विकसित देशको अवधारणा हुबहू लागु गर्न असम्भवः प्रधानमन्त्री

ग्रामीण क्षेत्रमा सम्वृद्धि ल्याउन रुपान्तरणको जरुरी छ

काठमाडौं,माघ २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकसित देशको जस्तो अवधारणा र प्रणाली नेपाल र अन्य विकासोन्मुख देशहरुमा लागु गर्न असम्भव हुने बताएका छन । उनले विकसित देशको जस्तो प्रणालीवद्ध शासन व्यवस्था र अन्य प्रविधीहरुको हाम्रो देशमा अझै विकास नभएकाले हुबहू लागु गर्न नसकिने बताए बताए ।

आज नेपाल व्यवस्थापन संघको ३६औं राष्ट्रिय व्यवस्थापन अधिवेशन तथा वार्षिक साधारण सभाको “सम्मान समारोह”मा प्रधानमन्त्रीले त्यस्तो धारणा राखेका हुन ।

उनले सन् १९८० को दशकदेखि सार्वजनिक क्षेत्रमा प्रवेश गरेका व्यवस्थापनका नविन अवधारणाको आत्मसातिकरण गर्दै पश्चिमा मुलुकहरुले आर्थिक वृद्धि र विकासमा महत्वपूर्ण योगदान पुर्याएपनि ति विकसित मुलुकको जस्तो अवधारणा नेपालमा लागु गर्ने अवस्था नभएको बताए ।

उदारीकरणको कार्यान्वयनको सन्दर्भमा विकासोन्मुख मुलुकहरुका बजारबाट सामाजिक क्षेत्रमा पर्याप्त सहयोग नहुने, लगानीका लागि पंूजी बजारको विकास भैसकेको नहुने,अर्थतन्त्र बाह्य कारक तत्वहरुबाट अत्याधिक प्रभावित हुने जस्तै तेल तथा डलरको मूल्यमा हुने उतारचढाव जस्ता सीमितताहरुप्रति विगतमा ध्यान केन्द्रित नगरी लागू गर्न खोज्दा विकसित देशको विपरित नतिजा हात लागेको समेत उनले बताए ।

प्रधानमन्त्रीले भने –‘तथ्याङ्कका हिसाबले निर्माण क्षेत्रले वस्तुको निर्यात विस्तारमा अपेक्षाकृत प्रभाव राख्न सकेको देखिदैन । सेवा क्षेत्र शहरी इलाकामा विशेष रुपले विकास र बिस्तार भइरहेको संकेत देखिन्छ । सेवा क्षेत्र नै आर्थिक विकासको क्रियाकलापको सन्तुलन बनाउन सफल रहेको पाइन्छ । अब, ग्रामीण क्षेत्रमा सम्वृद्धि ल्याउन र रुपान्तरण गर्नु जरुरी छ । प्रविधिको उच्चतम प्रयोग, कृषि, वन र उर्जामा लगानी वृद्धि गरी आर्थिक क्रियाकलापमा मानवीय संशाधनको अधिकतम् परिचालन गर्न सकेको खण्डमा आर्थिक सम्वृद्धि प्राप्त गर्न सकिन्छ ।’

उनले सीमान्तकृत र संकटासन्न वर्गलाई गुणस्तरीय वस्तु तथा सेवा प्रदान गर्नका लागि सरकारले आफ्नो परम्परागत भूमिका पूर्ण रुपमा छोडडदै सार्वजनिक प्रशासनको क्षेत्रमा देखिएका कार्यकुशलता सम्बन्धी समस्या समाधान गर्ने उदेश्यले नतिजाप्रति उत्तरदायी हुनुपर्ने, निजी क्षेत्रको व्यवसायिक कार्यकुशलता सरकारी क्षेत्रमा सुरुवात गरी पैसाको मूल्य बढ्नु पर्ने र यसलाई हाम्रो मुलुकको सामाजिक गतिशीलतामा ध्यान दिई आन्तिरिकीकरण गर्नुपर्नेमा जोड दिए ।

उनले व्यवस्थापन संघले विभिन्न क्षेत्रमा उच्च तहमा कार्यरत व्यवस्थापकहरुलाई संगठित गर्दै देखिएका विषयमा सरकारलाई पनि सूचना र जानकारी दिन सक्षम रहोस भन्दै हार्दिक बधाई ज्ञापन गरे ।