड दिँदै आएको छ । राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न गर्ने र रोजगारीको अवसर सिर्जना गर्न म लगातार देश दौडाहामा छु । देशका ठूला आयोजनाहरु सम्पन्न गर्न लगातार कोशिस गरिरहेको छु ।–भने ।

कार्यक्रममा रौतहट क्षेत्र नं।—३ बाट निर्वाचित सांसद एवं पूर्वमन्त्री प्रभू शाहले सबैको सामूहिक प्रयत्नले मात्रै व्यापार, कृषि र उद्योगको विकास गर्न सकिने बताए । शाहले सडकको संरक्षण र बिस्तारका लागि सडकक बचाउ अभियानको थालनी गरिएको बताए ।
उक्त कार्यक्रममा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री मातृका यादवले संविधान संशोधनपछि गरिने निर्वाचनले मात्रै राष्ट्रिय समस्याको सम्बोधन गर्नसक्ने बताए ।

कार्यक्रममा प्रधानमन्त्रीले रौतहटका सोनरनिया र कटरिया गाबिसका विद्यालयमा अध्ययनरत १५०० जना छात्रालाई आधुनिक स्तरका साइकल बितरण गरेका थिए । मधेशी छात्रा विद्यार्थीहरुलाई विद्यालय आवात जावातमा प्रोत्साहन गर्ने उद्देश्यले सांसद प्रभू शाहको पहलमा साइकल बितरण गरिएको थियो । कार्यक्रममा ३१ जना व्यक्तिहरु विभिन्न पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका थिए ।