सल्यानमा अस्पतालमा पानीको अभाव हुँदा अस्पताल क्षेत्र दुर्गन्धीत बन्दै

स्थानीयलाई चौपाया नछाड्न आग्रह

सल्यान,माघ २९ । जिल्ला अस्पताल सल्यानमा खानेपानीको अभाव भएको छ । २४ सै घण्टा पानीको आवश्यक हुने जिल्ला अस्पतालमा पानीको अभाव भएपछि सरसफाईमा समेत समस्या देखिएको छ ।

दिनहुजसो हुने शल्यक्रिया तथा अन्य सरसफाइका लागि पानीको अभाव भएपछि अस्पतालमा रहेको शौचालय समेत दुर्गन्धित भएको जिल्ला अस्पताल सल्यानले जनाएको छ ।

हप्तामा एक दुई २ पटक दुइ घण्टा मात्र आपुर्ति हुने खानेपानीले अस्पतालको मागको १० प्रतिशत सम्म पनि धान्न नसक्ने जिल्ला स्वास्थ्य प्रमुख डा.मनिषा रावलले जानकारी दिइन । उनले भनीन, अस्पताल जस्तो अति संवेदनशिल संस्थामा पानी आपुर्ति सहज नहुदा समस्या भइरहेको छ ।

अस्पतालमा अहिले दैनिक जसो शल्यक्रिया हुन्छ । शल्यक्रियापछि सरसफाईका लागि पनि धेरै पानी चाहिन्छ अरु त के अहिले सवैलाई पिउने पानी समेत पुग्दैन, डा.रावलले भनीन, पानीको अभावमा अस्पताल क्षेत्र दुर्गन्धीत छ ।

शौचालय अति फोहोर हुनुमा आफुले मात्र चासो नदिएर नभएको डा.रावलले दावी गरीन । “अस्पतालमा विरामीहरुले प्रयोग गर्ने शौचालय हामीले चासो नदिएर मात्र फोहोर हुदैनन विरामीहरुको लापरवाहीले पनि भएको छ । विरामीहरुले शौचालयमा प्याड समेत फाल्ने गरेकोले फोहोर देखिएको हो ।” डा.रावलले भनीन । अस्पतालमा शोचालय भएकोले दुर्गन्ध वाहिर सम्म फैलिएको छ । अस्पतालमा पानीको आपुर्ति सहज भएमा फोहोर व्यवस्थाप गर्न समस्या नहुने उहाँको भनाई छ ।

जिल्ला अस्पताललाई तारवारले नघेरिएको कारण स्थानीयका चौपायाहरुले समेत दुख दिन थालेका छन् । स्थानीयहरुका गाई वाख्राहरु अस्पतालपरिसरमा छिरेर फोहोर गर्ने भएकोले पनि समस्या देखिएको छ । अस्पतालको जनरल वार्ड वाहिर राखिएको वेडमा गएर वाख्रा वस्ने त्यहि मलमुत्र गर्ने तथा अन्य स्थानहरुमा समेत फोहर गर्ने भएकोले समस्या भएको डा.रावलले वताइन । “ चौपायाले दिनहुजसो दुख दिन्छन् सहयोगीहरुलाई चौपायाहरुले गरेको फोहोर सफा गर्नु भन्दा हामी अस्पतालको फोहोर सरसफाई गर्ने हो चौपायाहरुको मलमुत्र सफा गर्ने होइन भनेर जवाफ दिन्छन्” डा.रावलले भनीन ।

चौपायाहरुलाई छाडा नछोडिदिन पटक पटक भनेको भएपनि स्थानीयहरुले सुधार नगरेको उनको गुनासो छ । “ स्थानीयले अटेर गरेपछि ४ वटा वाख्रा थुनेर २ दिन सम्म राख्यौ आइन्दा यस्तो नगर्नु भनेर प्रहरीको रोहवरमा जिम्मा लगाइदियौ तर पनि उनिहरुको वानीमा सुधार भएन ” डा. रावलले भनीन । चौपायाले अस्पतालमा दुख दिइरहेको यसरी नछोडनुस भन्दा हामीले हाम्रो सामुदायिक वनमा छोडेका हौ भन्ने गरेको डा.रावलको भनाई छ ।रासस