महिला शक्ति महासंघले आफ्नो पहिलो स्थापना दिवस मनायो

राजनीतिमा महिलाको सहभागिता र सशक्तिकरणमा जोड

काठमाडौं,माघ २९ । नयाँ शक्ति पार्टी निकटको महिला शक्ति महासंघले आफ्नो पहिलो स्थापना दिवस मनाएको छ । नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा महिला शक्तिले शुक्रबार एक कार्यक्रम गरी आफ्नो पहिलो स्थापना दिवस मनाएको हो ।

महासंघले आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ शक्ति पार्टीकी सहसंयोजक दुर्गा सोबले राजनीतिमा महिलाको सहभागिता केवल समानुपातिक प्रतिशत पुर्याउनका लागि मात्र नभई साँच्चिकै अर्थमा महिला सशक्तिकरणका लागि अर्थपूर्ण सहभागिता हुनुपर्ने बताइन ।

उनले नेपालको राजनीतिक इतिहासमा जनताको मास देखाउनको लागि मात्र महिलाहरुलाई सडकमा उतार्ने गरेकोप्रति असन्तुष्ति समेत जाहेर गरेकी थिइन।

नयाँ शक्ति पार्टीका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले देशमा अधिकार प्राप्तिको आन्दोलन बिगतमा नै सकिएकोले अब देशको शासन प्रणालीमा परिवर्तन गरी देशको आर्थिक विकास र समृद्धितर्फ केन्द्रीत हुनुपर्ने बेला भएको बताए ।

उनले नयाँ शक्तिले हामी मानिसले मानिस माथि गरेको अन्याय र अत्याचारको अन्त्य गर्दै आफ्नै जीवनकालमा समृद्धि ल्याउने कुरा गरेको बताउँदै त्यसका लागि महिलाहरु एक जुट भएर लाग्नुपर्ने आवश्यकता औंल्याए।

महिला शक्तिले आयोजना गरेको चियापान कार्यक्रममा नयाँ शक्ति पार्टीकै आंगिक संगठन विभाग प्रमुख कुमार पौडेल, उत्पादन निर्माण तथा रोजगार स्वरोजगार विभाग प्रमुख बामदेव क्षेत्री, प्रवास प्रादेशिक परिषद् संयोजक नबराज सुवेदी, पार्टीको १ नम्बर प्रदेश संयोजक पासाङ शेर्पालगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम महिला शक्ति महासंघकी अध्यक्ष कल्पना धमलाको अध्यक्षता तथा संचालनमा सम्पन्न भएको थियो ।