काठमाडौं र थबाङबीचको सेतु बन्दै फागुन १गतेः विप्लव माओवादीको महाधिवेशन

जब जब फागुन १ आउँछ, तब तब २०५२ फागुन १ को स्मरण हुन्छ । क्रान्तिकारीहरूले यो दिनलाई निकै गम्भीर, मार्मिक र उत्साहका साथ स्मरण गर्न रुचाउँछन् । त्यो प्रतिवद्धताको, त्यो उत्साहको, त्यो समर्पणको र त्यो बलिदानको महान् अभियानमा यो दिन सदैव स्मरणीय भएर उपस्थित हुन्छ । वर्तमानलाई नजिकबाट समीक्षा गर्न कर लगाउँछ । कुरूप वर्तमानले एकपटक धिक्कार भन्न बाध्य गराउँछ । सबैतिरबाट क्रान्तिकारीहरूलाई गिज्याइरहेको अनुभूति हुन्छ । प्रतिरोधको भावना उर्लेर आउँछ । एकपटक फेरि प्रतिक्रियावादी सत्ताका विरुद्ध धावा बोल्न रातो र तातो रगत उम्लिएर आउँछ ।

क्रान्ति भावनाको विषय मात्र होइन । क्रान्ति रिस र आवेगले गर्ने विषय पनि होइन । जब जब स्वाभिमानको हत्या हुन्छ, जब जब सपनाहरू मरेको, हत्या भएर टुलुटुलु हेर्न वाध्य परिस्थिति आइलाग्छ, यस्तो बेलाको स्वाभिमानी चुप लागेर बस्न सक्ला ? महान् जनयुद्ध र यसो विकास गरेको, यसले परिकल्पना गरेको राज्यव्यवस्थाका खातिर नेपाली जनताका करिब १३ हजारले आफ्नो जीवनको बलिदान गरे । प्रतिक्रियावादी राज्यसत्ताद्वारा हजारौँ योद्धाहरूलाई बेपत्ता बनाइए । हजारौँ योद्धाहरू घाइते छन् तर क्रान्तिको अपूर्णताले महान् योद्धाहरूका मनमा ठूलो बेचैनी छ । परिवर्तनकारी सपनाको ठूलो भोक छ । बलिदानको मूल्यको ठूलो खोजी रहेको छ । प्रतिक्रियावादी सत्ताका विरुद्धको ठूलो रोष रहेको छ । के यो कुरा हाम्रा लागि सामान्य हुन् ? क्रान्तिकारीहरूका लागि यी अहम् महत्वकारी विषय हुन् ।

नेपाली समाजको अहिलेको परिस्थिति र नेपाली समाजको अहिलेको वास्तविकता असमान्य रूपमा गुज्रिरहेको छ । यसलाई सकारात्मक परिस्थितिमा ल्याउनका लागि हाम्रा अगाडि असमान्य परिस्थिति खडा भएको छ । यो असमान्य परिस्थितिको अन्त्य के कसरी होला भन्ने कुरा नेपालमा जनवादी क्रान्ति के केसरी पूर्ण होला भन्ने प्रश्नसित सम्बन्धित रहेको छ । जसले नेपाली समाजमा आमूल परिवर्तन गर्नका लागि महान् जनयुद्धको उठान ग¥यो, त्यसले यो प्रश्नको उत्तर दिन आवश्यक छ ।

एउटा प्रसिद्ध भनाइ छ– एउटा कोइली बोल्दैमा वसन्त आउँदैन । जैविकचक्रको आफ्नै गति र नियम हुन्छ । एउटै जङ्गलका फरक फरक समयानुसार फरक फरक रङ रोगन देख्न सकिन्छ । एउटै नदीका फरक फरक आकार फरक फरक ध्वन्यावर्तन देख्न पाइन्छ । मानिसकै जीवनका पनि अनेकन् अवस्थहरू सिर्जना भइरहेका हुन्छन् । हर्ष, आँसु, विजय, पराजय मानिसका जीवनमा भइरहने परिघटनाहरू हुन् । तर मासिनले स्वाभिानका विरुद्ध सम्झौता गर्न सक्तैन । सम्झौता गर्न पनि हुँदैन । जब मानिसले आफ्नो स्वाभिमानमा विरुद्ध सम्झौता गर्न पुग्दछ, त्यसपछि ऊ मानिसको कोटिमै रहँदैन । त्यसपछि ऊ मानिस नभएर अरू नै चीज बन्न पुग्छ ।

