प्रहरीको अनुसन्धान ब्यूरोद्धारा ज्यानमार्ने उद्योग मुद्दाका फरार अभियुक्त पक्राउ

प्रतिबादीलाई कैद भुक्तानको लागि कारागार चलान

काठमाडौं,माघ २९ । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिबादी मोरङ्ग वयरवन गाबिस–७ बस्ने ४४ वर्षीय जयराज संयोग लिम्बुलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । अनुसन्धान ब्यूरोले उनलाई शुक्रबार सुनसरीको इटहरीबाट पक्राउ गरेको हो ।

ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतको २०६६ भदौ १ गतेको फैसलाले लिम्बुलाई ५ बर्ष कैद हुने ठहर गरेको थियो तर उनीले अदालतको निर्णयको मान हानी गर्दै हालसम्म फरार रहेको प्रहरीले बताएको छ ।

२०५३ माघ ११ गते मोरङ्ग बयरबन गाबिस–७ स्थित सांग्रिला हाइभिजन चलचित्र हलभित्र सिनेमा हेर्दै गरेका शेखर राईसँग झगडा भएपछि राईलाई हलबाट बाहिर निकाल्न लगाई लिम्बु समेतले लखेटदै लगि सोही ठाउँस्थित आलुबारीमा खुकुरी प्रहार गरेको घटनामा संलग्न रहेको भन्दै अदालतले उनलाई ज्यानमार्ने उद्योगको मुद्धाको अभियोगमा दोषि ठहर गरेको थियो ।

लिम्बुको तर्फबाट गरिएको उक्त आक्रमणबाट गम्भीर घाइते भएका राईको कोशी अंचल अस्पताल र वि.पि. मेमोरियल अस्पताल धरानमा राईको उपचार गरिएको थियो ।

कैद बेरुजुमा रही हालसम्म फरार रहेका प्रतिबादी लिम्बुलाई फैसला कार्यान्वयनको लागि सुनसरी जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झुम्का, सुनसरीमा पठाइएको छ । उनलाई कानुन अनुसार कैद बेरुजुको समेत सजाय हुने बताइएको छ ।