त्रिविले तोकेकै मितिमा स्ववियु निर्वाचन गर्न सबै संगठनहरु सहमत

देशभरी निर्वाचनको वातावरण सहज बन्दै

काठमाडौं,माघ २९ । केही समयदेखि स्ववियु निर्वाचनको विषयमा विभिन्न मागहरु राख्दै निर्वाचन प्रकृयाबारे पुर्नविचार गर्नपर्ने भन्दै आएका विद्याथी संगठनहरु आजदेखि निर्वाचनमा जाने सहमतीमा पुगेका छन । उनीहरुको यो निर्णयले निर्वाचनको वातावरण सुनिश्चित बन्दै गएको देखिन्छ ।

आज अनेरास्ववियुको केन्द्रीय कार्यालय बागबजारमा बसेको देशभरीका क्रियाशील विद्यार्थीहरुको संयुक्त बैठकले यसअघि त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेकै मिति र प्रकृया अनुसार स्ववियु निर्वाचन गर्ने कुरामा सहमती जनाएका हुन ।

यसअघि विभिन्न मागहरु सहित त्रिविले सार्वजनिक गरेको कार्यतालिकामा पुर्न विचार सहित समानुपातिक निर्वाचन प्रणालीको माग राख्दै त्रिविलाई ज्ञापन पत्र बुझाएका विद्यार्थी संगठनहरु समेत आजको संयुक्त बैठकमा देखिएका छन । तर विप्लव माओवादी निकटको अखिल क्रान्तिकारी र केही मधेसवादी दल निकटका विद्यार्थी संगठनहरु भने आजको संयुक्त बैठकमा देखिएनन ।

विद्यार्थी संगठनहरुको संयुक्त बैठकले स्ववियु निर्वाचनको सन्दर्भमा त्रिभुवन विश्वविद्यालयले जारी गरेको आचारसंहिता पूर्ण रुपमा पालना गर्ने विषयमा समेत प्रतिबद्धता जनाएका छन । उनीहरुले आचारसंहिता विपरीत केही क्याम्पसहरुमा फर्जी भर्ना गरिएको पाइएकाले त्यस्ता भर्नाहरु छानविन गरी तत्काल बदर गर्ने तथा सम्बन्धित प्रशासनलाई कारवाही गर्ने विषयमा पनि सहमती गरेका छन ।
आजको संयुक्त बैठकमा अनेरास्ववियु,नेविसंघ,माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारी,अखिल छैठौं,नेपाल क्रान्तिकारी विद्यार्थी संघ,तराई मधेस विद्यार्थी फ्रन्ट,बैद्य माओवादी निकटको अखिल क्रान्तिकारी लगाएतका विद्यार्थी संगठनहरुले संयुक्त हस्ताक्षर सहित देखिएका समस्याहरु समाधान गर्दै निर्वाचनमा जान साझाँ सहमती जनाएका हुन ।

संयुक्त बैठकले निर्वाचन आचारसंहिताको प्रत्येक क्याम्पसहरुमा नियमित अनुगमन गर्नको लागि सबै संगठनका महासचिव÷महामन्त्री वा तोकिएका प्रतिनिधिहरु रहेको अनुगमन समिति गठन गर्ने निर्णय गरेको छ । संगठनहरुले देशका कतिपय क्याम्पसहरुमा केही असहज स्थिति देखिएको भन्दै सम्बन्धित क्याम्पसहरुले छलफल गरी निकास निकाल्न समेत अनुरोध गरेका छन ।

संयुक्त बैठकमा भएका निर्णयबारे जानकारी गराउदै अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले सम्पूर्ण विद्यार्थीहरुलाई निर्वाचनमा भाग लिन, आफ्नो विचार स्वतन्त्रता, मताधिकार र निर्वाचित हुन पाउने अधिकारको उपयोग गर्न संयुक्त रुपमा अपिल गरिएको बताए ।