माओवादी आन्दोलन स्वाभिमानको आन्दोलन पनि भएकोले यो मामिलामा यसका विरुद्ध कोही कसैले पनि सम्झौता गर्नुुहन्न । आफ्नो पहिचान गुमाएर कोही कसैले ठूलो कुरा गर्दछ भने कि त उसले ढाँटिरहेको छ, कि त उसले आफू मूर्ख भएको प्रमाण दिइरहेको छ । जसरी एउटा कोइली बोल्दैमा वसन्त आउँदैन, त्यसैगरी स्वाभिमाना विरुद्ध सम्झौता गर्नेले लक्षित सफलता प्राप्त गर्न सक्तैन ।

माओवादी आन्दोलन स्वाभिमानको आन्दोलन पनि भएकोले यो मामिलामा यसका विरुद्ध कोही कसैले पनि सम्झौता गर्नुुहन्न । आफ्नो पहिचान गुमाएर कोही कसैले ठूलो कुरा गर्दछ भने कि त उसले ढाँटिरहेको छ, कि त उसले आफू मूर्ख भएको प्रमाण दिइरहेको छ । जसरी एउटा कोइली बोल्दैमा वसन्त आउँदैन, त्यसैगरी स्वाभिमाना विरुद्ध सम्झौता गर्नेले लक्षित सफलता प्राप्त गर्न सक्तैन । त्यसैले, फाुगन १ को सम्झनाले धेरै धेरै कुराहरू एकैपटक सतहमा ल्याइदिएको हुन्छ । सुन्दर सपना आँखा नाचिरहेको हुन्छ । स्वाभिमानका पक्षमा शरीरमा एक थोपा रगत र एक मुठी सास रहुञ्जेल सङ्घर्ष गरिरहेने प्रतिबद्धता लिएर आएको हुन्छ । जो निरन्तर अघि बढेर ती महान् सपना साकार तुल्याउन प्रतिबद्ध छन्, ती अघि बढ्छन्, जो तयार छैनन्, त पछाडि हट्छन् । सायद इतिहासमा यथास्थितिमा बसिरहन कोही कसैलाई पनि सुविधा प्राप्त छैन ।

सङ्घर्ष, बलिदान र समाज रूपान्तरणका लागि नयाँ युगको सूत्रपातकर्ता महान् जनयुद्धको गौरवपूर्ण इतिहासको रक्षा गर्नु नेपाली जनसमुदायको दायित्व हो । आज नेपाली राजनीतिमा जनयुद्ध र यसले विकास गरेका विचार, राजनीति, सिद्धान्त, सेना, सत्ता र संस्कृतिको अवमूल्यन गर्ने प्रवृत्ति बढिरहेको छ । यसमा एकातिर आफूलाई क्रान्तिकारी भन्दै क्रान्तिकारी सिद्धान्तको आलोकमा सञ्चालित जनयुद्धको खेदो खन्ने प्रवृत्ति छ भने अर्कोतिर महान् जनयुद्धले ल्याएको रूपान्तरणको फल चाख्न मीठो मान्ने तर त्यसको बदख्वाइँ गर्ने प्रतिक्रियावादी प्रवृत्ति पनि छ । यी दुवै प्रवृत्तिसँग लड्दै जनयुद्धको रक्षा, विकास र विजय अभियानको सञ्चालन आजको आवश्यकता हो । जनयुद्ध भनेको रणनीतिक रक्षा, रणनीतिक सन्तुलन र रणनीतिक प्रत्याक्रणको शृङ्खला मात्र नभई समाज रूपान्तरणको माक्र्सवादी अवधारणामा विकसित विचार पनि हो । नयाँ जनवादी क्रान्ति हुँदै समाजवाद एवम् साम्यवादसम्म जाने हाम्रो सैद्धान्तिक प्रतिवद्धतालाई व्यावहारिक र कार्यनीतिक रूपले प्रस्ट पार्दै, क्रान्तिकारी मुख्यालयको निर्माण गर्दै, जनयुद्धको उपलब्धिहरूको रक्षा गर्दै, महान् सहिदहरूको उद्दात्त, वीरता र आदर्शको भव्य इतिहासलाई कायम गर्दै अघि बढ्नु आजको गुरुत्तर दायित्व हो ।

क्रान्तिकारी मार्गमा अघि बढ्न अरूचि राख्नेहरूसित सम्बन्ध विच्छेद गरेर बनेको नेपाल कम्युनिस्ट पार्टी माओवादीले आफ्नो क्रान्तिकारी कदम अघि बढाइसकेको छ । नेकपा माओवादीले अङ्गीकार गरेको ‘एकीकृत जनक्रान्ति’ को कार्यदिशाबाट नेपालमा नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्न सकिन्छ । यसैबाट मात्रै, हामीले प्राप्त गरेको ऐतिहासिक उपलब्धिको रक्षाका साथ गम्भीर चुनौतीहरूको सामना गर्दै मुक्तिको महान् राजमार्ग प्राप्त गर्नेछौँ । महान् जनयुद्धको २२ औँ वार्षिकोत्सवका यस अवसरमा महान् सहिदका सपना पूरा गर्ने र सोहीअनुरूप मोर्चामा लामबद्ध हुनु अहिलेको मूल जिम्मेवारी हो । क्रान्तिबाट भाग्न कसैलाई छुट छैन । स्वाभिमानी माओवादी आन्दोलन आन्दोलनको रक्षा गर्दै आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गरेर मात्र हामी लक्षित गन्तव्यमा पुग्न सक्नेछौँ ।

वास्तवमा, फागुन १ सम्मान, सम्झना र प्रतिवद्धताको दिन हो । फागुन १ महान् प्रतिवद्धता पूरा गर्ने दिशामा अघि बढ्ने प्रेरित गर्ने दिन हो । यो महान् सहिदहरूप्रति सम्मान गर्ने दिन हो । यो जनताले गरेको प्रतिक्रियावादी सत्ताका विरुद्धका महान् आक्रमण, बलिदानको सम्झना गर्ने दिन पनि हो । अन्तमा यति मात्र भनौँ, अपूरो रहेको नेपाली क्रान्तिलाई पूरा गर्ने दिशामा अघि बढौँ । क्रान्तिकारी अभियानलाई बीच बाटोमै अलपत्र नपार्ने प्रतिवद्धता जाहेर गरौँ । विचार र व्यवहारका बीच एकत्व कायम गरौँ ।

नेकपा (माओवादी) मा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ जनयुद्धका सन्दर्भम फागुन १ लाई यसरी सम्झनुहुन्छ, “जनयुद्धका प्रस्तावहरूवाट आज हेर्दा र आजको माओवादी सङकटबाट हिजोको जनयुद्धलाई हेर्दा अनौठो अनुभूति हुन्छ । राजनीतिक विज्ञानका दृष्टिले स्वभाविक पनि भन्न सकिएला परन्तु आदर्श र भावनाका हिसाबले अकल्पनीय महसुस हुन्छ । महान् जनयुद्ध नेपाली राजनीतिक इतिहासमा स्वर्णिमकाल थियो । नेपाली जनता आफ्नो मुक्ति र समृद्धिका लागि आफैँ उठेको र आफ्नै पौरखले विजय हासिल गरेको क्रान्ति थियो । त्यसप्रति अहिले पनि हामीमा गौरव छ । जहाँसम्म आजको माओवादी सङकट छ यो पार्टी नेतृत्व तहमा आएको विचलनले ल्याएको कालो कालखण्ड हो । जतिखेर नेतृत्वले जनताका सामु गरेको प्रतिज्ञा पूरा गर्नुपर्ने बेला थियो, जनताको हितमा जीवनलाई समर्पित गर्नुपर्ने थियो, ठीक त्यही विन्दुमा अकल्पित विघटन, पछि हटाइ र विचलन देखाप¥यो । यसले जनतामा निकै ठूलो अविश्वास पैदा गर्न पुग्यो । खैर, हामीले समयमै विचलन र पछिहटाई विरुद्ध सङ्घर्ष छेडेका छौँ । धेरै ठूलो नभए पनि अँध्यारोमा सानो दियो बलेको जस्तो चाहिँ भएको छ । हामी निरास छैनौँ”, (पू. ९७, जलजला मासिक) ।

अन्तमा, फागुन १ गते खुलामञ्च, टुँडीखेल जाऔँ । आदरणीय महासचिव कमरेड विप्लवद्वारा उद्घाटन हुने ८ औँ महाधिवेशनमा सहभागी बनौँ । नेकपा (माओवादी) को ८ औँ महाधिवेशनलाई भव्य तथा ऐतिहासिक रूपमा सफल पारौँ । २२ औँ महान् जनयुद्ध दिवसलाई सम्मान, सम्झना र प्रतिवद्धताको दिनको रूपमा फागुन १ लाई मनाऔँ । यसपटकको फागुन १ काठमाडौं र रोल्पाको थबाङबीचमा सेतु बनेर आएको छ । यो सेतुलाई एकीकृत जनक्रान्तिले समृद्ध र सुदृढ बनाऔँ । जनताका विजय सुनिश्चित छ ।

(लेखक थपलिया विप्लव माओवादी निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव हुन ।)